समाज अध्ययनबाट टाढिँदै युवा पुस्ता

विज्ञहरू भन्छन्– पाठ्यक्रम मात्रै पढ्दा युवा पुस्तामा आलोचनात्मक चेत कमजोर हुँदै गएको छ

शनिबार, १३ भदौ, २०८३
डिजिटल संस्करण

कुनै समय विद्यार्थीको हातमा पाठ्यपुस्तकसँगै इतिहासका किताब हुन्थे, समाजशास्त्रका पुस्तक हुन्थे, राजनीतिशास्त्र, उपन्यास, जीवनी र दर्शनशास्त्रका पुस्तक पनि हुन्थे । पढेका पुस्तकबारे साथीसाथीबिच बहस हुन्थ्यो । महँगो मूल्यका पुस्तक सामूहिक रूपमा किनेर पालैपालो पढिन्थ्यो । पुस्तकबारे विभिन्न कोणबाट बहस हुन्थ्यो । पहिले पुस्तकालयमा साहित्य, राजनीति, इतिहास र दर्शनका पुस्तक पढिरहेका युवा मनग्ये भेटिन्थे । चिया चौतारामा युवाहरू पुस्तकबारे बहस गरिरहेका देखिन्थे । तर, अचेल त्यस्ता दृश्य कम देखिन्छन् । प्रश्न उठेको छ– के नयाँ पुस्ता पुस्तक पढ्दैन् ? उनीहरू समाज अध्ययनबाट टाढिदै गएका हुन् ? कि आजको पुस्ताले समाज अध्ययन गर्ने तरिका फेरिएको हो ?

के भन्छन् नयाँ पुस्ता ? 
काठमाडौं गोकर्ण बस्दै आएका इलामका पंकज चौहान अहिले स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छन् । पाठ्यक्रमबाहिरका पुस्तक पढ्ने बानी नभएको उनी बताउँछन् । पुस्तकालय जाने र समाज, इतिहास र साहित्यसँग सम्बन्धित पुस्तक पढ्ने रुचि पनि खासै नभएको उनको भनाइ छ । ‘कोर्सका पुस्तकबाहेक अरू किताब पढ्न अल्छी लाग्छ,’ चौहान भन्छन्, ‘समाज, इतिहास र उपन्यासका किताब पढ्न खासै रुचि हुँदैन ।’ सानैदेखि पाठ्यक्रमबाहिरका पुस्तक पढ्ने बानी पनि नबसेको उनी बताउँछन् ।

काठमाडौंको पुतलीसडकमा बस्दै आएका डोटीका विक्रम विष्टले कलेज तहको अध्ययन पूरा गरे । तीन वर्षदेखि कोरियन भाषा अध्ययन गरिरहेका विष्टको मुख्य लक्ष्य रोजगारीका लागि दक्षिण कोरिया जाने हो । कलेज पढ्दा बाहिरी पुस्तक पढ्ने, पुस्तकालय जाने वा समाजका विषयमा अध्ययन गर्ने बानी नभएको उनी बताउँछन् । भन्छन्, ‘परीक्षाका लागि मात्रै पढियो ।’

काठमाडौं कपनमा बस्दै आएका गुल्मीका विजय पन्थीले स्नातक तहको पढाइ पूरा गरिसकेका छन् । उनी अहिले काम गर्दै जापानिज भाषा पढिरहेका छन् । पुस्तकालय जाने, नयाँ पुस्तक खोजेर पढ्ने उनले पनि गरेनन् । ‘स्कुल पढ्दादेखि नै कोर्सबाहिरका किताब पढ्ने बानी भएन’,  पन्थी भन्छन्, ‘अहिले त काम र विदेश जाने तयारीमै समय बित्छ ।’ फुर्सदको समयमा भने उनी सिनेमा हेरेर विताउँछन् । कपन बस्ने साहिल तामाङ स्नातक तहको पहिलो वर्षमा अध्ययनरत छन् । भोजपुर घर भएका उनी ब्रिटिस आर्मीको तयारी गरिरहेका छन् । दुई महिनापछि भर्ती प्रक्रियामा जाने तयारीमा रहेका सहिलको दैनिकी पढाइभन्दा पनि काम र शारीरिक अभ्यासमा बित्छ । पुस्तकालय जाने वा घरमा पाठ्यक्रमबाहिरका पुस्तक पढ्ने उनको पनि बानी छैन । दोलखाका पासाङ शेर्पा, बुढानीलकण्ठ बस्ने रोजन मगरातीको पनि भनाइ उही छ । उनीहरू पनि कोर्सबाहिरका पुस्तक पढ्दैनन् ।

