यौन अपराधीमाथि यौनेच्छा दबाउने उपचार प्रयोग गरिँदै

केही देशले पहिल्यै यस्तो उपचार विधि अवलम्बन गरिसकेका छन् भने कतै यस अभ्यासमाथि नीतिगत प्रश्न पनि उठ्ने गरेको छ

सोमबार, ८ भदौ, २०८३
डिजिटल संस्करण

बेलायतले यौन अपराधमा जेल परेका हजारौँ पुरुष कैदीलाई कामवासना नियन्त्रण गर्न मद्दत गर्ने औषधि दिने भएको छ । डिसेम्बर २०२८ देखि पूर्णतः कार्यान्वयन हुने योजनाअन्तर्गत एक ‘पाइलट’ कार्यक्रम नोभेम्बरमा १० देखि देशका २० जेलमा विस्तार गरिँदै छ । यस योजनामा यौन अपराधमा पक्राउ परेकामध्ये प्रत्येक चारमध्ये एक कैदी संंलग्न हुन सक्ने बताइएको छ ।

इंग्ल्यान्ड र वेल्समा लगभग १५ हजार कैदीले यौन अपराधका लागि सजाय भोगिरहेका छन् । त्यस्तै प्रतिमहिना करिब ८५० भन्दा बढी पुरुष अनलाइन बाल यौन दुव्र्यवहार अपराधको शंकामा पक्राउ पर्छन् । यसमा मुख्यतः समस्यायुक्त यौन उत्तेजना हुने ‘प्रोब्लेमेटिक सेक्सुअल अराउज’ (पिएसए) भएका कैदीलाई लक्षित गरिने प्रोफेसर बेलिन्डा विन्डरले बताइन् । बेलिन्डा कामवासना नियन्त्रण गर्नेसम्बन्धी औषधिको प्रयोगको प्रभाव अध्ययनमा संलग्न एक अग्रणी फोरेन्सिक मनोवैज्ञानिक प्रोफेसर हुन् ।

प्रोफेसर विन्डरका अनुसार पिएसएबाट ग्रसित व्यक्तिको दिमागमा कामको समयमा समेत दिनभर यौनको सोच र छवि आउने गर्छ । ‘केही साता औषधि लिएका एकजना केटासँग कुरा गर्दा उनले औषधिले अद्भूत प्रभाव पारेको बताउँदै पहिले महिलाको ‘ब्रा स्ट्र्याप’ देख्दासमेत दिमागमा यौनजन्य कुरा आउन सुरु हुने गरेकामा अहिले फरक रहेको बताए,’ प्रोफेसरले भनिन् ।

बेलायतमा पिएसएको उपचारमा अहिले प्रायः ‘एन्टी–डिप्रेसेन्ट’ औषधि दिइन्छ । यसले दिमागमा बारम्बार आइरहने सोचलाई नियन्त्रण गर्ने भएकाले यौनेच्छा पनि कम गर्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै केहीमा भने एन्टी–एन्ड्रोजेन हार्मोन दिने गरिएको छ, जसले मानिसमा यौनेच्छा जगाउने टेस्टोस्टेरोनको स्तर घटाइदिन्छ । तर, रिसबाट प्रेरित भएर अपराधमा संलग्न कैदी र रक्सी वा लागुपदार्थ प्रयोग गरेपछि आफ्नो व्यवहारलाई नियन्त्रण गुमाउनेमा यी दुवै औषधिले काम गर्दैन ।

डेनमार्क र फ्रान्सले पहिल्यैदेखि कैदीमा रसायनको प्रयोगमार्फत यौनोच्छा दमन विधि अपनाउँदै आएका छन् । तथापि, ती देशमा यसको प्रयोगअघि व्यक्तिको स्वीकृति आवश्यक पर्छ । जर्मनीमा लागू ‘डन्केलफेल्ड परियोजना’ले ‘पेडोफिलिक’(बालबालिकाप्रति यौनेच्छा महसुस गर्ने) वा ‘हेबेफिलिक’(किशोरीप्रति यौनेच्छा महसुस गर्ने) पुरुषलाई निःशुल्क तथा गोप्य चिकित्सकीय उपचार प्रदान गर्छ । यस परियोजनामा जर्मनीले केही औषधिको पनि प्रयोग सिफारिस गरेको छ । 

