तंग्रिन नपाउँदै आइलाग्ने विपत् झन् घातक

पुनः तंग्रिन नपाउँदै अर्को विपत् आइलाग्यो भने त्यसले पहिलो विपत्अघिको समुदायको नभई थप कमजोर समुदायको सामना गर्छ

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको भीषण आकस्मिक बाढीले घर, सडक, पुल र स्थानीय जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याएको छ । भोटेकोशी नदीमा आएको बाढीबाट ५० हजार बासिन्दा प्रभावित भएका छन् । बाढीबाट तीन सय ६० भन्दा बढीको मृत्यु भएको छ भने अन्तर्राष्ट्रिय पर्यटकसहित सयौँ मानिस बेपत्ता छन् । हिमालयको यो क्षेत्र सन् २०२५ मा आएको भोटेकोशी बाढीको असरबाट अझै पूर्ण रूपमा तंग्रिन सकेको थिएन । सो बाढीले नेपाल–चीन जोड्ने ‘मैत्री पुल’ बगाउँदा नौजनाको ज्यान जानुका साथै महिनौँसम्म व्यापार र यातायात अवरुद्ध भएको थियो ।

श्रीलंकामा, हालै आएको बाढी र पहिरोले स्थानीय समुदायलाई निकै प्रभावित बनायो । मानिसहरू ‘डिट्वा’ चक्रवातको असरबाट भर्खरै तंग्रिँदै गरिरहेका वेला बाढीको चपेटामा परे । उक्त चक्रवातले नौ महिनाअघि व्यापक क्षति पु¥याएको थियो । चक्रवातको असरबाट उम्कने पर्याप्त समय नपाएका कारण ती समुदायसँग थप बाढीको सामना गर्ने कुनै सुरक्षा उपाय थिएन । यस अगस्टमा १५ हजारभन्दा बढी मानिस प्रत्यक्ष रूपमा प्रभावित हुनुका साथै ६,८०० मानिस विस्थापित भए ।

विपत् जोखिमले सामान्यतया त्यसपछि आउने अर्को बाढी, डढेलो, चक्रवात वा खडेरी कति गम्भीर हुनेछ भन्ने कुरालाई विचार पु¥याउँछ । तर, नेपाल र श्रीलंकाका उदाहरणले प्रायः ओझेलमा पर्ने अर्को एउटा पक्षलाई उजागर गर्छन्– कुनै समुदाय कति छिटो पुनस्र्थापित हुन सक्छ र के अर्को विपत् आउनुअघि नै त्यो सम्भव हुन्छ ?

विपत्ले कुनै ठाउँलाई जस्तो अवस्थामा भेटेको थियो, प्रायः त्यस्तै अवस्थामा छोड्दैन । सडक र पुलहरू क्षतिग्रस्त अवस्थामा हुन्छन् । परिवारले आफ्नो बचत खर्च गरिसकेका हुन सक्छन् । व्यवसायीहरू अझै संघर्षरत हुन सक्छन् । अस्पताल र अन्य सार्वजनिक सेवामाथि दबाब कायम रहँदा सरकारले पुनर्निर्माणका लागि लगानी गरिरहेको हुन सक्छ । यदि यी प्रणाली पुनः तंग्रिन नपाउँदै अर्को विपत् आइलाग्यो भने त्यसले पहिलो विपत्अघि जस्तो अवस्थामा रहेको समुदायको सामना गर्दैन, बरु, त्यसले कमजोर पूर्वाधार भएको ठाउँको सामना गर्छ । यसलाई बुझ्ने एउटा उपयोगी तरिका ‘पुनर्लाभको अन्तराल’ (रिकभरी ग्याप) हो । अर्थात्, पुनर्लाभमा लाग्ने समय र अर्को विनाशकारी विपत् आउनुअघि उपलब्ध समयबिचको सम्बन्ध ।

विपत्बाट हुने बारम्बारको क्षति सधैँ केवल सामान्य रूपमा थपिँदै जाने क्षति मात्र हुँदैन । पहिलो विपत्ले अर्को विपत् आउने परिस्थितिलाई परिवर्तन गर्न सक्छ र त्यसपछिका विपत्को असर निकै गम्भीर हुन सक्छ ।

