अमेरिकाले नेपालको बाढीपछिको पुनर्लाभ कार्यमा सहयोग गर्न थप तीन करोड १० लाख डलर उपलब्ध गराउने

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरले आज नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग न्युयोर्कमा भेटवार्ता गरेका छन् । उपविदेशमन्त्री हुकरले हाल भोटेकोशी बाढीमा परेर बेपत्ता रहेका करिब ७० जना अमेरिकी परिवारहरूलगायत नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति अमेरिकाको हार्दिक सहानुभूति व्यक्त गरे ।

भेटवार्ताका क्रममा उपविदेशमन्त्री हुकरले आवश्यक नापअनुसार निर्मित स्थायी पुलहरूका लागि एक करोड अमेरिकी डलर (करिब डेढ अर्ब रुपैयाँ)को कोष उपलब्ध गराउने योजना रहेको बताए । ‘ती पुलहरू हामी अमेरिकी कम्पनीबाट सगर्व खरिद गर्नेछौँ । बाढीबाट प्रभावित क्षेत्रहरूमा ती पुलले महत्त्वपूर्ण यातायात पूर्वाधारको पुनर्स्थापना गर्नुका साथै क्षेत्रीय कनेक्टिभिटीलाई सुदृढ पार्नेछन्,’ उनले भने । 

उपविदेश मन्त्रीले बाढीबाट प्रभावित समुदायहरूका लागि खानेपानी, स्वच्छता र सरसफाइका साथै आश्रय, सुरक्षा, जीविकोपार्जन र जाडोसम्बन्धी सहयोगका निम्ति थप ८० लाख डलर (करिब सवा अर्ब रुपैयाँ) को सहायता उपलब्ध गराउने योजनाको पनि घोषणा गरे ।

अमेरिकी विदेश मन्त्रालयले भविष्यमा विपत् पुनर्स्थापना प्रयासहरूमा अझ प्रभावकारी रूपमा सहयोग पुर्याउन डिजाइन गरिएका अमेरिकामा निर्मित ड्रोनहरूका लागि एक करोड ३० लाख अमेरिकी डलर (करिब दुई अर्ब रुपैयाँ) उपलब्ध गराउने योजना पनि बनाएको छ।

यो कोषको घोषणासँगै नेपालको बाढीसम्बन्धी प्रतिकार्य तथा पुनर्लाभ कार्यमा अमेरिकाको कुल सहयोग तीन करोड ६० लाख डलर (करिब साढे ५ अर्ब रुपैयाँ) नाघेको छ । सहयोगको सर्वाधिक खाँचो भएका ठाउँको पहिचान गर्न र त्यहाँ सहायता पुर्याउन अमेरिकाले नेपालसँग निकट रूपमा सहकार्य गर्न जारी राख्नेछ ।

See More On

सुझावित समाचार