घटेकै हो पठन संस्कृति ?
‘रिड नेपाल’का महासचिव तथा लेखक भोलाकुमार श्रेष्ठको अनुभवमा समाजशास्त्र, इतिहास, राजनीतिशास्त्र, भूगोल र दर्शनजस्ता विषयप्रति विद्यार्थीको आकर्षण पहिलेको तुलनामा घटेको देखिन्छ । कीर्तिपुरको त्रिवि विश्वविद्यालयमा पहिले विभिन्न विषयमा ५०–६०, कहिलेकाहीँ ७० जनासम्म विद्यार्थी हुने गरेकोमा अहिले कतिपय विषयमा १०–१२ जना विद्यार्थी पाउन पनि मुस्किल छ । तर, यसबाट मात्रै ‘पठन संस्कृति घट्यो,’ भन्ने निष्कर्षमा उनी पुग्दैनन् ।

श्रेष्ठका अनुसार अहिले पनि पुस्तकालयमा अध्ययन गर्ने नयाँ पुस्ताको भिड देखिन्छ । ‘लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेबाट पुस्तकालय भरिएको हुन्छ,’ उनी भन्छन्, ‘बजारमा राम्रा उपन्यास, जीवनी तथा अन्य लोकप्रिय पुस्तक आए पाठकले त्यसलाई पढिरहेका छन् । अर्थात्, पढ्ने मान्छे हराएका छैनन्, पढाइको उद्देश्य र विषय भने फेरिएको देखिन्छ ।’

नयाँ पुस्ताको अध्ययन धेरै हदसम्म परीक्षासँग जोडिएको छ । लोकसेवा वा अन्य परीक्षाको तयारीका लागि पढ्ने विद्यार्थीले कानुनदेखि सामान्य ज्ञानसम्म धेरै विषय पढ्नुपर्छ । त्यसैले, उनीहरूको अध्ययन पूर्णतः शून्य भने छैन । ‘तर, समस्या त्यहाँ देखिन्छ, जहाँ अध्ययनको उद्देश्य परीक्षा पास गर्नुमा मात्रै सीमित हुन्छ,’ श्रेष्ठ भन्छन् ।

नेपालमा नयाँ पुस्ताले के पढिरहेका छन् भन्ने प्रश्नको उत्तर एउटै भेटिँदैन । विद्यालय तहमा पाठ्यपुस्तकको दबाब छ । कलेज तहमा परीक्षा, प्रतिस्पर्धा र करिअरको दबाब छ । विश्वविद्यालयमा अनुसन्धान जोडिएका पुस्तकको आवश्यकता छ । त्यसबाहेक व्यक्तिगत रुचिले उपन्यास, आत्मकथा, दर्शन, इतिहास, मनोविज्ञान, राजनीति, समाजशास्त्र र व्यवसायसँग सम्बन्धित पुस्तकतिर पनि नयाँ पुस्ताले कमै ध्यान दिएको विज्ञको भनाइ छ । लेखक विमल आचार्यका अनुसार नेपाल र नेपाली समाज बुझ्न सहयोग पुग्ने करिब पाँच सय पुस्तक उपलब्ध छन् । तीमध्ये नेपाली तथा विदेशी लेखकले लेखेका पुस्तक छन् । उनी भन्छन्, ‘तर, पछिल्लो समय यस्ता पुस्तक पढ्ने र समाज अध्ययन गर्ने संस्कार कमजोर हुँदै गएको देखिन्छ ।’

