कता हराए हुलाकी ?

‘हुलाकीले ल्याउने चिठीपत्र इतिहास, संस्कृति र साहित्य अध्ययनका लागि महत्वपूर्ण दस्ताबेज थिए’

शनिबार, ६ भदौ, २०८३
डिजिटल संस्करण

‘चिठी आएन, चिठी आएन,
मेरो मायालुको मलाई चिठी आएन...’

एक समय नेपाली चलचित्र ‘ट्रक ड्राइभर’को यो गीत असाध्यै लोकप्रिय थियो । बालकृष्ण वैद्यको शब्द, कविता कृष्णमूर्तिको स्वर र शम्भुजित बास्कोटाको संगीत रहेको यो गीत सबैलाई कण्ठ थियो । किनकि, गीतले भनेजस्तै समाजमा चिठीको पर्खाइ हुन्थ्यो । हुलाक कार्यालय व्यस्त हुन्थे । मानिसहरू घरको डिलमा बसी परदेसिएका आफन्तको बाटो मात्रै हेर्दैनथे, हुलाकीको बाटो पनि हेरिरहन्थे । चिठी लेख्नु, हुलाक कार्यालयमा जानु, अनि हुलाकीको बाटो हेरिरहनु नेपाली समाजको साझा कथा थियो ।

हुकालीहरू घन्टौँ हिँडेर गाउँगाउँमा पुग्थे । झोला बोकेको हुलाकी देख्दा मानिसहरू भन्थे, ‘कतै मेरो चिठी त आएन ?’ हुलाकीले झोलाबाट खाम निकाल्थे । खामभित्र केवल अक्षर हुँदैनथे, कसैको माया, सम्झना र खबर हुन्थ्यो ।

तर, समय उही रहेन । डिजिटल प्रविधिको विकाससँगै हुलाक कार्यालय सुनसान हुँदै गए । हुलाकीहरू घन्टौँ हिँडेर गाउँघरमा आउन छाडे । पत्रमञ्जुसामा प्रेमपत्र खस्न छाडे । चिठी पठाएको, हुलाक टिकट टाँसेको र हुलाकीको बाटो हेरेको त्यो समय अब अतीत बन्दै गयो । प्रविधिले खबरलाई छिटो त बनायो, तर चिठीसँग जोडिएको त्यो आत्मीय प्रतीक्षा हरायो । एक समय हुलाकीहरू समाजका महत्वपूर्ण हिस्सा थिए । ती हुलाकीसँग विगतका कस्ता–कस्ता स्मृति होलान् ? चिठी पुर्‍याउन नपरेपछि उनीहरू अचेल के गर्दै होलान् ? 

गणेश थापा

पाल्पाका गणेश थापाले २०३४ सालमा हुलाक सेवामा प्रवेश गरे । २५ वर्ष सात महिना हुलाक सेवामा बिताए । सुरुमा उनको तलब २७५ रुपैयाँ थियो । ५८ वर्षको उमेरमा अवकाश लिए । त्यस अवधिमा पाल्पाका दुर्गम गाउँमा चिठी बोकेर हिँडेको सम्झना अहिले पनि उनको स्मृतिमा ताजा छ । हुलाकी थापा चिठी बोकेर गाउँ–गाउँ पुग्थे । बिहान निस्किएपछि साँझ अबेर घर फर्किन्थे ।

काँधमा झोला । अगाडि उकाली । तल खोला । माथि डाँडा । थकाइ बिसाउने देउराली । फेरि उही यात्रा । कहिलेकाहीँ बाटोमा भेटिएका मानिसले सोध्थे, ‘मेरो चिठी आएको छ कि ?’

गणेशको अनुभवमा त्यतिवेला गाउँको बाटो मात्र कठिन थिएन,  चिठीको प्रकृति पनि संवेदनशील थियो । लाहुरेका चिठी विशेष हुन्थे । परिवारका सदस्य वर्षौंसम्म चिठीको पर्खाइमा हुन्थे । ‘पाल्पाको मगर गाउँमा लाहुरेहरूको चिठी धेरै आउँथे,’ थापा सम्झन्छन्, ‘विदेशबाट चिठी आयो भनेर थाहा पाएपछि परिवारका मानिस खुसी हुन्थे । चिठी पाउँदा ठुलो पुरस्कार पाएजसरी खुसी हुन्थे ।’ तर, हुलाकीले बोकेको हरेक चिठीले खुसीको खबर लिएर आउँदैनथ्यो । कुनै चिठीले दुःखको पनि खबर लिएर आउँथ्यो । 

