सोलुखुम्बुमा गुम्बा र घरको ताल्चा फोडेर धातुका भाँडाकुँडा चोरी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पक्राउ पर्नेमा लिखुपिके गाउँपालिका–२, गोलीका २७ वर्षीय दिनेश भन्ने दावा तामाङ, सोलुदूधकुण्ड नगरपालिका–६, थातेडका ४८ वर्षीय लक्ष्मण कामी र कानुनको विवादमा परेका एक १७ वर्षीय बालक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले सोलुदूधकुण्ड नगरपालिका–७, गामी हिन्दुपाके टोलस्थित पनी लामाको निजी गुम्बा तथा घरको ढोकाको ताल्चा फोडी काँस, तामा र पित्तलका भाँडाकुँडा चोरी गरेका थिए।
चोरी गरिएका भाँडाकुँडा लुकाएर राखेको अवस्थामा प्रहरीले करिब ५० किलो काँस, तामा र पित्तलका भाँडाकुँडा बरामद गरेको जनाएको छ।
उनीहरूलाई असोज ६ गते पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।