आचार्यका अनुसार कुनै समय कलेज तहमा ‘नेपाल परिचय’ अनिवार्यजस्तै थियो । विज्ञान र व्यवस्थापन पढ्ने विद्यार्थीले समेत यो पुस्तक पढ्थे । गैरआख्यान विधाको उक्त पुस्तकमा नेपालको इतिहास, भूगोल, संस्कृति, साहित्य, अर्थव्यवस्था र कलालगायत विषय समेटिएका थिए । ‘डाक्टर बन्ने विद्यार्थी होस् वा सिभिल इन्जिनियर, सबैले ‘नेपाल परिचय’ पढेका हुन्थे । त्यसबाट उनीहरूले संस्कृति र सामाजिक विज्ञानको महत्व बुझ्थे,’ आचार्य भन्छन्, ‘अहिले त्यो पुस्तक नै पाठ्यक्रमबाट हटिसकेको छ ।’

आचार्यका अनुसार अहिले विद्यार्थीले कक्षा १० सम्म सामाजिक विषय पढ्छन् । त्यसपछि माथिल्लो तहमा सामाजिक विज्ञान अध्ययन गर्ने विद्यार्थीको संख्या घटेको छ । कतिपय कलेजमा स्नातक तहमा सामाजिक विज्ञान पढाइए पनि विद्यार्थी नपुग्ने भन्दै पढाउन रुचि देखाउँदैनन् ।

यद्यपि, नयाँ पुस्ताले समाज अध्ययन गर्दैगर्दैन भन्न नमिल्ने आचार्यको भनाइ छ । उनका अनुसार औपचारिक शिक्षाभन्दा बाहिर रहेर पुस्तक पढ्ने युवाको संख्या पनि उल्लेख्य छ । ‘पब्लिकेसन्स नेपालय’ले २५ वर्षमुनिका ७५ जना लेखकका कथा समेटेर संग्रह प्रकाशन गरेको प्रसंग उल्लेख गर्दै उनी गाउँबाट आएका र घरमै पुस्तक पढ्ने संस्कारमा हुर्किएका युवाले अध्ययनलाई निरन्तरता दिएको बताउँछन् ।

नयाँ पुस्ताले पुस्तक नै पढ्दैन भन्नु गलत भएको आचार्य बताउँछन् । नयाँ पुस्ताले कुन किताब, कुन माध्यममा र कुन उद्देश्यले पढिरहेका छन् भन्ने मुख्य रहेको उनको मत छ । भन्छन्, ‘हामीले समाज बुझ्न पाठ्यक्रमभन्दा बाहिर जानुपर्छ । फरक विचार पढ्नुपर्छ । आफूले अस्वीकार गरेको विचारलाई पनि सुन्न सक्नुपर्छ । इतिहास पढेर वर्तमानलाई प्रश्न सक्नुपर्छ । उपन्यास पढे अर्को मानिसको जीवन बुझिन्छ । समाजशास्त्र पढेर आफू बाँचेको समाजलाई हेर्नुपर्छ ।’ 

फेरिएको हो पठनको माध्यम ?
डिजिटल प्रविधिको विस्तारले पुस्तक पढ्ने तरिका पनि परिवर्तन गरेको छ । जेन–जी पुस्ताको हातमा पुस्तकको सट्टा मोबाइल छ । पुस्तकका पानाको ठाउँ स्क्रिनले ओगटेको छ । पुस्तकालय जाने समय सामाजिक सञ्जालले लिएको छ । लामो लेख्ने–पढ्ने धैर्यको ठाउँमा छोटा भिडियो र सेकेन्डका रिल्सले लिएका छन् । किताबसँग नयाँ पुस्ताको सम्बन्ध बदलिँदै गएको देखिन्छ ।

समाजशास्त्री डा. गणेश गुरुङका अनुसार समाजमा ज्ञानको महत्व धेरै छ । कुनै पनि समाज ज्ञानकै आधारमा अघि बढ्ने र ज्ञानले मानिसलाई सही दिशामा हिँड्न सिकाउँने उनी बताउँछन् । उनी भन्छन्, ‘पुस्तकालय भएका र विद्यालय स्थापना भएका ठाउँबाट धेरै राम्रा मान्छे, बुद्धिजीवी र कुशल प्रशासकहरू जन्मिएका उदाहरण छन् । पुस्तकालय र पठन संस्कृतिको विकासले समाजमा सकारात्मक परिवर्तन ल्याएको प्रमाण हामीसँग छ ।’