‘अदालतको मान्छे आयो’ भन्दै भाग्थे
दुर्गममा हुलाकी पुगेपछि मानिस झस्किन्थे । ०४२ सालतिरको कुरा हो । गणेश थापाको कार्यक्षेत्र पाल्पाका गाउँ क्षेत्रमा थियो । घन्टौँ पैदल हिँड्नुपर्थ्यो ।  ती ठाउँमा सुरुसुरुमा चिठी पुर्‍याउँदा मानिस डराउँथे । हातमा पत्र देखेपछि ‘अदालतको पत्र त होइन ?’ भन्ने आशंका हुन्थ्यो । कानुनी कागज होला भनेर कतिपय मानिस घरभित्रै लुक्ने गरेको थापा सम्झन्छन् ।

रामेछापका राजेन्द्र थापाले २०५१ माघदेखि हुलाक सेवामा काम सुरु गरे । सुरुमा करारमा करिब १८ महिना काम गरे । २०५३ वैशाखसम्म अस्थायी रूपमा काम गरेपछि त्यही सेवामा निरन्तर रहे । अहिले काठमाडौंको गोस्वरा हुलाक कार्यालयमा काम गरिरहेका छन् ।

चिठी बोकेर उनी रामेछापका विभिन्न ठाउँ पुगे । डाँडा काटे । खोला तरे । कहिले दिनमा, कहिले रातमा पनि हिँडे । त्यतिवेला सडक पुगेको थिएन । गाउँमा बिजुली थिएन । मोबाइल फोनको त कुरै भएन । टेलिफोन पनि सबैको पहुँचमा थिएन । त्यसैले गाउँका लागि चिठी नै खबरको भरपर्दो माध्यम थियो । लाहुरबाट आएको चिठी होस् वा परदेशी छोराको खबर, परिवारका लागि त्यो कागजको टुक्रा मात्र हुँदैनथ्यो । त्यसमा आशा, खुसी र कहिलेकाहीँ पीडा पनि हुन्थ्यो ।

राजेन्द्र थापा

राजेन्द्रको अनुभवमा ‘चिठी आयो’ भन्ने खबर नै आफैँमा गाउँका लागि उत्सवजस्तै हुन्थ्यो । हुलाकी गाउँ पस्दा मानिसले बाटो छाडिदिनुपर्ने मान्यता थियो । त्यतिवेला हुलाकीलाई गाउँमा सम्मानका साथ हेरिन्थ्यो । राजेन्द्रका लागि हुलाकी हुनु केवल चिठी बोक्नु थिएन ।

त्यो गाउँ–गाउँबिच सम्बन्ध जोड्ने काम थियो । राजेन्द्रका अनुसार त्यतिवेला चिठीको महत्व अझै अर्को कारणले पनि थियो । चिठीमार्फत पैसा पनि पठाइन्थ्यो । कागजको चिठीभित्र पैसा राखेर पठाउने चलन थियो । त्यसैले, हुलाकीको जिम्मेवारी झन् संवेदनशील हुन्थ्यो । एउटा झोलामा धेरै मानिसका व्यक्तिगत खबर र आर्थिक कारोबार जोडिएका हुन्थे ।

गाउँका धेरै मानिस आफैँ चिठी लेख्न सक्दैनथे । त्यस्तो अवस्थामा हुलाकी वा पढेलेखेका व्यक्तिले उनीहरूको कुरा सुनेर चिठी लेखिदिन्थे । त्यसपछि चिठी खाममा राखिन्थ्यो र हुलाकमार्फत पठाइन्थ्यो । त्यसैले, हुलाकी गाउँका लागि खबर बोक्ने मात्र होइन, कहिलेकाहीँ चिठी लेखिदिने सहयोगी पनि हुन्थे ।

२०५८ सालमा राजेन्द्र काठमाडौं गोस्वरा हुलाक कार्यालयमा आए । त्यसवेलासम्म चिठीको ठुलो चाप भएको उनी सम्झिन्छन् । केन्द्रमा दैनिक ७०–८० हजारसम्म पारिवारिक चिठी आउँथे । उनी भन्छन्, ‘त्यतिवेला २५ पैसा वा ५० पैसाको टिकट टाँसेर एउटा ठाउँबाट अर्को ठाउँमा चिठी पठाउन सकिन्थ्यो । टेलिफोन गर्न पैसा लाग्थ्यो । सबैको घरमा फोन थिएन ।’

