- स्पेनिस क्लब र आइपिएलका फ्रेन्चाइज टोलीदेखि अन्य विश्व खेलकुद संस्थाले सामाजिक सञ्जालमार्फत नेपालका बाढीपीडितप्रति सहानुभूति र ऐक्यबद्धता जनाए
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालका विभिन्न जिल्लामा ठुलो जनधनको क्षति पुर्याएको छ । यसैबिच विश्व खेलकुद समुदायले नेपालप्रति सहानुभूति व्यक्त गरेका छन् । युरोपका प्रतिष्ठित फुटबल क्लब, भारतका इन्डियन प्रिमियर लिग (आइपिएल)का फ्रेन्चाइज र अन्तर्राष्ट्रिय खेल संस्थासम्मले बिहीबार र शुक्रबार सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममार्फत नेपालका प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका छन् ।
रसुवाको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र त्रिशूली तटीय क्षेत्रमा व्यापक क्षति पुर्याउँदै सयौँको मृत्यु र धेरैको बेपत्ता भएको छ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आफ्नो आधिकारिक एक्समार्फत उद्धार तथा राहत कार्यमा संलग्न सबैप्रति सम्मान व्यक्त गरेको छ । बार्सिलोनाले कठिन घडीमा नेपाली जनतासँग एकजुट रहेको सन्देश दिएको हो । ‘यो कठिन घडीमा नेपाली जनता बलियो र एकजुट भएर बस्नुपर्छ,’ बार्सिलोनाले भनेको छ ।
ला लिगाअन्तर्गत बिहीबार राति बार्सिलोना र एथलेटिक म्याड्रिडबिचको खेलअघि खेलाडीले एक मिनेट मौनधारण गरेका थिए । घरेलु मैदानमा खेल हुनु एक मिनेटअगाडि दुवै टोलीका खेलाडीले मौनधारण गरेका थिए । ‘गत सिजन निधन भएका बार्सिलोनाका खेलाडी साथै नेपाल र चीनको सीमामा आएको विनाशकारी बाढीबाट पीडितको सम्झनामा तथा घाइतेका लागि एक मिनेट मौनधारण गरिएको थियो,’ बार्सिलोनाले भनेको छ ।
बार्सिलोनाले यसअघि सामाजिक सञ्जालमार्फत नेपालमा आएको बाढीपीडितप्रति ऐक्यबद्धता जनाएको थियो । यसैगरी, स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पनि एक्समार्फत संवेदना पठाएको छ । म्याड्रिडले बाढीपीडितबाट प्रभावित परिवारप्रति गहिरो दुःख प्रकट गरेको छ । क्लबले आफ्नो सन्देशमा ‘स्टे स्ट्रङ, नेपाल’ लेख्दै प्रभावित समुदायलाई शक्ति र साहसको कामना गरेको छ ।
आइपिएलको ऐक्यबद्धता
भारतका आइपिएल क्लबहरू पनि नेपालप्रति संवेदनशील देखिएका छन् । आइपिएलको पहिलो संस्करण विजेता राजस्थान रोयल्सले एक्स र इन्स्टाग्राम दुवै माध्यमबाट सहानुभूति प्रकट गरेको छ । चेन्नई सुपर किंग्सले पनि जनधनको क्षति भएको समाचारले आफूहरू मर्माहत बनेको जनाएको छ । कोलकाता नाइट राइडर्सले एक्समार्फत नेपालका बाढीपीडित परिवारप्रति संवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीलाई सलाम गरेको छ ।
सनराइजर्स हैदराबादले पनि प्रभावित नागरिकको सुरक्षाको कामना गर्दै नेपालसँग ऐक्यबद्ध रहेको जनाएको छ । ‘नेपाल र तिब्बतमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति हार्दिक समवेदना तथा प्रार्थना । सबैको सुरक्षा र कठिन परिस्थितिको सामना गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु,’ हैदराबादले भनेको छ । यसैगरी, बुधबार रसुवामा गएको बाढीपछि विश्व खेलकुद मञ्चमा सहयोगका लागि आह्वान भएको छ । विभिन्न देशका राष्ट्रिय खेलाडीले समवेदना व्यक्त गरेका छन् । फुटबल र क्रिकेट क्लबबाहेक विश्व खेलकुदसँग सम्बन्धित विभिन्न खेलाडी र संस्थाले पनि एक्समार्फत नेपालका लागि प्रार्थना र समर्थनका सन्देश सार्वजनिक गरेका छन् । वेस्ट इन्डिजका क्रिकेटर सुनील नारायणले पनि फेसबुकमा नेपालको सुरक्षाको कामना गरेका छन् । ‘नेपालमा आएको बाढी निकै हृदयविदारक र भयानक छ । प्रभावित व्यक्तिहरूको सुरक्षाको कामना गर्दछु,’ उनले भनेका छन । यसैगरी, भुटानका पारो एफसी र थिम्पु सिटीले पनि ऐक्यबद्धता जनाएका छन् । फिफाले नेपालमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएपछि भुटानमा हाल नेपालका दर्जनभन्दा बढी महिला खेलाडी खेलिरहेका छन् ।
१७ बिन क्याफेको एक दिनको कमाइ राहत कोषमा जम्मा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेलले सञ्चालन गरेको १७ बिन क्याफेले शुक्रबारको सम्पूर्ण कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा जम्मा गर्ने भएको छ । क्याफेले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेको हो । ‘१७ बिन क्याफेले शुक्रबार दिनभरको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने भएको छ । बाढीबाट प्रभावित परिवारहरूको राहत र सहयोगका लागि गरिएको यो मानवीय पहलमा सबैले साथ दिऔँ,’ क्याफेले सामाजिक सञ्जालमा उल्लेख गरेको छ । यसैगरी, नेपाली महिला राष्ट्रिय खेलाडी प्रीति राईले पनि कोषमा ३५ हजार रुपैयाँ जम्मा गरेको सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् ।