- पदकको आशा गरिएका एरिका गुरुङ, मानबहादुर तामाङ र राकेश श्रेष्ठ पदकविहीन बनेपछि सरकारी अधिकारी, नेपाल ओलम्पिक कमिटी र कराँते संघकै प्रतिनिधिसमेत तेन्जिङले कांस्यका लागि प्रतिस्पर्धा गर्दा प्रतियोगितास्थलमा उपस्थित भएनन्, तर उनले नै देशलाई पदक दिलाए
आशा गरिएका अधिकांश खेलाडी पहिलो चरणबाटै बाहिरिएपछि जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालको पदक सम्भावना कमजोर बन्दै गएको थियो । खेलाडीदेखि अफिसियलसम्म निराश हुन थालेका थिए । तर, प्रतियोगिता उद्घाटन भएको पाँचौँ दिन कराँतेका तेन्जिङ शेर्पाले खुसी फर्काए । देशका लागि पदकको खाता खोल्दै उनले कांस्य हात पारे ।
नेपालबाट सहभागी कराँतेका आठमध्ये सात खेलाडी पदकविहीन बनिसकेका थिए । पदकको आशा गरिएका एरिका गुरुङ, मानबहादुर तामाङ र राकेश श्रेष्ठ सेमिफाइनलमा पुगे पनि कांस्य पदकको प्रतिस्पर्धामा पराजित भए ।
नेपालले कराँतेमा प्रतिस्पर्धा गरेका सातमध्ये महत्वपूर्ण ६ विधामा पदक नआएपछि सरकारी अधिकारी, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि र कराँते संघकै प्रतिनिधिसमेत बुधबार प्रतियोगिता भइरहेको आइचीको टोयाहासी जिम्मेसियममा उपस्थित थिएनन् । तर, सबैलाई चकित पार्दै २३ वर्षीय तेन्जिङले ८४ केजीमाथिको प्रतिस्पर्धामा पदक जिते ।
कांस्य पदकका लागि लाओसका भाथाना सायासनसँग भएको भिडन्तमा तेन्जिङले उत्कृष्ट प्रदर्शन गरे । ९–१ को विशाल स्कोरले जित हात पारे । यसअघि सेमिफाइनलमा उनले इरानका महमुद नेमातीसँग प्रतिस्पर्धा गरेका थिए । जसमा उनी ५–० ले पराजित भएका थिए । नेमातीले फाइनल जित्दै स्वर्ण हात पारे ।
तेन्जिङले क्वार्टरफाइनलमा मकाउका लिओङ अन टेकसँग प्रतिस्पर्धा गरेका थिए । अंक जोड्न नसकेपछि दबाबमा रहेका उनी हारनजिक पुगेका थिए । तर, हान्चोकु (गम्भीर नियम उल्लंघन) गरेपछि मकाउका खेलाडी अयोग्य घोषित भए र तेन्जिङलाई जित हात पर्यो । यही जितले उनलाई कांस्य पदकसम्म पुर्यायो ।
‘कराँतेमा अन्तिम प्रतिस्पर्धा थियो । पदक नआएकोमा दबाब पनि थियो । तैपनि स्वर्ण पदक नै जित्छु भनेर एरिना प्रवेश गरेको थिएँ । कांस्य पदक जित्न सफल भएँ,’ तेन्जिङले भने, ‘निकै खुसी छु । देशका लागि पहिलो पदक जिताउन सफल भएँ ।’
अघिल्लो राति तेन्जिङले सपनामा भैरव देखेका थिए । बिहान उठेपछि उनले काठमाडौंमा रहेकी आमा निरु श्रेष्ठलाई फोन गरेर पूजा गर्न लगाएका थिए । ‘राति सपनामा भैरव भगवान् देखेको रहेछ । बिहान उठ्नेबित्तिकै आमालाई फोन गरेर भैरव भगवान्लाई सपनामा देखेको बताउँदै पूजा गर्न लगाएको थियो,’ तेन्जिङका रुमपार्टनरसमेत रहेका प्रशिक्षक कुशल श्रेष्ठले भने, ‘त्यसले पनि पदक जितिन्छ भनेर आस्था जागेको थियो । अन्तिम दिन सबैको नजर तेन्जिङमै थियो । सफल पनि भयो, धेरै खुसी छौँ ।’