हुलाकी आउँदा गाउँमा उत्साह
हुलाकीको आगमनले गाउँको वातावरण नै बदलिन्थ्यो । ‘हुलाकी दाइ आयो’ भन्ने खबर फैलिन्थ्यो । राजेन्द्रलाई अझै सम्झना छ,  खेतबारीमा काम गरिरहेका मानिस पनि आफ्नो नामको चिठी आएको हो कि भनेर चासो राख्थे । घरमा चिठी आएको भए हुलाकीलाई खोज्दै मानिस आइपुग्थे ।

कतिपय घरमा वर्षमा एकपटक मात्र चिठी आउँथ्यो ।  चिठी पढ्दा घरमा खुसी छाउँथ्यो । कहिलेकाहीँ दुःखको खबर पनि आउँथ्यो । त्यसैले, हुलाकीको झोला केवल सुखद खबरको झोला थिएन । कहिलेकाहीँ झोलाभित्र पीडाको खबर पनि हुन्थे ।

राजेन्द्रलाई गाउँघरको एउटा पुरानो सामाजिक मनोविज्ञान अझै सम्झना छ । अघिल्लो दिन गाउँमा काग करायो, फ्याउरो वा कुकुर रोयो भने अशुभ खबर आउने जनविश्वास थियो । यस्तो वातावरणमा हुलाकी पुग्यो भने सबैले सशंकित भएर हेर्थे ।

रामजी खड्का

हुलाकी रामजी खड्काले आफ्नो हुलाकी जीवन दोलखाको विभिन्न ठाउँ  डुलेर सुरु गरे । रामेछापको ठोसेबाट सुरु भएको उनको यात्रा अझै जारी छ । उनी अहिले पनि हुलाक सेवामै छन् । उनका लागि पनि हुलाकी हुनु केवल एउटा जागिर थिएन । यो गाउँ–गाउँबिच सम्बन्ध जोड्ने जिम्मेवारी पनि थियो ।

हुलाकीको सबैभन्दा महत्वपूर्ण साथी हुन्थ्यो– चिन्ह लगाइएको झोला । त्यसमा चिठी तथा अन्य सामग्री राखिन्थ्यो । एउटा चौकीबाट अर्को चौकीमा पुग्दा त्यो झोला अर्को हुलाकीकहाँ हस्तान्तरण हुन्थ्यो । बाटोमा झोला फुट्यो वा त्यसमा क्षति पुग्यो भने त्यसको जवाफदेही पनि हुलाकीले नै लिनुपर्थ्यो ।

झोला सुरक्षित राख्नु र त्यसमा रहेका सामग्री जस्ताको तस्तै गन्तव्यमा पुर्‍याउनु  उनीहरूको पहिलो जिम्मेवारी थियो । ‘झोला फुट्यो भने त्यसमा भएका सामानको अवस्था के भयो भनेर सोधिन्थ्यो । भित्रको सामान ठिक छ भने सबै सुरक्षित अवस्थामा पुगेको मानिन्थ्यो,’ खड्का पुराना दिन सम्झँदै भन्छन् ।

३१ वर्ष हुलाकी जीवन बिताए बागलुङका विष्णुप्रसाद सुवेदीले । गोरखाको दुर्गम गाउँमा काम गर्दाको सम्झना उनलाई अझै आलै छ । २०५२ सालमा सेवा प्रवेश गरेका उनी सुरुवाती दिन सम्झँदा भावुक हुन्छन् । त्यतिवेला गाउँमा न बिजुली थियो, न सञ्चारको सहज पहुँच । यातायातको सुविधा पनि थिएन । गाउँसम्म पुग्ने मुख्य माध्यम पैदल बाटो नै थियो । ‘चिठी बोकेर हिँड्दै गाउँ–गाउँ पुग्थेँ । चिठीभित्र कसैको माया, कसैको खबर र कसैको जीवन जोडिएको हुन्थ्यो’, उनी भन्छन्, ‘त्यो भरोसा नै हुलाकीको शक्ति  थियो । आज त्यो बाटोमा गाडी गुड्छ । हातमा मोबाइल छ । खबर सेकेन्डमै पुग्छ ।’

