सुदूरपश्चिमले सार्वजनिक गर्‍यो ‘अपी एडिसन’ जर्सी

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपी हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ । सुदूरपश्चिमले जर्सीलाई ‘अपी एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवद्र्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपी हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । 

जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृति समावेश गरिएको छ । टोलीले ‘अपी एडिसन’ नाममार्फत अपी हिमालको पर्यटन प्रवद्र्धन र यस क्षेत्रको प्राकृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास गरेको जनाएको छ । 

सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जर्सीमार्फत सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई क्रिकेटसँग जोड्ने प्रयास गरिएको बताए । ‘अपी हिमाल सुदूरपश्चिमको प्राकृतिक पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण गन्तव्य हो । हामीले यस जर्सीलाई ‘एपी एडिसन’ नाम दिएर अपी हिमालप्रति सम्मान व्यक्त गर्नुका साथै यसको पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उद्देश्य राखेका छौँ,’ खड्काले भने ।

जर्सीमा शुक्लाफाँटाको बंगाल टाइगर समावेश गर्नुले सुदूरपश्चिमको प्राकृतिक विविधता र सम्पदालाई पनि प्रतिनिधित्व गरेको उनले बताए । ‘क्रिकेटको माध्यमबाट सुदूरपश्चिमका यस्ता महत्वपूर्ण गन्तव्यलाई देश तथा विदेशमा चिनाउन सकिने हाम्रो विश्वास छ,’ खड्काले भने । 

सुझावित समाचार