भर्खरै भारतीय लेखक अरुन्धती रोयको किताब ‘मदर मेरी कम्स टु मी’ पढेर सकाएँ । किताब सक्दासम्म म धेरैपटक रोएँ, र धेरैपटक आफैँलाई ऐनामा हेरेँ । यो किताबमा मिसेस् मेरी रोयको कथा छ, एक जिद्दी, निडर र नझुक्ने आमा र शिक्षिकाको रूपमा । उनको स्वभाव कहिलेकाहीँ मेरैजस्तो लाग्यो, कहिलेकाहीँ मेरी आमाको जस्तो पनि ।
सायद म पनि एकल आमा भएकाले होला । समाजसँग लड्दै, बच्चा हुर्काउँदै र आफ्नै अस्तित्व जोगाउँदै अघि बढ्ने संघर्षले होला, पुस्तकमा मैले आफ्नो पनि प्रतिबिम्ब देखेँ ।
अरुन्धतीले आफ्नी आमालाई धेरै नामले बोलाउँछिन्– कोचआमा, आमा, वाइल्ड एलिफेन्ट, म्याडम हुन्डिनी, मिसेस् रोय । रिस उठ्दा मिसेस् रोय हावामा बन्दुक पड्काउँथिन् । उनको कुकुर डिडो एकदिन सडकको कुकुरसँग सम्भोग गरेको देखेपछि त्यो कुकुरलाई मारेर घरपछाडि गाड्छिन् । यो घटनाले अरुन्धतीलाई गहिरो गरी छुन्छ । किनकि डिडो उनको एक्लो साथी थिई । अरुन्धती डिडोसँगै सुत्थिन् र डिडोलाई असाध्यै माया गर्थिन् ।
यो घटनाले मलाई आफ्नै विगत सम्झायो । रिस उठ्दा म भाँडा फुटाउने, सामान पछार्ने गर्थें । तर, अहिले त्यो बानी नियन्त्रण गर्न सिकेकी छु । मेरी माइली बहिनी पूर्णिमा मलाई ‘धुर्बे हात्ती’ भन्थिन् ।
मिसेस् रोयले हावामा बन्दुक मात्रै चलाइनन्, अन्यायपूर्ण कानुनलाई चुनौती पनि दिइन् । उनले आफ्नै आमा र दाइविरुद्ध पैतृक सम्पत्तिको हकका लागि अदालतमा मुद्दा हालिन् । त्यो समयमा केरलाका क्रिस्चियन महिलाहरूलाई छोरासरह पैतृक सम्पत्तिमा बराबर हक थिएन । मिसेस् रोय एक्लै लडिन् । जितिन् पनि । उनको मुद्दा हजारौँ क्रिस्चियन महिलाका लागि विजयको नजिर बन्यो ।
अरुन्धती रोयले आमासँगको आफ्नो जटिल सम्बन्धलाई कुनै एउटा रंगमा मात्र पोतेकी छैनन् । आमा छोरीको सम्बन्धमा माया छ, रिस छ, पीडा छ, दूरी छ, र गर्व पनि छ । एउटै सम्बन्धभित्र यति धेरै विरोधाभास कसरी अटाउँछ भन्ने कुरा यो किताबले देखाउँछ ।
पुस्तकमा अरुन्धतीले बाल्यकालमा महसुस गरेको नक्सलवादी आन्दोलनको डर र आमासँग भएका राजनीतिक कुराकानी पनि लेखेकी छिन् । ७० को दशकमा केरलामा नक्सलवादी आन्दोलन चर्को थियो । पुलिसले घर–घरमा छापा मार्थ्यो । अरुन्धती सानै छँदा पुलिसले एकदिन उनको घरमा पनि छापा मार्छ र मिसेस् रोयलाई पक्रेर लैजान्छ । त्यसपछि घरमा कुनै फोन आउँदा अरुन्धती त्रसित हुन्थिन् । पछि आमासँगको कुराकानीबाट अरुन्धतीले राजनीतिक कुरा धेरै सिकेकी पनि थिइन् ।
मिसेस् रोय आफैँ क्रिस्चियन थिइन् । उनको घरमा बाइबल, संविधान र अखबारसँगै पढिन्थ्यो । भगवान्ले सबैलाई बराबर बनाएको हो भने कानुनले किन विभेद गर्छ ? भन्नेबारेमा उनीहरूबिच बहस हुन्थ्यो ।
