फाउचीमाथिको अनुसन्धान षड्यन्त्र कि आवश्यकता ?

चीनको वुहानस्थित प्रयोगशालामा कोभिड–१९ को भाइरस बनाएर महामारी फैलाउन सघाएको आरोपमा डा. एन्थोनी फाउचीमाथि अमेरिकी संघीय एजेन्सीले अनुसन्धान गरिरहेको छ

सोमबार, २५ साउन, २०८३
डिजिटल संस्करण

पूर्ववरिष्ठ अमेरिकी स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले जुलाई २९, २०२६ मा कोभिड–१९ सम्बन्धी विषयमा सिनेटको सुनुवाइमा भाग लिए । सुनुवाइमा फाउचीले संविधानको पाँचौँ संशोधन उल्लेख गर्दै कयौँ पटक सिनेटरका प्रश्नको जवाफ दिन अस्वीकार गरे । रिपब्लिकन पार्टी नेतृत्वमा भएको उक्त सुनुवाइ मुख्यतः कोभिड महामारीको उत्पत्ति र महामारी व्यवस्थापनमा डा. फाउचीको भूमिकावरपर केन्द्रित थियो । सिनेट सुनुवाइ कोभिड–१९ बारे सन् २०२० मा सुरु भएको राजनीतिक भाष्यको पछिल्लो अध्याय बनेको छ । यो प्रकरण आममानिसको डर, अनिश्चितता र सरकारप्रतिको निराशा र षड्यन्त्र सिद्धान्तसँग जेलिएको छ  ।

विगत ६ वर्षको अवधिमा कोभिडसम्बन्धी कैयाैँ षड्यन्त्र सिद्धान्तपछि रिपब्लिकन पार्टी, ‘मागा’ (मेक अमेरिका ग्रेट अगेन) आन्दोलन, खोपविरोधी अभियानसम्म विस्तार भयो । यो सिद्धान्तले खाली कुनै घटनाको व्याख्या मात्र गर्दैन, बरु निश्चित व्यक्तिलाई खलनायक घोषण गर्छ । डा. फाउची यस कथाका खलनायकमध्ये एक हुन् ।

महामारीपछिका वर्ष र त्यसपछि अमेरिकी सिनेटर र्यान्ड पललगायत अन्य रिपब्लिक नेताहरूले डा. फाउचीमाथि कैयाैँ आरोप लगाइरहे । उनीमाथि चीनको वुहानस्थित प्रयोगशालामा अमेरिकी पैसा खन्याएर कोभिड–१९ को भाइरस बनाएर महामारी फैलाउन सघाएको आरोप छ  । महामारी फैलिएपछि प्रयोगशाला चुहावट प्रकरणलाई दबाउन डा. फाउची पनि सहभागी भएको आरोप छ । रिपब्लिकन नेता पलले त बारम्बार डा. फाउचीमाथि सजाय हुनुपर्ने दाबी गर्दै आएका छन् ।

पब्लिक रिलिजन रिसर्च इन्स्टिच्युटको अनुसन्धानअनुसार कोरोना भाइरसलाई वैज्ञानिकले जानाजान प्रयोगशालामा विकास गरेको ३९ प्रतिशत अमेरिकीको विश्वास छ

जनवरी २०२५ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले कार्यकाल पूरा गर्दै गर्दा दिइने आममाफीअन्तर्गत डा. फाउचीलाई सन् २०१४ देखि उनको सरकारी सेवासँग सम्बन्धित कुनै पनि कामका लागि कारबाही गर्न नपाइने ‘पूर्वमाफी’ प्रदान गरे । फाउचीमथि भविष्यमा राजनीतिक प्रतिशोध साध्न सक्ने चिन्ताका कारण उक्त कदम चालिएको थियो । तर, षड्यन्त्रवादीले पूर्वमाफीलाई सरकार–वैज्ञानिकबिचका खराबी लुकाउने प्रयासका रूपमा लिए । डा. फाउचीले आफैँले स्वास्थ्य अधिकारीका रूपमा सरकारी पदमा रहँदा गलत काम गरेको आरोपको खण्डन गर्दै आएका छन् । उनले यसअघि पनि संसद्मा यस विषयमा धेरैपटक बयान दिइसकेका छन् ।