‘रिड नेपाल’का महासचिव श्रेष्ठका अनुसार आजको पुस्ताले पुस्तक कम पढे पनि डिजिटल माध्यममा पढिरहेका छन् । ‘पहिले पत्रपत्रिकाको सदस्यता लिनेहरू अहिले मोबाइलबाटै समाचार, लेख र अन्य सामग्री पढ्छन् । त्यसैले, मोबाइल आयो, पुस्तक पढ्न छाडे भन्ने निष्कर्षमा पुगिहाल्न मिल्दैन,’ उनी भन्छन्, ‘पठनको माध्यम फेरिएको छ । डिजिटल माध्यमले मानिसलाई लामो समय एउटै विषयमा केन्द्रित भएर पढ्नभन्दा टुक्राटुक्रा सामग्रीतर्फ तानिरहेको छ ।’

विज्ञका अनुसार समाज बुझ्न धैर्य चाहिन्छ । इतिहास बुझ्न समय चाहिन्छ । एउटा उपन्यास पढ्न निरन्तरता चाहिन्छ । कुनै विचारसँग सहमत वा असहमत हुनुअघि त्यसलाई पूरा बुझ्नुपर्छ । यही अभ्यासले आलोचनात्मक चेत विकास गर्छ । मोबाइलमा हजारौँ सामग्री उपलब्ध छन् । तर, ती नयाँ पुस्ताले पढ्छन् नै भन्न सकिन्न ।

काठमाडौं उपत्यका पुस्तकालयका महासचिव मुरारी पोखरेल प्रविधिको विकाससँगै पठनको शैली फेरिए पनि पुस्तकालयको महत्व नघटेको बताउँछन् । उनका अनुसार मोबाइल र इन्टरनेटले सूचना पाउन सहज बनाएको छ, तर गहिरो अध्ययन, चिन्तन र बहसका लागि पुस्तक पढ्नुपर्ने आवश्यकता अझै उस्तै छ । ‘मोबाइलले जे खोज्यो, त्यो तुरुन्तै दिन्छ । तर, मोबाइलबाट पाइने धेरैजसो सामग्री तत्काल जवाफ वा सन्दर्भका रूपमा हुन्छन् । गहिरो अध्ययन गर्न, कुनै विषयलाई समातेर मन्थन गर्न र त्यसको विश्लेषण गर्न पुस्तक पढ्नुपर्छ,’ पोखरेल भन्छन् ।

उनका अनुसार अहिलेका विद्यार्थीमा पाठ्यक्रमकेन्द्रित पढाइको प्रवृत्ति बढेको छ । परीक्षा उत्तीर्ण गर्न आवश्यक विषयमा केन्द्रित हुने तर पाठ्यक्रमभन्दा बाहिर गएर समाजशास्त्र, इतिहास, दर्शन, राजनीतिशास्त्र, भूगोल, उपन्यास तथा आत्मकथाजस्ता पुस्तक पढ्ने र त्यसबारे छलफल गर्ने अभ्यास कमजोर हुँदै गएको छ ।

विद्यालयस्तरमै पठन संस्कृति संकटमा
पठन संस्कृतिको आधार विद्यालय र परिवारबाट निर्माण हुनुपर्छ । तर, नेपाली शिक्षा प्रणाली लामो समयदेखि पाठ्यपुस्तककेन्द्रित छ । लेखक श्रेष्ठको अनुभवमा विद्यालयमा सात–आठवटा पाठ्यपुस्तकलाई नै शिक्षाको मुख्य आधार मानिन्छ । पाठ्यपुस्तकबाहेकका पुस्तक पढ्दा कतिपय अवस्थामा शिक्षक र अभिभावकबाटै निरुत्साहित गरिन्छ । ‘पुस्तक भनेको प्रश्नको उत्तर खोज्ने वस्तु मात्रै बुझिन्छ,’ उनी भन्छन्, ‘तर कसैलाई कथा मन पर्न सक्छ, अर्कोलाई जीवनी, कसैलाई विज्ञान, कसैलाई इतिहास, कसैलाई यात्रा साहित्य, कसैलाई कविता मन पर्न सक्छ । पठनको सुरुवात रुचिबाट हुनुपर्छ । पाठ्यपुस्तक मात्रै घोकाउने होइन ।’

