- आमनागरिक, शासक, प्रशासक, राजनीतिक दलका नेता, कार्यकर्तालगायत सबैमा नागरिक कर्तव्यको बोध गराउन नागरिक शिक्षा अपरिहार्य छ
नागरिक चेतना र शिक्षा एक–अर्कासँग अन्योन्याश्रित छन् । देश विकाससँग जोडिएको नागरिक चेतनाको शिक्षाले नै जीवनको आधारभूत जानकारी दिलाउने काम गर्छ । जहाँ समृद्धिको सपनासँगै जोडिएको आयआर्जन रोजगारी, प्रतिव्यक्ति आम्दानी, राष्ट्रिय आम्दानी, व्यापार घाटा, आयात र निर्यातलगायत विषयबारे चेतना जगाउने व्यावहारिक शिक्षाको खाँचो हुन्छ ।
हाम्रो जस्तो मुलुकमा नागरिक शिक्षाका रूपमा निर्वाचनको समयमा मतदाता शिक्षा मात्र दिने गरिन्छ । तर, त्यसलाई सीमित अर्थमा मात्र अर्थ्याइन्छ । नागरिक शिक्षालाई हरेक नागरिकसम्म कसरी पुर्याउने र यसको जिम्मेवारी कसले लिने भन्ने सवाल पनि उठ्छ । यसलाई औपचारिक माध्यमबाट हाम्रा शिक्षालाई विद्यार्थीमाझ पुर्याउनुपर्छ । यसमा अनौपचारिक रूपमा पनि हाम्रो समाज समुदाय, परिवार, व्यक्ति, विभिन्न मिडिया आदिको पनि महत्वपूर्ण भूमिका रहन्छ । विद्यालय शिक्षाको पाठ्यक्रममा नागरिक शिक्षासम्बद्ध केही पाठ्यसामग्री राखिएका भए पनि ती केवल जानकारी तहमा मात्र सीमित छन् ।
हाम्रा केटाकेटीले सामाजिक शिक्षाको महत्व अझै बुझ्न सकिरहेका छैनन् । सामाजिक अध्ययनमा मानव मूल्यसम्बन्धी ज्ञानका साथै राष्ट्रको माया, सम्मान, राष्ट्रियताको जगेर्ना, राष्ट्रिय सम्पदाको संरक्षण, मानव अधिकार, कर्तव्य र नागरिक अधिकारबारे बहुज्ञान समावेश गरिएको छ । तर, यिनलाई व्यावहारिक रूपमा कसरी प्रयोग हुनुपर्छ भन्ने यथार्थ सिप बाँड्न सकिरहेको अवस्था देखिँदैन । परिणामतः असल नागरिक भावनाको विकास खुम्चिएको छ ।
आफ्ना समाजभित्रकै परिवेशबाट थुप्रै कुरा केटाकेटीले सिक्न सक्छन् । आफ्नो घर र समाजले प्रदर्शन गर्ने व्यवहार नै तिनका लागि अनुकरणीय हुन सक्छ । त्यहीँबाट असल व्यवहार र नैतिक शिक्षाको पाठ सिक्छन् । विद्यार्थीले कक्षाकोठामा शिक्षकबाट सिकेका सैद्धान्तिक कुराबाट मात्रै नैतिक आचारण सिक्ने होइनन्, यो त समाजका हरेक व्यवहारबाट सहजै ग्रहण गरिने विषय मान्नुपर्छ । उदाहरणका लागि गत वर्षको जेन–जी प्रदर्शनबाट पनि बुझ्न सकिन्छ । हाम्रा राजनीतिक दल र नेताबाट गरिएका व्यवहार र क्रियाकलापबाट प्रदर्शित घटना हो यो । राजनीतिक नेतृत्व र सरकारका गलत कामको परिणामबाट उब्जिएको आन्दोलनले तोडफोड र आगजनी भयो । अग्रणीबाट भएका कमी–कमजोरीको परिणाम कतिसम्म विस्फोटक हुन सक्छ भन्ने पाठ सबैले सिक्नुपर्छ । अबका दिनमा सबै पक्ष सुध्रिएर भविष्यमा यस्ता दुःखद घटना हुन नदिन आवश्यक सामग्री नागरिक शिक्षाका पाठमा समावेश हुनु जरुरी छ ।
