प्रधानमन्त्री शाह बिहानैदेखि सक्रिय विपतमा एकढिक्का हुन अपिल

बिहिबार, ११ भदौ, २०८३
डिजिटल संस्करण

पूर्वीतराईमा साम्प्रदायिक तनाव हुँदा आवश्यक सक्रियता नदेखाएको आरोप खेपेका प्रधानमन्त्री बालेन्द्र शाह रसुवामा बाढी आएपछि भने बिहानैदेखि वस्तुस्थिति बुझ्ने, उद्धार र राहतका लागि समन्वय गर्ने, संयन्त्र परिचालनमा खटिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ८:४० मा स्थानीय प्रशासनबाट बाढीको सूचना प्राप्त भएपछि ८:४५ मा प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरोकारवाला निकाय/संघसंस्थालाई निर्देशन दिएका थिए ।

त्यसलगत्तै ९ बजे तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदीकिनारमा नजान अनुरोध गरेका थिए । ९:१५ मा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो ।

९:३५ प्रदेश, जिल्ला र स्थानीय तहका रेस्पोन्डरलाई प्राधिकरणबाट उच्च सतर्कतासहित विपत् प्रतिकार्यका लागि जुट्न नेपाल टेलिकम तथा एनसेलमार्फत अलर्ट मेसेज पठाउन लगाएका थिए । ११ बजे विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको र बैठकमा प्रधानमन्त्रीले सरोकारवाला सबैलाई खोज, उद्धार तथा राहतका कार्यहरूमा सक्दो सहयोग गर्न अनुरोध गरेका थिए ।

१२:३० प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसी उद्धार, खोज र राहत तीव्र बनाउने निर्णय भएको थियो । १ बजे प्रधानमन्त्रीबाट बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरी उनीहरूलाई बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यहरूमा सहजीकरण गर्न अनुरोध गरिएको थियो ।

प्रधानमन्त्री शाहले पीडाको यो घडीमा सिंगो नेपाल सरकार र सम्पूर्ण देशवासी साथमा रहेको बताएका छन् । यो दुःखद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको संख्यामा उद्धार कार्यमा परिचालन गरेको उनले उल्लेख गरेका छन् । बाढी गएलगत्तै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको, त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठकसमेत बसेर महत्वपूर्ण निर्णय गरिएको जानकारी गराएका छन् । 

प्रधानमन्त्री शाहले यस्तो विपत्को वेला सबै एकढिक्का हुनुपर्ने अपिल गरेका छन् । ‘म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आमनागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन अनुरोध गर्दछु,’ उनले भनेका छन् । 

सुझावित समाचार