राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २०औँ एसियाली खेलकुदको ‘लङ लिस्ट’मा परेका टेबल टेनिसका व्यवस्थापक कुवेरप्रकाश सिंहलाई जापान जाने टिमबाट अन्तिम समयमा हटाएको भदै नेपाल टेबलटेनिस संघले गम्भीर आपत्ति जनाएको छ ।
संघका अध्यक्ष विजेन्द्र हमालले एक विज्ञप्ति जारी गर्दै राखेपले सात महिनाअगाडि माग गरेबमोजिम संघको बैठकले खेलाडी प्रशिक्षकसहित टिम व्यवस्थापक सिंहको पठाएको बताएको छ । अन्तिम समयमा उनको नाम काटिएको भन्दै संघले आपत्ति जनाएको हो ।
महासचिव सिंहले टिम व्यवस्थापकको रूपमा राष्ट्रिय खेलकुद परिषद्ले बोलाएको एसियाली खेलकुदसम्बन्धी तयारी, सहभागिता र प्रशिक्षणसम्बन्धी विषयहरूमा ६/७ पटक भाग लिइसकेको पनि टेबलटेनिस संघले दाबी गरेको छ । त्यसैगरी, नेपाल ओलम्पिक कमिटीले बोलाएको एसियाली खेलकुदसम्बन्धी दुईवटा बैठकमा टिम मेनेजरका रूपमा भाग लिइसकेका थिए ।
तर, जिम्मेवारीपूर्वक काम गरिरहेको वेला अन्तिम अवस्थामा नाम हटाइँदा काम गर्ने ब्यक्ति निराश भएको र टेबलटेनिसकै वृत्ति विकासमा यसले नकारात्मक असर पुगेको जारी विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष हमालले राष्ट्रिय खेलकुद परिषद् सच्चिन जरुरी रहेकोसमेत उल्लेख गरिएको छ ।