कल्पना गर्नुहोस्, दुईवटा समुदायले उस्तै प्रकृतिको बाढीको सामना गरिरहेका छन् । एउटा समुदायमा यसअघिको ठुलो विपत् १० वर्षअघि आएको थियो । त्यहाँ घरहरू पुनर्निर्माण भइसकेका छन्, पूर्वाधारको मर्मत–सम्भार गरिएको छ र आपत्कालीन स्रोतसाधनको पुनः व्यवस्थापन गरिएको छ । अर्को समुदायमा भने जम्मा ६ महिनाअघि मात्रै अर्को विपत् आएको थियो, त्यहाँ सडकहरू अझै मर्मतकै क्रममा छन्, परिवारहरू विस्थापित वा ऋणको मारमा छन् र सरकारी निकाय अझै पनि पुनर्निर्माणको खर्च व्यहोरिरहेका छन् । दुवै ठाउँमा आउने नयाँ बाढी भौतिक रूपमा उस्तै भए पनि, तिनका परिणाम भने फरक हुन सक्छन् ।

अपूर्ण पुनरोत्थानले दीर्घकालीन क्षतिलाई उल्लेख्य रूपमा बढाउन सक्छ । फिलिपिन्समा बाढीसम्बन्धी सन् २०२५ को एक अध्ययनले देखाएअनुसार, अपूर्ण रिकभरीका कारण सन् २००० देखि २०१८ को बिचमा क्षति ४० प्रतिशतले बढेको थियो । यसले के संकेत गर्छ भने, विपत्बाट हुने बारम्बारको क्षति सधैँ केवल सामान्य रूपमा थपिँदै जाने मात्र हुँदैन । पहिलो विपत्ले अर्को विपत् आउने परिस्थितिलाई परिवर्तन गर्न सक्छ र त्यसपछिका विपत्को असर निकै गम्भीर हुन सक्छ ।

पुनरोत्थानलाई प्रायः एउटा सरल ‘दुई–विकल्पीय’ अवस्थाका रूपमा वर्णन गरिन्छ, जहाँ समुदाय या त पूर्ण रूपमा रिकभर भएको मानिन्छ वा पूर्णरूपमा नभएको मानिन्छ । तर, वास्तवमा, यो विभिन्न चरण वा स्तरहरूमा हुने प्रक्रिया हो । बिजुली र खानेपानीको आपूर्ति केही दिनभित्रै सुचारु हुन सक्छ । क्षतिग्रस्त सडक मर्मत गर्न महिनौँ लाग्न सक्छ । घरहरू पुनर्निर्माण गर्न वर्षौं लाग्न सक्छ । व्यवसायहरू ठुलो ऋणको भार बोकेरै पनि पुनः सञ्चालनमा आउन सक्छन् । घरायसी आर्थिक अवस्था, पारिस्थितिक प्रणाली र मानसिक स्वास्थ्यमा सुधार आउने समयसीमा भने पूर्ण रूपमा फरक–फरक हुन सक्छ ।

सरकारहरू सामान्यतया तत्काल हुने क्षति— जस्तै क्षतिग्रस्त भवन, विस्थापित मानिस, ध्वस्त पूर्वाधार र आर्थिक लागतको अभिलेख राख्न सक्षम हुन्छन् । तर, महिना वा वर्षौँ बितिसक्दा पनि के–कस्ता कुरा मर्मत वा पुनर्निर्माण हुन बाँकी छन् भन्ने कुरा जान्नु पनि उनीहरूका लागि आवश्यक हुन्छ । पुनर्लाभको अनुगमनमा आवास, पूर्वाधारको सञ्चालन अवस्था, व्यावसायिक गतिविधि, घरायसी आर्थिक स्थिति, सार्वजनिक सेवा र विस्थापनजस्ता पक्ष समेटिनुपर्छ । रिकभरीलाई भर्खरै घटेको विपत्को अन्तिम चरणका रूपमा मात्र हेर्नुहुँदैन । यो भविष्यमा आउन सक्ने घटनाको पूर्वतयारी पनि हो । पूर्वाधारको पुनस्र्थापना, घरपरिवारलाई सहयोग र अत्यावश्यक सेवाको शीघ्र सञ्चालनले अर्को घटनामा आइपर्ने जोखिमलाई कम गर्न सक्छ ।
द कन्भर्सेसनबाट
 

See More On

सुझावित समाचार