जर्मनीको डन्केलफेल्ड परियोजनासम्बन्धी युट्युबमा राखिएको एक विज्ञापनमा समस्यायुक्त यौनेच्छा भएका पुरुषलाई परियोजनामा जोडिन आह्वान गरिएको छ । विज्ञापनमा एक अज्ञात पुरुषले थेरापीका क्रममा कुनै व्यक्ति आफूमा भएको निश्चित यौन प्रवृत्तिका लागि दोषी हुँदैनन् भन्ने आफूले बुझेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘आफ्नो यौन प्रवृत्ति प्रयोग गर्दा आउने समस्याका लागि पनि हरेक व्यक्ति आफैँ दोषी हुन्छन् । म अपराधी बन्न चाहन्नँ, त्यसैले यसमा जोडिएँ ।’

फरक यौन प्रवृत्ति सम्बन्धमा अन्य देशले भने कडा नीति अपनाएका छन् । पोल्यान्डले केही यौन अपराधीविरुद्ध तिनको मन्जुरीविनै अनिवार्य रासायनिक पदार्थमार्फत यौनेच्छा दमन नीति अवलम्बन गर्दै आएको छ । उता, दक्षिण कोरिया सन् २०१० मा एउटा कानुन पारित गर्दै रासायनिक बन्ध्याकरणलाई वैधानिक बनाउने एसियाकै पहिलो देश बनेको थियो । त्यस कानुनअनुरूप अहिले दक्षिण कोरियाका अदालत र न्याय मन्त्रालयको एक समितिले दोषी ठहरिएका यौन अपराधीलाई उनीहरूको ‘टेस्टोस्टेरोन’ कम गर्ने ‘हर्मोन उपचार’को आदेश दिन पाउँछन् । यसमा अपराधीको मन्जुरी लिइराख्नुपर्दैन ।

अस्ट्रेलियामा देशका फरक राज्यले अदालत र प्यारोल बोर्डलाई उच्च जोखिम भएका यौन अपराधीका लागि ‘एन्टी–लिबिडिनल’ (कामेच्छा नियन्त्रण) उपचारको आदेश दिने शक्ति प्रदान गर्छ । यस्तो उपचार पाएपछि मात्र दोषीको रिहाइ प्रक्रिया सुरु हुने त्यहाँको व्यवस्था छ । उता, कजाकिस्तान र अमेरिकाका दुई ठुला राज्य क्यालिफोर्निया र फ्लोरिडाले पहिले नै केही यौन अपराधीविरुद्ध अनिवार्य ‘एन्टी–लिबिडिनल औषधि’ प्रयोगको व्यवस्था गरेका छन् । 

ब्रिटिस अधिकारीले पनि अहिले यस्तो कार्यक्रममा भाग लिनेलाई क्यालिफोर्नियाको जस्तै प्यारोल (कैद सजाय कटौती वा माफी)को सर्त बनाउन सकिन्छ कि भनेर अन्वेषण गरिरहेका छन् । तर, व्यवहार तथा जीवनशैली नै बदलिदिने औषधि लिएको वा नलिएको आधारमा कसैलाई प्यारोल दिनु सही हुन्छ कि हुँदैन भन्ने विषयमाथि नैतिक द्विविधा भने बाँकी छन् । 
विशेषगरी, ‘एन्टी–एन्ड्रोजन’ले गम्भीर साइड इफेक्ट निम्त्याउन सक्छ । उपचारमा संलग्न पुरुषहरूले थकान, ज्यानमा रातो डाबर आउने, मांसपेशी घट्दै जाने, मुड बदलिने, तौल बढ्ने र हड्डीको घनत्वमा कमी अनुभव गर्छन् । विज्ञहरू पनि यसमा समस्या रहेको स्विकार्छन् । औषधिले समस्या पूरै ठिक गर्छ भन्ने हुँदैन अर्थात् व्यक्तिको अन्तर्निहित व्यवहार पूरै परिवर्तन नहुन सक्छ । त्यसबाहेक यी उपचार कार्यक्रम भाग लिएकाले बिचमै छाड्ने दर उच्च छ । 

प्रोफेसर बेलिन्डा विन्डर भने प्रत्येक अपराधीलाई कैद माफी हेर्ने प्यारोल बोर्डले उनीहरूमा आएको परिवर्तनका आधारमा मूल्यांकन गर्नुपर्ने बताउँछिन् । ‘प्यारोल बोर्डले कैदीले जेलका कर्मचारीप्रति कस्तो व्यवहार गरिरहेका छन् या जेलका अन्य साथीसँग कसरी अन्तत्र्रिmया गर्छन् भन्नेलगायत धेरै कारकको मूल्यांकन गरेर यस्ता निर्णय लिन सक्छ,’ प्रोफेसर विन्डरले भनिन् । 
(लेखक द गार्जियनका गृह मामिला सम्पादक हुन्)  द गार्जियनबाट

सुझावित समाचार