तेन्जिङले चार वर्षदेखि विभागीय टोली एपिएफ क्लबबाट खेलिरहेका छन् । देशका लागि उनको यो तेस्रो पदक हो । एसियाली खेलकुदमा भने उनको पहिलो पदक हो । यसअघि जुलाई २०२६ मा बंगलादेशमा भएको १०औँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा उनले दोहोरो स्वर्ण पदक जितेका थिए ।
पदक जितेपछि आमालाई सम्झिएँ
दोखलामा जन्मिएका २३ वर्षीय तेन्जिङ काठमाडौंमा आमा निरु श्रेष्ठसँगै बस्छन् । बुबा दीपेन्द्र शेर्पा भने दोलखामै बस्छन् । परिवारको कमजोर आर्थिक अवस्थाबिच हुर्किएका तेन्जिङ साथीको लहलहैमा लागेर बौद्धको कराँते डोजो प्रवेश गरेका थिए । आमा निरुले पनि उनलाई खेल्न प्रोत्साहित गरिन् ।
एसियाडमा कांस्य जितेपछि तेन्जिङ आमालाई सम्झिएर भावुक बने । ‘आमाले खेलमा साथ दिनुभएको छ । त्यसैले पनि खेललाई निरन्तरता दिन पाएँ,’ उनले भने, ‘उहाँकै कारण यो सफलता हात पारेको हो ।’ तेन्जिङले आफ्नो दायाँ हातमै आमाको नाममा ट्याटु खोपेका छन् ।
पदक हात पारेपछि तेन्जिङले भने–कराँतेमा अन्तिम प्रतिस्पर्धा थियो । पदक नआएकोमा दबाब पनि थियो । तैपनि स्वर्ण पदक नै जित्छु भनेर एरिना प्रवेश गरेको थिएँ । कांस्य पदक जित्न सफल भएँ, निकै खुसी छु । देशका लागि पहिलो पदक जिताउन सफल भएँ ।
एसियाडमा कराँतेको पाँचौँ कांस्य
तेन्जिङले पदक जिताएसँगै कराँतेले एसियाडमा पाँचौँपटक पदक हात पारेको हो । यसअघि १९औँ एसियाली खेलकुदमा कराँतेले रजत जितेको थियो । एरिका गुरुङले कराँतेका लागि पहिलो रजत जिताएकी थिइन् । सन् १९९४ को जापानको हिरोसिमामा भएको एसियाडमा सीता राईले नेपालका लागि पहिलो कांस्य जितेकी थिइन् । सन् १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र २०१४ को इन्चोन एसियाडमा विमला तामाङले एकल कातामा कांस्य तथा एरिकाले २०२३ मा चीनमा रजत जितेकी थिइन् । तेन्जिङले जितेको कांस्य नेपालका लागि भने २४औँ पदक हो । यसअघि नेपालले एसियाडमा तीन रजत र २३ कांस्य पदक जितेको छ ।
तेन्जिङले सरकारबाट पाउनेछन् १३ लाख पुरस्कार
२०औँ एसियाडमा कराँतेको कांस्य विजेता तेन्जिङले राज्यबाट १३ लाख रुपैयाँ पाउने भएका छन् । राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अन्तर्गत नियम २८ को उपनियम (३), (६) र (७) मा पुरस्कार रकमबारे उल्लेख छ । सोही व्यवस्थाअनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाउने खेलाडी राज्यबाट नगद पुरस्कारबाट पुरस्कृत हुन्छन् ।
जसअनुसार एसियाडको कांस्य विजेता खेलाडीले १३ लाख रुपैयाँ पाउनेछन् । स्वर्णले ३२ लाख ५० हजार रुपैयाँ र रजत विजेता खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पाउने उल्लेख छ । तेन्जिङका प्रशिक्षक कुशल श्रेष्ठ पनि राज्यबाट नगदसहित पुरस्कृत हुनेछन् । उनले दुई लाख ६० हजार रुपैयाँ पाउनेछन् । यसैगरी नेपाल कराँते महासंघले तीन लाख ९० हजार रुपैयाँ प्राप्त गर्नेछ ।