- ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा छनोट गरिएको छ
बायाँहाते मध्यम गतिका बलर टेकराज थलाल तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट आइकोनिक खेलाडीका रूपमा छनोट भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको थियो । ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डडेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीलाई समेटिएको थियो ।
असोज १४ गते बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाडीबाट सुरु भएको ट्यालेन्ट हन्ट असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेलधुरा तथा असोज १७ गते अछाम र बाजुरामा पुगेको थियो । असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीको ट्यालेन्ट हन्ट गरिएको थियो । ट्यालेन्ट हन्टको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा आयोजना गरिएको थियो ।
थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाडी हुन् । यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपिएलको तेस्रो सिजनका लागि आइकोनिक खेलाडीका रूपमा अघि सारेको हो ।
ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा समेत छनोट गरिएको छ । उनीहरू सबै सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन् ।
विराटनगरको प्रशिक्षण भारतमा
फ्रेन्चाइज टोली विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको तयारी भारतमा गरिरहेको छ । विराटनगरका खेलाडी भारतको उत्तर प्रदेशस्थित पूर्वाञ्चल क्रिकेट एकेडेमीमा प्रशिक्षण रहेको म्यानेजर विजयकुमार धितालले जानकारी गराए । २९ सेप्टेम्बरदेखि सुरु भएको प्रशिक्षणमा कप्तान सन्दीप लामिछाने भने छैनन् । उनी आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने सिरिजका लागि राष्ट्रिय टोलीसँग छन् । यसैगरी, बसिर अहमद आज तथा लोकेश बम आइतबारदेखि टोलीको प्रशिक्षणमा सहभागी हुनेछन् ।
विराटनगरले रणजी ट्रफीको अनुभव लिइसकेका भारतीय खेलाडीसँग फ्लड लाइटमा अभ्यास खेल खेलिरहेको छ । प्रशिक्षणको नेतृत्व विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुका सुलक्सानाले गरिरहेका छन् । प्रशिक्षक प्रसादले भारतमा भइरहेको प्रशिक्षण राम्रोसँग अघि बढिरहेको बताएका छन् । ‘हाम्रो प्रशिक्षण राम्रो भइरहेको छ । खेलाडीले राम्रो प्रशिक्षण र अभ्यास खेलमार्फत आफूलाई एनपिएलका लागि तयार गरिरहेका छन् । यहाँको प्रशिक्षण र अभ्यास खेलले खेलाडीलाई निकै सहयोग पुगेको छ,’ प्रसादले भने ।
काठमाडौंसँग क्लाउडको साझेदारी
फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजले एनपिएल तेस्रो सिजनका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसेजसँग अब्रोड स्टडी पार्टनरका रूपमा सम्झौता गरेको छ । शुक्रबार सम्झौतापत्रमा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र क्लाउड एजुकेसन ग्रुप प्रालिका निर्देशक आयुष गौतमले हस्ताक्षर गरे । सम्झौताअनुरूप गोर्खाजको आधिकारिक जर्सीको ननलिडिङ आर्ममा क्लाउड एजुकेसनको लोगो हुनेछ ।
यता साबिक विजेता लुम्बिनी लायन्सले पञ्चकन्या ग्रुपसँग व्यावसायिक सम्झौता गरेको छ । लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र पञ्चकन्या ग्रुपका निर्देशक आशिक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यस्तै, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ ।