- अर्जेन्टिनी महासंघले आगामी साता हुने सबै किसिमका फुटबल प्रतियोगितामा लियोनल मेसीको सम्मानमा पहिलो हाफको १०औँ मिनेटमा खेल रोकेर एक मिनेट ताली बजाउने निर्देशन दिएको छ
अर्जेन्टिनी फुटबल महासंघले राष्ट्रिय फुटबल टोलीका लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै किसिमका फुटबल खेल दौरान १०औँ मिनेटमा एक मिनेट रोकिने घोषणा गरेको छ ।
संघले राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यासको घोषणा गरेका मेसीको सम्मानमा एक मिनेट ताली बजाउने कार्यक्रम तय गरेको हो । मेसीले सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका थिए । यसअघि सन् २०१६ मा उनले पहिलोपटक राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । तर, फुटबल समर्थकबाट चर्को दबाब आएपछि उनले सन्न्यास फिर्ता लिए ।
सन्न्यासपछिको एक दशकमा मेसीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फिफा विश्वकप तथा दुईपटक कोपा अमेरिका ट्रफी दिलाउन सफल भए । उनकै कप्तानीमा अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुगेको थियो । ३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि खेल्दा अधिकांश समय १० नम्बरको जर्सी लगाएका छन् । फुटबल संघले पुरुष र महिला दुवैका सबै डिभिजनसँगै अन्य विधाका आगामी खेलमा पहिलो हाफको १०औँ मिनेटमा खेल रोकेर मेसीको राष्ट्रिय टोलीसँगको करिअरको सम्मानमा एक मिनेट ताली बजाउने निर्देशन दिएको छ ।
स्क्रिन जडान गरिएका रंगशालामा खेल सुरु हुनुअघि एएफएको आधिकारिक भिडियो पनि प्रसारण गर्न निर्देशन दिइएको छ । मेसीले राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि व्यावसायिक फुटबल करिअरलाई निरन्तरता दिनेछन् । उनी अहिले इंग्लिस फुटबल डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीमा आबद्ध छन् । मियामी र मेसीबिच दुई वर्षको सम्झौता बाँकी छ ।
इन्टर मियामीमा दुई वर्ष रहने
मेसीले आगामी दुई वर्षसम्म इन्टर मियामीमै रहने जनाएका छन् । मेसीले इन्टर मियामीलाई पहिलोपटक एमएलएस कप उपाधि जिताएका छन् । उनी लगातार दोस्रोपटक लिगको सर्वोत्कृष्ट खेलाडी (एमभिपी)को अवार्डबाट सम्मानित भए । मेसीले २३औँ संस्करणको विश्वकपमा आठ खेलमा आठ गोल गरेका थिए । यससँगै उनको अन्तर्राष्ट्रिय गोलसंख्या एक सय २५ रहेको छ । यसमध्ये उनले ६ पटकको विश्वकप यात्रामा २१ गोल गरेका थिए । मेसीले सोमबार इन्स्टाग्राममा दुई पेजको फोटो पोस्ट गर्दै राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए ।
‘सन्न्यास निर्णय लिँदा धेरै सोचेको थिएँ, युवा खेलाडीलाई पनि मौका दिनुपर्ने वेला आएको छ,’ उनले भनेका थिए । मेसीले राष्ट्रिय टोलीका लागि खेल्दा आफूले सधैँ सक्दो प्रयास गरेको र मैदानमा सबै कुरा दिएको उल्लेख गरेका थिए ।