- फिफाको निलम्बनपछि फुटबलको भविष्य अन्योलमा परेको जनाउँदै नेपाल फुटबल खेलाडी संघ (एनएफपिए) ले राष्ट्रिय टोलीका खेलाडीको दुई मिनेट सात सेकेन्डको सामूहिक भिडियो सन्देश सार्वजनिक गरेको छ
गत महिना अमेरिकामा फिफा विश्वकप फुटबल प्रतियोगिता चलिरहँदा नेपाल अनिश्चितकालका लागि निलम्बनमा पर्यो । फिफाको निलम्बनमा परेको दुई महिनासम्म सम्बन्धित निकायदेखि खेलाडीसम्म चुप लागेर बसेका थिए । गत शनिबार १५औँ संस्करणको दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)को ‘ड्र’ मा नेपाल समावेश भएन । दक्षिण एसियाली फुटबल महासंघले निलम्बन फुकुवा हुँदा नेपाललाई प्रतियोगितामा सहभागी गराइने जनाएको छ । योसँगै अहिले निलम्बनको सम्बन्धमा धमाधम आ–आफ्नो प्रतिक्रिया सोसल मिडियाबाट सार्वजनिक भइरहेको छ ।
निलम्बनमा फुकुवा हुनुपर्ने र सम्बन्धित निकाय गम्भीरतापूर्वक लाग्नुपर्ने भनी प्रत्येक दिनजसो सोसल मिडियामा आ–आफ्नो भनाइ सार्वजनिक भएको देखिन्छ । यसमा खेलाडी, पूर्वकप्तान र प्रशिक्षकहरूले समस्या समाधान निमित्त सम्बद्ध निकायलाई सामाजिक सञ्जालमार्फत गुहारेका हुन् । यो अभियान गत आइतबार सुरु भएको थियो । यसमा मनीष डाँगीले पहिलो कमेन्ट्स राखेका थिए । त्यसलगत्तै कप्तान किरणकुमार लिम्बूले पनि फिफाको निलम्बन हटाउन आग्रह गरेका थिए । लिम्बूले यसअघि एन्फाको कुनै पनि निर्णय वा अन्य गतिविधिबारे प्रतिक्रिया दिने गरेका थिएनन् । तर, डाँगीको भनाइ सार्वजनिक भएपछि उनले अभिव्यक्ति दिएका हुन् ।
उनीपछि पूर्वकप्तान हरि खड्कासमेत प्रधानमन्त्रीलाई सम्बोधन गरी तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । राष्ट्रिय खेलाडीदेखि पूर्वकप्तानबाट सुरु भएको लहर अहिले व्यापक बनेको छ । मंगलबार नेपाली फुटबलको भविष्य अन्योलमा परेको जनाउँदै नेपाल फुटबल खेलाडी संघ (एनएफपिए)ले राष्ट्रिय टोलीका खेलाडीको सामूहिक भिडियो सन्देश सार्वजनिक गरेको छ । भिडियो सन्देशमा फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन तत्काल पहल गर्न अपिल गरिएको छ ।
सो भिडियो कन्टेन्टमा राष्ट्रिय टोलीका लगभग एक दर्जनभन्दा बढी खेलाडीले वर्तमान फुटबलको अवस्थाप्रति गम्भीर चिन्ता देखाएका छन् । कतारमा रिह्याब गरिरहेकी महिला टोलीकी कप्तान सावित्रा भण्डारीले घरेलु शीर्ष डिभिजन लिगको अभावमा खेलाडी प्रभावित भएको बताइन् । लगभग दुई मिनेट सात सेकेन्डको भिडियोमा राष्ट्रिय टोलीका सनिश श्रेष्ठले अन्तिममा आफ्नो प्रतिक्रिया दिएका थिए । उनले फुटबल खेल्न वातावरण बचाइराख्न जनाए ।
१४ असोजसम्म फुकुवा हुँदा साफ खेल्न पाउने
फिफाले गत ११ असारमा फिफाले तेस्रो पक्षको हस्तक्षेप गरेको भनी नेपाललाई निलम्बन गरेको थियो । फिफाको निलम्बनसँगै फुकुवा नभएसम्म नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँदैन । समयमै निलम्बन फुकुवा नहुँदा नेपाली फुटबलरका लागि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रहेको साफ च्याम्पियनसिप खेलाडीले गुमाउनेछन् ।
दक्षिण एसियाली फुटबल महासंघले आगामी १४ असोजसम्म फिफाको निलम्बनबाट फुकुवा हुँदा नेपाल आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेको समूह ‘ए’मा रहनेछ । यो समयअगाडि फुकुवा नहुँदा इतिहासमै पहिलोपटक नेपाल साफ च्याम्पियनसिप खेल्नबाट वन्चित हुनेछ । भिडियोमा खेलाडीले फुटबलको वर्तमान संकट समाधानका लागि सम्बन्धित निकायले तत्काल समन्वय गर्नुपर्ने माग राखेका छन् ।