घरमा अभिभावकले बच्चाको रुचि पहिचान गरेर पाठ्यपुस्तकबाहेकका किताब उपलब्ध गराउनुपर्ने विज्ञहरूको मत छ । विद्यालयमा पनि पुस्तकालयलाई औपचारिक कोठाका रूपमा राखेर मात्र पुग्दैन । हप्तामा कम्तीमा एक–दुई पिरियड पुस्तकालयमा बिताउने, किताब पढ्ने, पढेको किताबबारे छलफल गर्ने र आफ्नो धारणा राख्ने वातावरण आवश्यक भएको विज्ञहरूको भनाइ छ । 

पठन संस्कृतिको अर्को महत्वपूर्ण पक्ष पुस्ताबिचको ज्ञान हस्तान्तरण मानिन्छ । आजको पुस्ता मोबाइलमा व्यस्त छन् । उनीहरूको अग्रज पुस्तासँग बसेर अनुभव सुन्ने समय घट्दै गएको छ । तर, हजुरबा–हजुरआमाको जीवन अनुभव पनि समाजको ठुलो ज्ञानको भण्डार हो । लेखक श्रेष्ठका अनुसार ‘रिड नेपाल’ले सञ्चालन गरेको पुस्तकालयमा बालबालिका र हजुरबा–हजुरआमालाई एकै ठाउँमा राखेर अनुभव बाँड्ने प्रयास गरेको छ । ‘ज्येष्ठ नागरिकले आफ्ना कथा सुनाउँछन् । बालबालिकाले ती कथा टिप्छन् । कतिपयले त्यसमा चित्र बनाउँछन् । पछि ती सामग्री सम्पादन गरेर पुस्तकका रूपमा प्रकाशन गरिन्छ । यो कार्यक्रम केवल बालबालिकालाई किताब पढाउने कार्यक्रम होइन । यो पुस्तकलाई अनुभवसँग जोड्ने प्रयास हो,’ उनी भन्छन् ।

श्रेष्ठको विचारमा पुस्तकालय अब किताब राख्ने ठाउँ मात्रै होइन । ‘रिड नेपाल’ले सञ्चालन गरेका पुस्तकालयको अवधारणा अझ फराकिलो छ । बालबालिकालाई आकर्षित गर्न खेल सामग्री राखिन्छ । युवाका लागि स्थानीय आवश्यकता हेरेर खेलकुद सामग्री, गितार, हार्मोनियमजस्ता सामग्री पनि उपलब्ध गराइन्छ । कम्प्युटर र इन्टरनेटको सुविधा राखिएको छ । किसानका लागि कृषि जानकारीसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिन्छ । यसले पुस्तकालयको परम्परागत परिभाषा बदल्छ । उनी भन्छन्, ‘पहिले पुस्तकालय भनेको किताब पढ्ने ठाउँ थियो । अब त्यो समुदायको ज्ञान, सूचना, संवाद र विकासको केन्द्र बन्नुपर्छ । यसले एउटा महत्वपूर्ण कुरा देखाउँछ, ज्ञान केवल विश्वविद्यालय वा विद्यालयभित्र हुँदैन । समुदाय पनि ज्ञानको स्रोत हो ।’