यद्यपि, डा. फाउचीविरुद्ध गलत हल्ला फैलाउने र्यान्ड पल एक्ला होइनन् । यसमा अन्य रिपब्लिकन सांसदको फराकिलो सञ्जाल छ । तल्लो सदनका रिपब्लिकनले त औपचारिक रूपमा दुई वर्षसम्म यी दाबीमाथि अनुसन्धान गरे । अनुसन्धानमा संलग्न रिपब्लिकन सदस्यले फाउचीलाई प्रयोगशालाबाट भाइरस बाहिरिएको सिद्धान्तलाई दबाएको र जनतालाई भ्रमित गरेको आरोप लगाइरहे ।

लामो खोजपछि हाउस रिपब्लिकनले सुरु गरेको कोभिड–१९ अनुसन्धानले भाइरस सम्भवतः वुहान प्रयोगशालाबाट नै बाहिरिएको निष्कर्ष निकाल्यो । साथै, त्यसले डा. फाउचीले भाइरस प्रयोगशालाबाट बाहिरिएको तथ्य दबाउने कार्यमा मद्दत गरेको दाबी पनि गर्यो । तथापि, यो अनुसन्धान एउटा दलले बनाएको समितिको निष्कर्ष हो, स्वतन्त्र रूपमा गरिएको अनुसन्धान निष्कर्ष होइन । डा. फाउची र डेमोक्य्राटिक सांसदले यस अनुसन्धानको निष्कर्षमाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका छन् ।

पछिल्लो सुनुवाइमा फाउचीले पटक–पटक संविधानको पाँचौँ संशोधन उल्लेख गरे । यो खासमा कांग्रेसमा उनले बोलेका कुनै पनि कुरालाई समाएर सिनेटर उनीमाथि संसद्मा झुट बोलेको मुद्दा चलाइन खोज्ने सम्भावनाबाट बच्ने रणनीति रहेको उनका वकिलले जनाएका छन् । 

अनिश्चिततामाझ हुर्किएको षड्यन्त्रवादी सिद्धान्त
कोभिड–१९ सम्बन्धी कतिपय तथ्य अनिश्चितपूर्ण रह्यो, जसका कारण षड्यन्त्र सिद्धान्त फस्टाउने अवस्था उत्पन्न गर्यो । मानिसहरू महामारीबारे सबै कुरा स्पष्टसँग बुझ्न चाहन्थे । तर, त्यसका लागि समय लाग्ने थियो । जस्तो– वुहानमा भाइरस किन देखा पर्यो ?

मास्कसम्बन्धी जति पनि स्वास्थ्य सिफारिस आउने गर्थे, ती समय–समयमा किन परिवर्तन भइरहेका थिए ? कोभिड–१९ विरुद्धको खोप इतिहासकै छिटो गतिमा कसरी विकास गरियो ? यी प्रश्न जायज थिए । तर, जब आममानिसको प्रश्नहरू पूर्वनिर्धारित निष्कर्षसँग जोडिन थालियो, तब समस्या सुरु भयो । जस्तो– महामारी केही शक्तिशाली व्यक्तिले जानाजान सिर्जना गरेको भन्ने दाबी व्यापक बन्यो । सार्वजनिक धर्मसम्बन्धी अनुसन्धान गर्ने संस्था ‘पब्लिक रिलिजन रिसर्च इन्स्टिच्युट’द्वारा सन् २०२१ मा गरिएको एक सर्वेक्षणले यस सोच कति व्यापक थियो भन्ने कुरामाथि प्रकाश पार्छ । 

पब्लिक रिलिजन रिसर्च इन्स्टिच्युटको अनुसन्धान अनुसार कोरोना भाइरसलाई वैज्ञानिकले जानाजान प्रयोगशालामा विकास गरेको ३९ प्रतिशत अमेरिकीको विश्वास छ । सोही सर्वेक्षणमा विशेष एलिटविरोधी र विशेषज्ञविरोधी सोच भएका मानिसले ‘कोरोना भाइरससम्बन्धी षड्यन्त्र सिद्धान्त’ स्वीकार गर्ने सम्भावना बढी भएको पाइयो ।