‘अहिले नेपालको फुटबल ठुलो दुर्घटनातर्फ अग्रसर भइरहेको छ । खेलाडीको भविष्य सुनिश्चित गराउन फिफाको निलम्बन फुकुवा गर्न वातावरण बनाउन आग्रह छ,’ खेलाडीहरूले भनेका छन्, ‘आफूहरू क्लब र देशका लागि उच्चस्तरीय फुटबल खेल्दै नेपालको नाम उज्यालो बनाउनुपर्ने अवस्थामा थियौँ । आज हामी आफ्ना बेवास्ता गरिएका आवाज सुनाउन बाध्य भएका छौँ ।’ अन्तर्राष्ट्रिय फुटलब प्रतियोगिता गुमाउने सम्भावना बढेपछि महिला टोलीकी सदस्य प्रीति राईले नेपाली फुटबल पूरै प्यारालाइज्ड भएको प्रतिक्रिया दिएकी छिन् । ‘फिफाको निलम्बन लगभग दुई महिना हुन लागेको छ ।
नेपाली फुटबल पूर्ण रूपमा प्यारालाइज्ड भएको छ,’ उनले भनिन् । यसैगरी, पुरुष टोलीका एट्याकिङ खेलाडी रोहित चन्दले फिफादेखि सरकारसम्म निलम्बन हटाउन आग्रह गरेका छन् । ‘हामीले सिधै फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद् र नेपाल सरकारलाई आग्रह गरेका छौँ,’ चन्दले लेखेका छन् ।
यसैगरी, महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले साफ च्याम्पियनसिपलाई विश्वकपसरह भएको बताएका छन् । उनी भन्छन्, ‘हाम्रा लागि साफ च्याम्पियनसिप विश्वकपसरह हो ।
निलम्बनका कारण यति ठूलो प्रतियोगिता नै गुम्न सक्ने अधवस्था आउनु निकै दुःखद हो । अन्य प्रतियोगिता पनि गुमाइरहँदा यसको प्रत्यक्ष असर, खेलाडी, प्रशिक्षक, रेफ्री, कर्मचारीलगायतमा परिरहेको छ ।’ एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले निलम्बन हटाउने नै अहिलेको पहिलो प्राथमिकता भएको बताए ।
यू–१७ र यू–२० अन्योलमा
फिफाको निलम्बनसँगै नेपालले आगामी दिनमा आउने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गुमाउने पक्का छ । यसको पछिल्लो उदाहरण १५औँ संस्करणको साफ च्याम्पियनसिप हो । यसअघि नै नेपालले एएफसी यू–१७ महिला एसियनकप र एएफसी यू–२० एसियनकप छनोट गुमाइसकेको छ । यसका साथै नेपाल एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग पनि खेल्न नपाउने भएको छ ।
फिफासँग निरन्तर संवाद : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग संवाद भइरहेको बताएका छन् । मन्त्री पोखरेलले आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको बताएका हुन् । ‘झट्ट हेर्दा सरकारले केही गरेको छैनजस्तो पनि लाग्न सक्छ, म मन्त्री भएको हैसियतले फिफासँग निरन्तर कुरा भइरहेको छ । हामी एउटा बाटोतर्फ जाँदै छौँ’ उनले भने ‘अब हुन लागेको साफ च्याम्पियनसिप फुटबलमा नेपालको सहभागी हुने किसिमले कुराकानी भइरहेको छ ।’
मन्त्री पोखरेलले अब आउने एन्फाको नेतृत्वमा खेलाडी वा फुटबल बुझेको व्यक्ति हुनुपर्ने बताए । ‘अब बन्ने एन्फा अध्यक्ष खेलाडी वा फुटबललाई राम्रोसँग बुझेको हुनेछन्,’ उनले भने । यसैबिच सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पूरा गरेको पनि बताए । ‘अघिल्लो सरकारबाट पुरस्कार घोषणा भएको लामो समयसम्म रकमको व्यवस्था हुँदैनथ्यो । हामी आएको चार महिना भयो । हामीले खेलाडीलाई १० करोडको नगद पुरस्कार घोषणा गरेका छौँ,’ उनले भने । २०औँ एसियाली खेलकुद प्रतियोगितामा जाने खेलाडीहरूका लागि यसपटक केही अतिरिक्त खर्चसमेत दिएर पठाउने व्यवस्था गरेको उनको भनाइ छ ।