चिठी पुर्‍याउँदै जाँदा कतिपय मानिस घरमा भेटिँदैनथे । सुवेदी खेतमा, बारीमा वा घाँस काट्ने ठाउँमै पुग्थे र चिठी बुझाउँथे । सुवेदी भन्छन्, ‘मान्छेहहरू हाम्रै बाटो हेरिरहन्थे । हाम्रो काँधमा ठुलो जिम्मेवारी भएको महसुस हुन्थ्यो ।’ तर, अहिले समयले चिठीलाई विस्थापित गर्‍यो । सडकले पैदल यात्रालाई छोट्यायो । मोबाइलले खबर पुर्‍याउने दूरी मेटायो । 

कैदीबन्दीका प्रेमपत्र बोकियो 

विष्णु सुवेदी

२०५८ सालतिरको कुरा हो । विष्णु सुवेदीले कारागारभित्रका बन्दीका धेरै चिठी बाँडे । बन्दीका आफन्तले पठाएका पत्रदेखि प्रेमिकाले जेलभित्र रहेका प्रेमीलाई लेखेका चिठीसम्म उनको झोलामा हुन्थे । कारागारका जेलर पनि उनीसँग परिचित भइसकेका थिए । चिठी पुर्‍याउँदा कर्मचारी र बन्दीबिच आत्मीय सम्बन्ध बनेको थियो । जेलको झ्यालबाट बन्दीहरू हुलाकीलाई देखेर खुसी हुन्थे । बन्दीहरू भन्थे, ‘हुलाकी दाइ आउनुभयो, हाम्रो चिठी आयो ?’ त्यो आवाज सुवेदी अझै सम्झिन्छन् ।

सुवेदीले प्रेमी–प्रेमिकाका पनि सयौँ चिठी बाँडे । विशेषगरी विद्यालयका विद्यार्थीबिच पत्रमित्रता र प्रेमपत्र आदानप्रदान हुने चलन थियो । हुलाकी आउने समय विद्यार्थीलाई थाहा हुन्थ्यो । कतिपय त गेटमै बसेर प्रतीक्षा गर्थे ।

हुलाकीले डुंगा चढ्न पाउँदैनथे 
हुलाकी राजेन्द्र थापाको अनुभवमा चिठी बोकेर गएपछि बिच बाटोमा वास बस्न पाइँदैनथ्यो । आफ्नो घरनजिकै भए पनि डाँक बोकेर घरमा बस्ने अनुमति थिएन । ‘डाँक लिएर हिँडेपछि सम्बन्धित ठाउँमा नबुझाएसम्म बिचमा वास बस्न पाइँदैनथ्यो’, राजेन्द्र  सम्झिन्छन्, ‘देउरालीमा खुइय गर्ने मात्रै छुट हुन्थ्यो । जिम्मेवारी पूरा गरेर मात्रै फर्किनुपर्थ्यो ।’

हुलाकी आएको देखेपछि बाटो छोड्नुपर्छ भन्ने चलन हुन्थ्यो । चिठी पत्र बोकेर डुंगा तर्न पाइँदैन थियो । राजेन्द्र भन्छन्, ‘खोला तर्न पाइँदैन थियो । एक दिन नै किन नलागोस् झोलुंगे पुल तरेर जानुपर्थ्यो । झोला जोगाउँदै हिँड्नु निकै चुनौतीपूर्ण हुन्थ्यो ।’

चिठी हरायो, आत्मीयता हरायो
मोबाइल आएपछि चिठीको संसार बिस्तारै हराउँदै गयो । श्रीमान् विदेश गएको खबर कुर्नुपर्ने अवस्था रहेन । छोराछोरीको हालखबर फोनमै आउन थाल्यो । प्रेमी–प्रेमिकाबिचका लामो प्रेमपत्र फोनमा खुम्चिए । पत्रमित्रताको चलन पनि हराउँदै गयो । हुलाकी विष्णु सुवेदीका लागि पहिले र अहिलेको हुलाक सेवामा ठुलो अन्तर छ । पहिले चिठीले मानिसको मन पनि बोकेर ल्याउँथ्यो । अहिले सरकारी कागजपत्र मात्रै बोकेर आउँछ ।

