‘ह्यारी पोट्टर’ सिरिजका कारण जेके रोलिङको ख्याति विश्वभर फैलियो । सन् १९९७ देखि २००७ सम्म यस पुस्तकका ७ वटा सिरिजि निस्किए । विश्वभर त्यसको ६० करोडभन्दा धेरै प्रति बिक्यो । यसलाई ८४ भन्दा धेरै भाषामा अनुवाद गरियो । यसमा आधारित रहेर बनेका फिल्म र भिडियो गेम पनि उत्तिकै चले । सन् २०१२ मा उनले वयस्कलाई लक्षित गर्दै ‘क्याजुअल भ्याकेन्सी’ उपन्यास लेखिन् । राम्रो लेखक बन्नका लागि उनले दिएका पाँच सुझाव यस्ता छन् :
चाहेका कुरा लेख्नुस्
म त्यही कुरा लेख्छु, जे लेख्न मन लाग्छ । जुन कुरा लेख्दा आनन्द आउँछ, त्यही लेख्छु । लेखनलाई आफ्नो जीवनशैली बनाउन जरुरी छ । यसपछि मानिसले नयाँ–नयाँ कुरा कल्पना गर्दै त्यसलाई सुन्दर ढंगले लेख्न सक्छ ।
आफ्ना चाहना, भावना, साथीभाइ, परिवार, समाजलगायत विषय पनि तपाईंको सुरुवाती लेखनीका स्रोत सामग्री हुन सक्छन् । एक्लै बसेर लेख्नुस्, लेखन दुनियाँकै एक्लो पेसामध्ये एक हो ।
पक्कै पनि नोटबुक वा ल्यापटप अगाडि राखेर घोत्लिइरहँदा तपाईंलाई अप्ठेरो महसुस हुन सक्छ । तर, आफ्ना सोचसँग हिँड्न अप्ठेरो मान्नुपर्ने कारण छैन । दिमागसँग खेल्नु लेखकको जीवनको महत्वपूर्ण पक्ष हो ।
पर्याप्त पढ्नुस्
जब तपाईं ध्यानपूर्वक अध्ययन गर्नुहुन्न, तबसम्म राम्रो लेखक बन्न सक्नुहुन्न । पढ्न थालेपछि मात्रै राम्रो पुस्तक कसरी तयार हुन्छ भन्ने थाहा हुन्छ । आफूलाई मन परेका लेखकका पुस्तक पढ्नुस् र त्यसबाट आफ्नो धारणा बनाउनुस् ।
पुनर्लेखन गर्नुस्
कस्तो पुस्तक लेख्दै हुनुहुन्छ ? कसका लागि लेख्दै हुनुहुन्छ ? यस विषयमा सोच्नु महत्वपूर्ण छ । पुनर्लेखन पनि उत्तिकै महत्वपूर्ण छ । आफूले लेखेका कुरा पढ्नुस् र त्यसलाई काटछाँट गर्नुस् । तपाईंले स्वतन्त्र भएर लेख्नुपर्छ, त्यसपछि निर्मम भएर शब्दहरू छाँट्नुपर्छ ।