मिसेस् रोयले देखिन्– क्रिस्चियन महिलालाई पैतृक सम्पत्तिमा अधिकार छैन । त्यसैले छोरी अरुन्धतीलाई सानैदेखि भन्थिन्, ‘कानुन ठिक नभए त्यसविरुद्ध पनि लड्नुपर्छ ।’
पुलिसले घरको फोन ट्याप गरेको थियो । त्यसैले आमा–छोरीले फोनमा कोड भाषामा कुरा गर्नुपर्थ्यो । अरुन्धती लेख्छिन्, ‘हामीले राजनीति सिक्न स्कुल जानुपरेन । भान्सामै सिक्यौँ ।’ मिसेस् रोय भन्छिन्, ‘सत्य बोल्दा जेल जानुपर्छ भने पनि सत्य नै बोल्नुपर्छ ।’
मिसेस् रोयले छोरीलाई सिकाइन्, ‘कसैको भरमा बस्नुहुन्न । आफ्नै खुट्टामा उभिनुपर्छ ।’ उनीहरूबिच विवाह, सम्बन्ध, पैसा आदिबारे बहस हुन्थे । त्यो वेलाको केरल समाजका लागि त्यस्ता विषयहरूमा महिलाहरूले बहस गर्नु एकदमै अनौठो थियो । छिमेकीले मिसेस् रोयको कुरा काट्थे । मिसेस् रोयको जवाफ हुन्थ्यो, ‘म स्वतन्त्र मान्छे बनाउँदै छु ।’
मिसेस् रोयले राजनीतिलाई भाषणमा सीमित गरिनन् । आदर्शको कुरा गरेर बसिनन् । आफ्नो विचारलाई जीवन व्यवहार उतारेर देखाइन् । अरुन्धती लेख्छिन्, ‘मेरी आमाले मलाई राजनीति सिकाइनन् । उनले मलाई निडर हुन सिकाइन् । त्यही नै सबैभन्दा ठुलो राजनीति हो ।’
पुस्तकका ती वाक्यांश मेरो स्मृतिमा दौडिरहेका छन् । उनले लेखेकी छिन्–
- हामी कसैसँग अन्तिमपटक भेट गरिरहेका छौँ भन्ने हामीलाई थाहा हुँदैन । अन्तिम भेट भइरहेको छ भन्ने थाहा नपाएरै बाँचिएको त्यो सामान्य क्षण नै पछि गएर सबैभन्दा ठुलो पीडा बन्छ ।
- सायद नजानेर बाँचेको त्यो खुसी नै सबैभन्दा पीडादायी हुन्छ ।
- आमालाई बिदाइ गरेकोभन्दा बढी पीडादायी क्षण सायद अरू कुनै छैन ।
- कहिलेकाहीँ मृत्यु भनेको अन्त्य होइन, हामीले सबैभन्दा धेरै माया गरेको मान्छेलाई एक्लै कुनै अज्ञात यात्रामा पठाउनुजस्तो लाग्छ ।
- जसलाई प्रहरीले करिब ३० वर्षअघि पक्राउ गरेको थियो, अन्ततः त्यही प्रहरीले उनलाई सम्मानस्वरूप सलामी दियो ।
- जीवनको विडम्बना पनि कस्तो हुन्छ– राज्यसँग लड्ने मान्छेलाई अन्त्यमा त्यही राज्यले सम्मान गर्नुपर्छ ।
- कहिलेकाहीँ सबैभन्दा बलियो मान्छे पनि भित्रभित्रै भाँचिन्छ ।
यो पुस्तकले मलाई फेरि सम्झायो– नझुक्नु । लड्नु । आफ्नो हकका लागि आवाज उठाउनु । अगाडि बढ्नु । मलाई महसुस हुन्छ, एकल महिला हुनु भनेको सायद ‘वाइल्ड एलिफेन्ट’ हुनु हो । सायद म पनि त्यही ‘वाइल्ड एलिफेन्ट’ भएर होला अलि रिसाहा, अलि जिद्दी छु । कहिलेकाहीँ आफ्नै मानिसलाई डर लाग्ने गरी कठोर हुन्छु, तर भित्र कतै अत्यन्तै नरम पनि हुन्छु । त्यसैले मिसेस् रोय पढ्दा मैले उनलाई मात्र पढिनँ, कताकता आफूलाई पनि पढेँ ।
(स्याङ्तान सगरमाथा आरोही हुन् ।)