षड्यन्त्र सिद्धान्त एक–अर्कासँग सम्बन्धितसमेत हुन्छन् । उदाहरणका लागि, सार्वजनिक स्वास्थ्य अधिकारीले रोगबारे कैयौँ जानकारी लुकाइरहेको भन्ने विश्वास गर्ने व्यक्तिले खोपहरूले गम्भीर असर गर्ने दाबी स्विकार्ने सम्भावना बढी भएको पाइयो । औषधि कम्पनीलाई अविश्वास गर्ने व्यक्तिहरूले महामारीलाई जानाजान नाफा बढाउने उद्देश्यले फैलाइएको धारणा सही ठानेको पाइयो । 

महामारीको समयमा फाउची काम तथा जिम्मेवारीका हिसाबले पनि अत्यधिक देखिने अधिकारी थिए । राष्ट्रपतिलाई सल्लाह दिने र उनी महामारी नियन्त्रण गर्ने सरकारी प्रयाससँग सम्बन्धित भएकाले फाउची नियमित टेलिभिजनमा देखा गर्थे । त्यसैले, केही रिपब्लिकन र मागा अभियन्तादेखि सरकार तथा वैज्ञानिक संस्थालाई अविश्वास गर्नेहरूका लागि उनी लकडाउन, मास्क, खोप र सरकारी जनादेशको प्रतिनिधित्व गर्ने अनुहार बने । त्यसैले पनि फाउचीसम्बन्धी अनलाइन समुदायमाझ धेरै षड्यन्त्रवादी दाबी बनाइए । ती दाबीलाई परिचित राजनीतिक व्यक्तित्वले दोहो¥याए । धेरैपटक उही कुरा दोहोरिँदा असम्भव लाग्ने दाबीसमेत झन्झन् परिचित महसुस हुन थाल्यो । 

प्रयोगशालाबाट भाइरस बाहिरिएको विषय षड्यन्त्रवादी होइन 
कोरोना महामारीको कारण रहेको ‘सार्स–सिओभी–२’ जनावरबाट मानिसमा सरेको हो या प्रयोगशालाबाट बाहिरिएको भन्ने प्रश्न र अनुसन्धान आफँैमा षड्यन्त्र सिद्धान्त होइन । वैज्ञानिक समुदाय र सरकारसँग महामारी उत्पत्ति कुन स्रोतबाट भयो भन्ने अनुसन्धान गर्ने वैध कारण छन् । यद्यपि, प्रयोगशालाबाट दुर्घटनावश बाहिरिएको कुराबारे अनुसन्धान गर्नु र वैज्ञानिकले जानाजान महामारी फैलाउन भाइरस बनाएको भन्ने दाबीबिच ठुलो भिन्नता छ । डा. फाउची र जुलाई २९ मा भएको सिनेट सुनुवाइमा उठाइएका प्रश्नमा ध्यान दिनुअघि त्यो भिन्नता बुझ्नु महत्वपूर्ण हुन्छ । 

कुनै सानो अनलाइन समुदायमा सुरु भएको षड्यन्त्र सिद्धान्त सामाजिक सञ्जालमार्फत राजनीतिक हतियार बन्न सक्ने गरी फैलिन सक्छ । फाउची सुनुवाइले त्यो प्रक्रियाको चरम सीमा देखाउँछ । अर्थात्, सानो समूहबाट सुरु भएको यो दाबीलाई अहिले सरकारी संयन्त्रले ग्रहण गरेको छ, जहाँ निर्वाचित अधिकारी र संघीय एजेन्सीसमेत यिनै दाबीमा टेकर अनुसन्धान गरिरहेका छन् । षड्यन्त्र सिद्धान्तलाई उच्च संस्थागत अधिकार भएको व्यक्तिले दोहोर्याइरहे त्यसको विश्वसनीयता बढ्न सक्छ । यस सन्दर्भमा फाउची सुनुवाइसँग जोडिएर उठ्ने सबैभन्दा महत्वपूर्ण प्रश्न हुन सक्छ– जब षड्यन्त्र सिद्धान्तले सरकारी मान्यता प्राप्त गर्छ, तब के हुन्छ ? 
कन्भर्सेसनबाट

सुझावित समाचार