हाम्रा लोकतान्त्रिक दल सुध्रिन सकेनन् । लोकतन्त्रको मूल्य पद्धति र संस्कृतिमा स्खलन हुँदै आयो । यसखाले प्रवृत्तिको घनत्व विगतमा भन्दा निकै बढेको अनुभव हुन थाल्यो । परिणामतः जेन–जी आन्दोलनको राँको बल्यो । केवल सुशासनको माग राख्दै जेन–जी समूहको प्रदर्शनबाट सुरु भएको घटनाले देशमा उथलपुथल ल्यायो । सो घटनामा देशका होनहार कलिला निहत्था केटाकेटीको राज्यको गोलीबाट ज्यान गयो । कैयौँ घाइते भए । राष्ट्रका महत्वपूर्ण निकायका कार्यालय भवन, महत्वपूर्ण कागजपत्र ध्वस्त भए ।
ठुला दूई राजनीतिक दलका गठबन्धनबाट बनेको झन्डै दुईतिहाइको सरकारको अदूरदर्शी क्रियाकलापको परिणामले तत्कालीन सरकार ढल्यो । साथै, संसद् विघटन गरी बनेको नयाँ सरकारले गत २१ फागुनमा सकुशल निर्वाचन सम्पन्न गर्यो । सो आन्दोलनमा यत्रो दुःखद घटना कसरी भयो ? केका लागि भयो यत्रो नरसंहार ? यस्ता प्रश्नको जवाफ समयले मागिरहेको छ ? यत्रो विध्वंसकारी घटना घटाउने दोषीमाथि कारबाही हुन ढिलाइ हुनुहुँदैन । यत्रा ठुला आगजनी र विध्वंस कार्य जेन–जीका कलिला हातबाट हुनै सक्दैन । सरकारको अत्याचारविरुद्ध यस्ता ठुला विध्वंस भविष्यमा समेत हुन सक्छ । तर, यस्ता कार्य असल नागरिकबाट हुन सक्दैन । अझ ती कलिला हातबाट त कल्पनै हुन सक्दैन । संघटनामा संलग्न जोसुकै हुने, तिनमा नागरिक शिक्षाको अभाव भएको भने अवश्य ठहर्छ ।
जेन–जी आन्दोलनको २४ घण्टाभित्र तत्कालीन सरकार ढल्यो र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार गठन भयो । नेपाली राजनीतिमा ठुलो परिवर्तन आयो । जेन–जी आन्दोलनको सफलतासँगै ठुला राजनीतिक दलको सत्ता ढल्यो । उनीहरू २१ फागुनको निर्वाचनमा आमजनताको मतबाट पनि ढले । अब यी दल कसरी उठ्ने हुन् ? यिनको भूमिका कस्तो रहने हो ? यसै भन्न सकिन्न ।
२१ फागुनको निर्वाचनपछि नयाँ पुस्ताको हातमा देशको बागडोर आएको छ । राजनीतिक दलमा पुराना नेताप्रति आमवितृष्णाभाव छ । उनीहरू चुनावमा पराजित पनि भए । देशको राजनीतिक उथलपुथलले जन्माएको सरकार कतिको सफल साबित हुने हो ? विनाराजनीतिक रोडम्यापको परिदृश्यले आगामी दिनमा संक्रमणकालीन जटिलता थपिने त होइन भन्ने आशंका पनि देखिन्छ । दलतन्त्रको आक्रोशमा जेन–जीले ल्याएको राजनीतिक परिवर्तनलाई सेफ ल्यान्डिङ गराउन सबै राजनीतिक दलका नयाँ पुस्ता र जेन–जी अभियन्ताबिच संवाद र सहकार्य गरी देशलाई दिशानिर्देश गर्नु जरुरी छ ।
लोकतन्त्रको आधारशिला भनेकै आमचुनाव हो । यसमा सबै राजनीतिक दल र नागरिकको उत्साहपूर्ण सहभागिता हुनुपर्छ । चुनावबाट खरो उत्रिएर आएका जनप्रतिनिधिबाट राष्ट्रिय राजनीतिको दिशा निर्धारण गरी देशको शासन, प्रशासन, विकास निर्माण र समुन्नतिको मार्गसमेत कोरिनुपर्छ । २०७२ को संविधानअनुसार सरकार निर्माण निर्वाचित संसद्बाटै हुने हो । यसर्थ, गत चुनावमा नयाँ युवा मतदाताको संख्या बढ्ने नै भयो । यसले जेन–जीको आकांक्षा र सपनालाई नयाँ राजनीतिक मार्ग डोर्याउन मद्दत गर्यो । पुरानो प्रवृत्ति, बेथिति र भ्रष्टाचार अन्त्यका लागि युवा