पुस्तकालयलाई समुदायसँग जोड्न यसको स्वरूप पनि बदल्नुपर्ने काठमाडौं उपत्यका पुस्तकालयका महासचिव मुरारी पोखरेलको धारणा छ । पुस्तकालयमा पुस्तक पढ्ने मात्र होइन, विभिन्न उमेर समूहका मानिसलाई जोड्ने गतिविधि आवश्यक रहेको उनी बताउँछन् । उनका अनुसार कतिपय सामुदायिक पुस्तकालयमा खेलकुद सामग्री, महिला समूह तथा युवा क्लबजस्ता गतिविधि सञ्चालन गरेर युवालाई पुस्तकालयतर्फ आकर्षित गर्न सकिन्छ । ‘युवाहरू मोबाइलमा व्यस्त छन् । उनीहरूलाई पुस्तकालयमा ल्याउन पुस्तक मात्र पर्याप्त नहुन सक्छ । खेलकुद सामग्री राख्न सकिन्छ, युवा क्लब बनाउन सकिन्छ । साथीहरूसँग आउँदा उनीहरू पुस्तकालयसँग पनि जोडिन सक्छन्,’ पोखरेल भन्छन् ।

लेखक विमल आचार्य भन्छन्, ‘लोकसेवा पढ्नु गलत होइन । परीक्षाका लागि पढ्नु पनि गलत होइन । समस्या तब हुन्छ, जब अध्ययनको सम्पूर्ण उद्देश्य परीक्षा पास गर्नुमा सीमित हुन्छ । समाजलाई चिकित्सक, इन्जिनियर, शिक्षक, प्रशासक र प्राविधिक मात्र होइन, प्रश्न गर्न सक्ने नागरिक पनि चाहिन्छ । त्यसका लागि विद्यालयले पाठ्यपुस्तकबाहिर विद्यार्थी लैजानुपर्छ ।’

कमजोर हुँदै आलोचनात्मक चेत 
समाजमा पठन संस्कृति बढाउने काम पुस्तकालयको मात्रै होइन । घर, विद्यालय, विश्वविद्यालय, समुदाय र राज्य सबैको साझा जिम्मेवारी हो । लेखक विमल आचार्य भन्छन्, ‘किताबको पाना पल्टाउनु पहिलो कदम हो । त्यसपछि आउँछ प्रश्न । त्यसपछि बहस । त्यसपछि आलोचनात्मक चेत । र, त्यही चेतले समाजलाई बदल्ने बाटो देखाउँछ । पछिल्लो पुस्तामा आलोचनात्मक चेत कमजोर हुँदै गएको छ ।’

आचार्यका अनुसार पुस्तकालयको पहुँच र अध्ययनको वातावरण नहुँदा नयाँ पुस्ताले प्रश्न गर्ने र आलोचनात्मक सोच विकास गर्ने अवसरसमेत गुमाइरहेको छ । भृकुटीमण्डपको पुस्तकालयमा कुनै समय करिब दुई सय युवा पढ्न जाने गरेको स्मरण गर्दै उनी पुस्तकालय बन्द हुँदा पनि त्यसविरुद्ध पर्याप्त आवाज नउठेको बताउँछन् ।

आचार्यका अनुसार पछिल्लो समय नेपालमा प्राविधिक शिक्षालाई बढी प्राथमिकता दिने प्रवृत्ति बढेको छ । बालबालिकालाई गणित र प्राविधिक विषयमा केन्द्रित गर्नुपर्छ भन्ने सोच अभिभावकदेखि राज्यसम्म देखिन्छ । यसको असर सामाजिक विज्ञानको अध्ययनमा परेको उनको भनाइ छ । उनका अनुसार नयाँ पुस्तामा आलोचनात्मक चेत कमजोर हुनुको एउटा कारण शिक्षा प्रणाली पनि हो । विश्वविद्यालयको पाठ्यक्रम, पढाउने शैली र योग्य जनशक्तिको अभावले सामाजिक विज्ञानको अध्ययन कमजोर बनेको उनको मत छ । ‘राजनीतिक दलका गुटगत संरचना, परीक्षाकेन्द्रित अध्ययन र गेसपेपरमुखी शिक्षाले पनि आलोचनात्मक अध्ययनको संस्कार कमजोर बनाएको छ,’ उनी भन्छन्, ‘समाज र इतिहास बुझ्नेभन्दा परीक्षा उत्तीर्ण गर्ने उद्देश्यले पढ्ने प्रवृत्ति बढेको छ ।’ 

