२०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सोमबार नेपाली खेलाडीहरूले खराब प्रदर्शन गरेका छन् । एसियाडको तेस्रो दिन नेपालबाट कराँते, उसु, टेबलटेनिस, स्विमिङ तथा भलिबलका खेलाडीले भाग लिएका थिए । तर, उनीहरूले गतिलो नतिजा निकाल्न सकेनन् । सबैजसो खेलाडीहरू पहिलो चरणबाट बाहिरिएका छन् । आइतबार पदक सम्भावित खेलाडीहरू बाहिरिएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले यसपटक स्वर्णसहित दोहोरो अंकमा पदक भन्ने दाबीसहित एसियाडमा नेपाली टोली पठाएका हो । एरिका गुरुङ, मीनबहादुर तामाङ, सानुमाया थिङ र विजयी सिंजालीजस्ता पदक भित्र्याउने खेलाडी बाहिरिसकेका छन् । अहिले नेपाली खेलाडीहरू पदकको नजिक पनि पुगेका छैनन् ।
उसु
नेपालका रिता ठकुल्ला र रोहित चुनारो पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको आइची प्रिफेक्चरल मार्सल आर्ट्स हलमा सोमबार भएको महिला ६० केजी तौल समूहमा रिता तुर्कमेनिस्तानकी जोरेयेभा मर्जेनसँग पराजित भइन् । पुरुष ५६ केजी तौल समूहमा नेपालका रोहित चीनका जियामिङ ओउसँग हारे । उनी विन बाई पोइन्ट डिफ्रेन्सको आधारमा पराजित भएकी हुन् । प्रतिद्वन्द्वीको भन्दा १२ अंक बढी हुँदा स्वतः खेल रोकिन्छ । धेरै अंक पाउने खेलाडी विजयी हुन्छन् । रोहितले विपक्षी भन्दा १२ अंकले पछि रहँदा पराजित भएका हुन् ।
नेपाली उसु खेलाडी सुस्मिता तामाङले थाउलोको महिला छानछ्वानको स्पर्धामा १३औँ स्थानमा रहिन् । आइचीको प्रिफेक्चुरल मार्सल आर्ट हलमा सुस्मिताले कुल ९.५८० अंक प्राप्त गरिन् । उनले क्वालिटी अफ मुमेन्टमा ४.९०, ओभरल पफर्मेन्समा २.६८० र डिग्री अफ डिफिकल्टीमा २.०० अंक जोडिन् । १६ खेलाडीले प्रतिस्पर्धा गरेको यो स्पर्धामा हङकङकी हुई यु साम लिडियाले स्वर्ण, मकाउकी चो मान सोउले रजत र युजेनिया डिभा विदोदोले कांस्यपदक जिते ।
उसुमा १० खेलाडी सहभागी कुनै पनि खेलाडी दोस्रो चरण पुग्न सकेका छैनन् । विजय सिन्जाली, सुस्मिता तामाङ र सविता राई प्रतियोगिताबाट बाहिरिसकेका छन् । अब राजीव तामाङ, अमर सुनार, सञ्जीव महर्जन र दीपक हमालले खेल्न बाँकी छन् ।
महिला भलिबल
राष्ट्रिय महिला भलिबल टोलीले एसियाडमा ११औँ स्थानका लागि प्रतिस्पर्धा गर्ने भएको छ । प्रतियोगिताको नवौँ तथा दशौँ स्थानका लागि भएको खेलमा नेपाल आइतबार हङकङसँग ३–० को सोझो सेटमा पराजित भए । ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा हङकङले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१९ ले जितेको थियो । नेपालले तेस्रो सेटमा उत्कृष्ट प्नुरागमन गरे पनि खेल २८–२६ ले गुमायो । नेपालले अब फिलिपिन्स र मंगोलियामध्ये पराजित हुने टोलीसँग ११औँ स्थानका लागि खेल्नेछ ।
कराँते
कराँतेमा नेपालकी निरुपा डोङ तामाङ महिला कुमिते ६८ केजीमुनिको क्वार्टरफाइनलबाट बाहिरिएकी छिन् । तोयोहासी सिटी जनरल जिम्नेसियममा सोमबार निरुपा ली वङ चुकसँग ३–० ले पराजित भएकी थिइन् । महिला कुमिते ६८ केजीमाथिको तौल समूहमा भने नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेर पराजित भएकी थिइन् ।
सफ्ट टेनिस