पुस्तामा आमजनताले नेतृत्व जारी गरेको हो । देशका कर्णधार भनिएका युवाका आक्रोश र तुस क्रमैसँग हट्नु जरुरी छ । अब शान्त वातावरणमा देश विकासमा होमिनु नै अबको सुरक्षित मार्ग हुन सक्छ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै नागरिक स्वतन्त्रता हो । हिंसा, ध्वंस तथा सार्वजनिक सम्पत्ति र व्यक्तिगत सम्पत्तिको क्षति हुनुहुँदैन । यस्ता घटना सभ्य र असल नागरिकबाट हुन सक्दैन पनि । यस्ता दुर्भाग्यपूर्ण घटनाप्रति वितृष्णा जगाउने नागरिक चेतना शिक्षाबाट आउने हो । आमनागरिक, राजनीतिक दललगायत सबैमा नागरिक कर्तव्यको बोध गराउने शिक्षा नागरिक शिक्षाले नै हो । नागरिक चेतनासँगै जोडिएको विषय शिक्षा प्राप्तिपछि रोजगारी, आय आर्जन र समृद्धितर्फ उन्मुख हुन सहज हुन्छ । जब देशमा भ्रष्टाचार, अनियमितता, दण्डहीनता र विभेद मौलाउँछन्, अनि स्वतः विद्रोह जन्मन्छ ।
नागरिक अधिकार र कर्तव्यबोधसँगै विवेकपूर्ण मताधिकार प्रयोगका लागि सबल नागरिक तयार हुन प्रभावकारी नागरिक चेतना जरुरी छ । यसका लागि औपचारिक शिक्षाका साथै अनौपचारिक माध्यमबाट राज्यका हरेक निकायले नागरिक शिक्षा प्रवाह गर्नु जरुरी छ । नागरिक शिक्षालाई प्रभावकारी बनाउन विद्यालय, घर, परिवार, समाज, सञ्चार माध्यमलगायत सबैको भूमिका आवश्यक छ । नागरिक शिक्षाले नै अधिकार र कर्तव्यको पाठ पढाउँदै सरकारका प्रत्येक अंग र कार्यबारे यथोचित ज्ञान दिलाउँछ । जेन–जी पुस्ताका लागि नागरिक शिक्षा झनै आवश्यक देखिन्छ ।
हरेक नागरिकको सार्वजनिक व्यवहार एवं प्रवृत्तिका आधारमा नागरिक चेतनाको स्तर मापन गर्न सकिन्छ । यस्ता व्यवहार प्रवृत्तिमा कमजोर भेटिएमा त्यस्ता नागरिकको स्तर कमजोर छ भनेर सहजै अनुमान गर्न सकिन्छ । बसपार्कमा बस चढ्न पंक्तिबद्ध भई धैर्य गर्ने विषय होस्, प्लेन टिकट काट्ने लाममा बस्दा होस्, मन्दिरमा दर्शन गर्न जाँदा होस्, अधैर्य भई लाम मिच्ने र लाम मिच्नुलाई बहादुरी ठान्ने नागरिक चेतनशील र सभ्य कहलिँदैन । त्यस्तै हाम्रा जेन–जी युवाको आन्दोलनमा घुसपैठ गरेर उत्तेजक बनाउने, २४ भदौमा देशैभर आगजनी गरेर विध्वंस मच्चाउने व्यक्तिलाई पनि सभ्य र चेतनशील मान्न सकिँदैन । त्यस्तै जेन–जी आन्दोलनमा गोली बर्साएर कलिला केटाकेटीको निर्मम हत्या गर्नु त नागरिक शिक्षाको अभाव मात्र नभई गम्भीर आपराधिक कृत्य पनि हो ।
यसरी ठुलो पदमा पुगेका समाजका अगुवा नै चेतनाहीन तथा कर्तव्यच्युत हुनु भनेको उनीहरूमा नागरिक शिक्षाको कमी हुनु हो । व्यक्तिमा असल आचरण विकास गराउन, धैर्य, सद्भाव र सहिष्णुता जगाउन सके मात्र तिनका व्यवहारमा कुशलता देखिने र सुशासनमा बल पुग्ने आशा गर्न सकिन्छ । अहिलेको सरकारले हरनागरिकमा चेतना विकास गरी सभ्य नागरिक समाज निर्माणका लागि नागरिक शिक्षाको विकास, विस्तार र पठनपाठनमा जोड दिनु आवश्यक छ ।
(गौतम शिक्षाविद् हुन्)