फिफा विश्वकप २०२६ को फाइनलपछि झगडा गरेको भन्दै फिफा अनुशासन समितिले अर्जेन्टिनाका मिडफिल्डर लिआन्द्रो परेडेजलाई १० खेलको प्रतिबन्ध गरेको छ । १० जुलाईमा अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी रंगशालामा भएको फाइनलमा अर्जेन्टिना स्पेनसँग १–० ले पराजित भएको थियो ।
फाइनलपछि गरेको अनुशासनहीन व्यवहारका कारण अनुशासन समितिको बैठकले परेडेजसँगै अर्जेन्टिनाका चार खेलाडी र एक टिम अफिसियलमाथि जरिवाना तथा प्रतिबन्धको कारबाही गरेको छ । शुक्रबारको बैठकले परेडेजलाई १० खेलको प्रतिबन्धका साथै ९० हजार डलर जरिवाना गरेको छ ।
त्यस्तै, नाहुइल मोलिनालाई सात खेलको प्रतिबन्ध र ९० हजार डलर जरिवाना, थियागो अल्माडा तथा पाब्लो मार्टिन पाइज गाभिरालाई समान एक खेल प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ ।
अर्जेन्टिनाका टिम अफिसियल रोबर्टो अयाला पनि अनुशासन समितिको कारबाहीमा परेका छन् । विपक्षी खेलाडीमाथि हातपातमा उत्रिएका अयालालाई तीन खेलको प्रतिबन्ध र ३० हजार डलर जरिवाना गरिएको छ ।
संघलाई पनि कारबाही
फिफा अनुशासन समितिले अर्जेन्टिनी फुटबल संघलाई पनि कारबाही गरेको छ । विश्वकपका विभिन्न खेल दौरान भएका खेलभावनाविपरीतका क्रियाकलापको सजायस्वरूप अर्जेन्टिनी फुटबल संघलाई तीन लाख २१ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
अर्जेन्टिनी समर्थकले विभिन्न खेल दौरान गरेका रंगभेदी नाराबाजीका कारण अर्जेन्टिनाले आगामी दुई घरेलु खेल ५० प्रतिशत मात्र समर्थकको उपस्थितिमा खेल्नुपर्ने फिफाको अनुशासन समितिले सजाय तोकेको छ ।
यसका साथै अर्जेन्टिनी फुटबल संघ (एफए)ले जरिवानाको तीन लाख २१ हजारमध्ये एक लाख डलर रंगभेदविरुद्धको अभियानमा खर्चिनुपर्नेछ । यस्तै, फिफाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जितपछि मनाएको खुसियालीमा पनि जरिवाना गराएको छ ।
फकल्यान्डविरुद्धको युद्धको विषयमा इंग्ल्यान्डलाई हराएपछि मैदानमा प्रस्तुत गरिएको थियो । यस्तै, झगडामा सामेल भएको भन्दै फिफाले विश्व विजेता स्पेनका मिडफिल्डर गाभीलाई पनि कारबाही गरेको छ । गाभी आगामी एक खेलका लागि निलम्बनमा परेका छन् । त्यस्तै, ३० हजार अमेरिकी डलर जरिवानामा परेका छन् ।