सफ्ट टेनिसको मिक्स्ड डबल्समा नेपाली टोली पहिलो चरणबाटै बाहिरिएको छ । नागोया सिटी हिगासियामा पार्क टेनिस केन्द्रमा नेपालले तीन खेलमा दुई हार र एक जितको नतिजा निकाल्यो । कमल भण्डारी र जर्जिया चौधरीले नेपालबाट प्रतिस्पर्धा गरेका थिए । समूह चरणको पहिलो खेलमा नेपाल चाइनिज ताइपेईका काई वेन यु र सिह युआन हुआङको जोडीसँग ५–० ले पराजित भयो । नेपाली जोडीले दोस्रो खेलमा मंगोलियाका खलुनबयार खुरेलबायर र गानबोल्ड खोंगोर्जुलको जोडीलाई ५–४ ले हरायो । पहिलो चरणमा नेपाली टोली इन्डोनेसियाका फर्नान्डो सांगर र सिटी अरासीसँग ५–१ ले पराजित भयो । यसअघि नेपाल पुरुष टिम इभेन्टमा पनि समूह चरणबाटै बाहिरिएको थियो ।
पौडी
एसियाडमा सहभागी चार नेपाली पौडीबाज हिट चरणबाटै बाहिरिएका छन् । टोकियो एक्वाटिक्स सेन्टरमा महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले ३३.४० सेकेन्डको समय निकाल्दै ३१ खेलाडीमध्ये २७औँ स्थान हात पारेकी छिन् । महिला दुई सय मिटर फ्रिस्टाइलमा डुवाना लामा दुई मिनेट १५.४० सेकेन्डसहित १९औँ स्थानमा रहिन् । पुरुष १०० मिटर ब्रेस्टस्ट्रोकमा जादेन श्रेष्ठ एक मिनेट ८.०१ सेकेन्डसहित ३६ खेलाडीमध्ये ३०औँ स्थानमा रहेका छन् । एर्भिन श्रेष्ठले ५० मिटर फ्रिस्टाइलमा २४.५६ सेकेन्डका साथ ४८ खेलाडीमध्ये ३८औँ स्थानमा रहे । ६ स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ । आइतबार एर्भिनले सय मिटर फ्रिस्टाइलमा ५४.०३ सेकेन्डसहित ३६औँ स्थानमा रहेका थिए ।
पुरुष कबड्डी
पुरुषतर्फको कबड्डीमा नेपालको टोली थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ । सिटिजन जिम्नेसियममा भएको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो । दोस्रो हाफमा थाइल्यान्डले आक्रामक खेल्यो । थाइल्यान्डले दोस्रो हाफमा गरेको प्रदर्शन आधारमा नेपाललाई ११ अंकले हरायो । पहिलो हाफमा नेपाल २४–२८ ले पछि परेको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफमा नेपाल खेलमा फर्किने अवस्थामा थयो । तर, दोस्रो हाफमा थाइल्यान्डले नेपाललाई ३१–२४ ले पछि पार्यो । नेपालले रेडबाट २९ अंक, ट्याकलबाट १८ अंक र एक सुपर अंक प्राप्त गरेको थियो । नेपालले अर्को खेल पाकिस्तानसँग खेल्नेछ ।
टेबलटेनिस
नेपाली टेबलटेनिस टोलीले टिम इभेन्टमा लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार नागोयास्थित स्काई हल टोयोटामा भएको महिला टिम इभेन्टमा नेपालले मकाउलाई ३–१ ले नतिजा सुम्पिएको थियो । प्रतियोगिताको आइतबार समूह ‘ए’को पहिलो खेलमा चीनले नेपाललाई ३–० को पराजित गरेको थियो । नेपालका लागि ‘म्याच २’ मा प्रतिस्पर्धा गर्न आएकी नविता श्रेष्ठले खेल जितिन् ।
दुई सेटले पछाडि परेकी नविताले सानदार पुनरागमन जनाइन् । उनले कुआन चिओकलाई ४–११, ३–११, ११–९, ११–७ र ११–९ ले हराइन् । त्यसअघि इभाना थापा झुयु लिङसँग ११–२, ११–१ र ११–३ ले पराजित भएकी थिइन् । नवितापछि आएकी योंगी पौडेलले पनि एक सेट जितिन् । उनी लिओङअन नासँग ११–५, ११–४, ९–११ र ११–२ ले पराजित भइन् । यस नतिजासँगै नेपाल ३–१ ले रोकियो । त्यसपछि पुनः नविताले चुनौती प्रस्तुत गरेकी थिइन् । तर, उनी झुयु लिङले उनबाट ११–२, ११–४ र ११–५ को सेटमा हार्न पुगिन् । यो समूहबाट चीनले क्वार्टरफाइनलमा हिजो नै स्थान बनाइसकेको छ ।
पुरुषतर्फ समूह ‘सी’को खेलमा नेपाल बहराइनसँग ३–० ले पराजित भयो । पहिलो खेलमा संयोग कपाली रासेदसँग ११–६, ११–५ र ११–४ ले पराजित भए । दोस्रो खेलमा रुविन महर्जन मोहम्मद सालेहसँग ११–३, ११–८, ९–११ र ११–९ को हारेका थिए । तेस्रो खेलमा गणञ्जय दाहाल, मोहम्मद अलालीसँग १३–११, ११–२ र ११–९ को नतिजामा निराश बने । यो समूहबाट चाइनिज ताइपेईले आइतबार अन्तिम आठमा स्थान पक्का गरेको थियो ।