कुनै समय नेपालका ग्रामीण क्षेत्रमा हुलाकीहरू गाउँमा चिठी बाँड्न जाँदा झोलाभरि कागज र कलम पनि बोकेर जान्थे । चिठी बाँडेपछि कसैले जवाफ पठाउन खोज्यो भने हुलाकीले गाउँलेले भनेअनुसार उसैको भाकामा चिठी लेखिदिन्थे । यस्तो गर्ने हुलाकीले गाउँमा राम्रै स्वागत सत्कार पाउँथ्यो ।

हुलाकी पवित्र पौडेलले यही जिम्मेवारीमा आफ्नो जीवनका तीन दशक बिताए । उनले २०५१ फागुन १ गतेदेखि हुलाक सेवामा काम थाले । सुरुमा अस्थायी कर्मचारीका रूपमा करिब १४–१५ महिना काम गरे । त्यसपछि स्थायी भए । रामेछापको दुरागाउँ इलाका हुलाकबाट उनको यात्रा सुरु भएको थियो । ‘चिठी आयो भने मानिसहरू खुसी हुन्थे,’ पौडेल भन्छन्, ‘मेरो चिठी आयो, ल्याइदिनुभयो भनेर माया र आदर गर्थे ।’ गाउँघरमा सबै मानिस पढ्न जान्दैनथे । त्यसैले, हुलाकी चिठी बुझाउने मात्र होइन, पढेर सुनाउने पनि गर्थे । पौडेलले बाटोमा हिँड्दै वर्षौं बिताए । हुलाकी गाउँका आफ्नै मान्छेजस्ता थिए । चिठी बोकेर गाउँ पुगेका हुलाकीलाई गाउँलेले आफ्नै परिवारको सदस्यजस्तै व्यवहार गर्थे । कसैले दही खुवाउँथे । कसैले खाजा । घरमा जे हुन्थ्यो, त्यही सत्कार गर्थे । ‘हुलाकी आउँदा गाउँलेले माया र आदर गर्थे,’ पौडेल भन्छन्, ‘आफ्नो घरमा जे छ, त्यही खुवाउँथे ।’ यसरी हुलाकी गाउँका लागि एउटा सन्देशवाहक मात्रै थिएनन्, गाउँलेका दुःखसुखका साक्षी पनि थिए ।

पौडेलको अनुभवमा हुलाकी र गाउँलेबिचको सम्बन्ध केवल सरकारी काममा सीमित थिएन । त्यहाँ आत्मीयताको सम्बन्ध थियो । त्यो वेला गाउँमा हुलाकीलाई अतिथिजस्तै व्यवहार गरिन्थ्यो ।

धागो बाँधिएको चिठी बोक्दा...
हुलाकीको जीवनमा सबै चिठी खुसीका हुँदैनथे । कतिपय चिठी दुःखका पनि हुन्थे । त्यतिवेला दुर्घटना, मृत्यु वा अन्य दुःखद घटनासँग सम्बन्धित चिठी  धागोले बाँधेर पठाउने चलन थियो । त्यस्तो चिठी देख्नेबित्तिकै हुलाकीको मन भारी हुन्थ्यो । कतिपय परिवारमा पढ्ने मान्छे नहुँदा आफैँले पढेर सुनाउनुपर्थ्यो । खबर सुनाउँदा घरमा रुवावासी चल्थ्यो । हुलाकी रामजी खड्का भन्छन्, ‘धागोले बानेको चिठी बोक्नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । तर, बाध्यता थियो बोक्नुपर्ने । त्यस्ता चिठी निकै संयमित भएर लैजानुपर्थ्यो ।’

...अनि विद्रोही र राज्यबाट कुटाइ खाएँ

पवित्र पौडेल

हुलाकीहरूले द्वन्द्वका वेला पनि काम रोकेनन् । विद्रोही र राज्यपक्ष बन्दुक बोकेर लडिरहँदा उनीहरू चिठी बोकेर गाउँगाउँमा पुगिरहे । त्यसवेला उनीहरूलाई राज्य पक्षले भनिरह्यो, तिमीहरू माओवादी हौ । विद्रोही पक्षले भनिरह्यो, तिमीहरू सुराकी हौ । हुलाकी पवित्र पौडेल तितो अनुभव सुनाउँछन्, ‘रामेछापको दुरागाउँमा मलाई पहिले माओवादी भन्दै आर्मीले कुट्यो । त्यसपछि सुराकी भन्दै माओवादीले पनि कुट्यो ।’ हुलाकी रामजी खड्कासँग पनि यस्तै तितो अनुभव छ । उनलाई दुवै पक्षले धम्की दिए ।