कसरी सुधार्ने पठन संस्कृति ?
पठन संस्कृतिमा आएको परिवर्तनलाई ‘पतन’भन्दा पनि ‘रूपान्तरण’का रूपमा बुझ्नुपर्ने विज्ञको मत छ । महासचिव मुरारी पोखरेल भन्छन्, ‘पहिले सूचना लिने एउटा तरिका थियो, अहिले अर्को तरिका आएको छ । यसलाई पतन भन्न मिल्दैन । रूपान्तरणको रूपमा बुझ्नुपर्छ । यसलाई पुस्तकालयले पनि आत्मसात् गर्नुपर्छ ।’ नयाँ पुस्ताले पाठ्यक्रमभन्दा बाहिरको अध्ययन कमजोर बनाउन नहुनेमा उनको जोड छ । त्यसका लागि परिवार, शिक्षक र पुस्तकालय सबैले नयाँ पुस्तालाई थप पढ्न र प्रश्न गर्न प्रेरित गर्नुपर्ने उनी बताउँछन् । ‘हामीले उनीहरूलाई पाठ्यक्रम पूरा भयो कि भएन भनेर मात्रै हेरिरहेका छौँ । उनीहरूले आफ्नो समाज, देश र परिवेश बुझ्न के पढे भन्ने प्रश्न पनि गर्नुपर्छ । जिज्ञासा जगाउने र नयाँ कुरा खोज्न प्रेरित गर्ने काममा पुस्तकालयको भूमिका महत्वपूर्ण छ,’ पोखरेल भन्छन् ।

राज्यको पठन संस्कृति र पुस्तकालयप्रतिको दृष्टिकोणबारे विमल आचार्य असन्तुष्ट छन् । उनका अनुसार पुस्तकालयलाई ज्ञान र अध्ययनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा राज्यले पुस्तकलाई एउटा वस्तुका रूपमा मात्र हेर्ने गरेको छ । ‘पुस्तकालयमा लोकसेवा पढ्ने पनि छन्, मेडिकल पढ्ने पनि छन् । जुनसुकै विषय पढे पनि पुस्तकालय आवश्यक हुन्छ,’ उनी भन्छन्, ‘पठन संस्कृतिका लागि राज्यको प्रयास पर्याप्त छैन । पठन संस्कृति बलियो बनाउन पुस्तकालयको विस्तार, सामाजिक विज्ञानको अध्ययनलाई प्रोत्साहन र विद्यालय तथा विश्वविद्यालयको शिक्षण पद्धतिमा सुधार आवश्यक छ ।’

अध्ययन संस्कृति घट्दा समाज कमजोर हुन्छ : डा. गणेश गुरुङ, समाजशास्त्री
नेपाली समाजलाई बलियो बनाउन नयाँ पुस्तामा अध्ययनको संस्कार आवश्यक छ । प्रविधिले धेरै कुरा सजिलो बनाइदिएको छ, तर त्यससँगै गहन अध्ययन गर्ने शैली र संस्कार बिस्तारै हराउँदै गएको छ । किताब पढ्ने, अनुसन्धानमूलक लेखहरू पढ्ने अभ्यास घट्दै जाँदा समाज कमजोर हुन्छ ।  पढ्नु र समाज बुझ्नु एउटै कुरा होइन । पाठ्यक्रममा समाजशास्त्र पढेर मात्रै समाज बुझिँदैन । समाज बुझ्नका लागि पाठ्यक्रमभन्दा बाहिरका समाजशास्त्र, इतिहास, राजनीति, दर्शनलगायतका पुस्तक पढ्नुपर्छ । मन्थन गर्नुपर्छ । समाज कसरी बदलिरहेको छ, परिवार कसरी परिवर्तन भइरहेको छ र समाजमा के भइरहेको छ भन्ने कुरा आफैँले बुझ्ने र सोच्ने अभ्यास गर्नुपर्छ । त्यसका लागि व्यापक दृष्टिकोण आवश्यक हुन्छ । 

सुझावित समाचार