आज दृश्य बदलिएको छ । हुलाकको झोला बोकेर लामो दूरी पैदल हिँड्ने दिन लगभग इतिहास भइसके । यातायातका साधन थपिएका छन् । प्रविधिले हुलाक सेवाको स्वरूप नै परिवर्तन गरिदिएको छ । सूचना पठाउन अब हप्तौँ कुर्नुपर्दैन ।  मोबाइलको एउटा कल वा सन्देशले क्षणभरमै संसारको अर्को कुनामा खबर पुर्‍याउँछ । प्रविधिले सहजता थपेसँगै चिठी लेख्ने परम्परा गनै हराउँदै गयो । बाउले छोरालाई, छोराले बाउलाई घरको हालखबर लेखेर पठाउने समय रहेन ।

आज हुलाकको भूमिका फेरिएको छ । अहिले सरकारी कार्यालयका महत्वपूर्ण कागजात, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, स्वास्थ्य सामग्री तथा अन्य आधिकारिक दस्ताबेज हुलाकमार्फत ओहोरदोहोर हुन्छन् । ‘अहिले व्यक्तिले लेख्ने चिठी त जाँदैन । अरू डकुमेन्ट जान्छन्,’ हुलाकी खड्का भन्छन्, ‘अफिसका कागजपत्र जान्छन् ।  स्वास्थ्य मन्त्रालयबाट भ्याक्सिन जान्छ । पासपोर्ट जान्छ । राष्ट्रिय परिचयपत्र पनि जान्छ ।’

हुलाक, चिठी र सामाजिक सम्बन्ध
समयले हुलाकीको बाटो छोट्याएको छ । आज हुलाकीको झोलामा प्रेमपत्र छैन । हुलाक सेवाको स्वरूप बदलियो । लेखक युग पाठक नयाँ पत्रिकामा प्रकाशित ‘प्रेमपत्रको नाममा एक मतपत्र’मा लेख्छन्,  ‘हुलाकी आउँदा गाउँघर र नगरटोलमा चल्ने उत्सुकताको बतास अचेल चल्दैन । रिलवाला क्यामेरा हराएजस्तो स्वाभाविक हो त यो ? चिठीसँग मान्छेको अनुभूतिको दुनियाँ हुन्थ्यो । चिठीका अनेक बान्की हुन्थे र तिनले बोक्ने भावको बेग्लाबेग्लै छनक हुन्थ्यो । पहेँलो धागो बाँधिएको चिठी हुलाकीको झोलाबाटै पीडाको बतास उछाल्दै आउँथ्यो । चिठी हराए र भावका ती डुंगा पनि लोप भए ।’

संस्कृतिविद् प्रा.डा. सोमप्रसाद खतिवडाका अनुसार प्रविधिको विकासअनुसार हुलाक सेवालाई समयसापेक्ष परिमार्जन गर्न नसक्दा त्यसको सान्दर्भिकता घटेको हो । ‘समाज तीव्र गतिमा परिवर्तन भयो । तर, त्यसअनुसार हुलाक सेवा परिवर्तन हुन सकेन,’ उनी भन्छन्, ‘समाज अगाडि बढ्दै गयो, तर हुलाक त्यही गतिमा अघि बढ्न नसक्दा त्यसको प्रयोग घट्दै गयो ।’

चिठी केवल खबरको माध्यम नभएर सम्बन्धको दस्ताबेजसमेत भएको प्रा.डा.खतिवडा बताउँछन् । अनका अनुसार चिठीको परम्परासँग जोडिएको अर्को  महत्वपूर्ण पक्ष भाषा र सम्बोधनको संस्कृति हो । बुबाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई वा आफन्तले आफन्तलाई लेख्ने चिठीमा सम्बन्धअनुसारको सम्मान र आत्मीयता झल्किन्थ्यो । सञ्चारको गति बढेसँगै त्यसमा निहित आत्मीयता, प्रतीक्षा र सम्बन्धको गहिराइ भने कमजोर हुँदै गएको खतिवडाको बुझाइ छ । खतिवडा भन्छन्, ‘हुलाकीले ल्याउने चिठीको महत्व भावनात्मक सम्बन्धमा मात्र सीमित थिएन । ती चिठीपत्र इतिहास, संस्कृति र साहित्य अध्ययनका लागि महत्वपूर्ण दस्ताबेज थिए ।’

See More On

सुझावित समाचार