मोदीको शिरमा कक्रोच–जेन–जी आन्दोलनको सफलता

भारत सरकारले कक्रोच–जेन–जी आन्दोलनलाई राजनीतिक शत्रुका रूपमा नभई नागरिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा ग्रहण गरेर बुद्धि पुर्‍यायो

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

विश्व राजनीतिमा पछिल्ला केही वर्षयता एउटा नयाँ शक्ति तीव्र रूपमा उदाएको छ, जेन–जी पुस्ताको आन्दोलन । यो पुस्ताले परम्परागत राजनीतिक दल, स्थापित नेतृत्व र पुराना आन्दोलनका शैलीभन्दा फरक बाटो रोजेको छ । सामाजिक सञ्जाल, डिजिटल नेटवर्क, खुला सूचना र तत्काल जनमत निर्माणको क्षमताका कारण जेन–जी आन्दोलनले विश्वका धेरै लोकतान्त्रिक मुलुकमा शासन प्रणालीमाथि अभूतपूर्व दबाब सिर्जना गरेको छ ।

बंगलादेश, केन्या, श्रीलंका, सर्बिया, जर्जिया, थाइल्यान्ड, चिली र इन्डोनेसियाजस्ता देशमा युवाको आन्दोलनले सरकारलाई नीतिगत परिवर्तन गर्न बाध्य बनाएको छ । यही विश्वव्यापी प्रवृत्तिको पछिल्लो कडीका रूपमा भारतमा देखिएको कक्रोच–जेन–जी आन्दोलनलाई लिन सकिन्छ ।

भारतमा परीक्षा प्रणालीको अनियमितता, पेपर लिक, युवामा बढ्दो बेरोजगारी, अवसरको असमान वितरण, अभिव्यक्ति स्वतन्त्रतामाथिको दबाब तथा राज्य प्रणालीप्रतिको असन्तुष्टिबाट जन्मिएको यो आन्दोलन कुनै एउटा राजनीतिक दलको आन्दोलन थिएन । यसको केन्द्रमा सामाजिक सञ्जालबाट संगठित भएका लाखौँ युवा थिए । उनीहरूको माग सरकार ढाल्नु थिएन, राज्य प्रणालीलाई सुधार्नु थियो । यहीकारण आन्दोलनले लोकतान्त्रिक चरित्र कायम राख्यो र अन्ततः सरकारले पनि त्यसलाई राजनीतिक शत्रुका रूपमा नभई नागरिक असन्तुष्टिको अभिव्यक्तिका रूपमा ग्रहण गर्यो ।

आन्दोलनका क्रममा शिक्षा प्रणालीमाथि व्यापक प्रश्न उठे । सरकारमाथि नैतिक दबाब बढ्दै गयो । अन्ततः शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिए र नयाँ शिक्षामन्त्रीको रूपमा प्रह्लाद जोशीलाई नियुक्ति गरियो । यस घटनालाई धेरैले सामान्य मन्त्री परिवर्तनका रूपमा हेरे पनि यसको राजनीतिक अर्थ निकै गहिरो छ । लोकतन्त्रमा सरकार गल्ती स्विकारेर सुधारको बाटोमा हिँड्न सक्छ भन्ने सन्देश पछिल्लो समय भारतले दिएको छ । सरकार केही कदम पछाडि हट्नु भनेको राज्य कमजोर हुनु होइन, बरु लोकतान्त्रिक प्रणाली अझ बलियो हुनु हो ।

सरकार केही कदम पछाडि हट्नु भनेको राज्य कमजोर हुनु होइन, बरु लोकतान्त्रिक प्रणाली अझ बलियो हुनु हो भन्ने पाठ भारतीय आन्दोलनबाट विश्वले सिक्न जरुरी छ ।

विश्वका धेरै मुलुकमा आन्दोलनको अन्त्य हिंसामा भएको उदाहरण प्रशस्त छन् । कतै गोली चल्यो, कतै सयौँ मानिस मारिए, कतै सरकार नै ढल्यो । बंगलादेशमा विद्यार्थी आन्दोलनले प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनायो । श्रीलंकाको ‘अरगलय’ आन्दोलनले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई पलायन हुन बाध्य पार्यो । केन्यामा कर

वृद्धिविरुद्धको आन्दोलनपछि सरकारले वित्त विधेयक नै फिर्ता लिनुपर्यो । यी सबै आन्दोलनले शासनलाई चुनौती दिए । तर, त्यहाँ ठुलो मानवीय क्षति पनि भयो । भारतको अनुभव भने केही फरक देखियो । लामो समयसम्म आन्दोलन चल्दा पनि राज्य र आन्दोलनकारीबिच संवादको सम्भावना जीवित रह्यो । आन्दोलनमा केही घाइते भए, तनाव सिर्जना भयो, तर ठुलो रक्तपात भएन । यसले संसारभर एउटा महत्वपूर्ण लोकतान्त्रिक सन्देश दिएको छ– जनताको आवाजलाई समयमै सुनियो भने आन्दोलन विद्रोहमा रूपान्तरण हुँदैन ।

आजको जेन–जी पुस्ता अघिल्ला पुस्ताभन्दा फरक छ । उनीहरू सूचना प्रविधिमा आधारित छन् । कुनै एउटा नेताको भाषणभन्दा तथ्य, भिडियो, प्रत्यक्ष सूचना र सामाजिक सञ्जालको बहसले उनीहरूको धारणा निर्माण गर्छ । उनीहरू जात, धर्म, भाषा वा क्षेत्रभन्दा अवसर, रोजगारी, शिक्षा, पारदर्शिता र जवाफदेहिताको प्रश्नमा बढी एकताबद्ध हुन्छन् । त्यसैले आजको आन्दोलन पनि परम्परागत राजनीतिक भाषाभन्दा फरक देखिन्छ । संयुक्त राष्ट्रसंघका तथ्यांकअनुसार भारतको करिब ६५ प्रतिशत जनसंख्या ३५ वर्षभन्दा कम उमेरको छ । १८ देखि २९ वर्ष उमेर समूहका मात्रै ३५ करोडभन्दा बढी युवा छन् । यति ठूलो युवा जनसंख्या भएको देशमा उनीहरूका आकांक्षा र असन्तुष्टिलाई बेवास्ता गरेर कुनै पनि सरकारले दीर्घकालीन राजनीतिक स्थिरता कायम राख्न सक्दैन । कक्रोच–जेन–जी आन्दोलनले यही वास्तविकतालाई उजागर गरिदियो ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बन्दा विकास, सुशासन, रोजगारी र नयाँ भारतको नाराले अभूतपूर्व जनसमर्थन प्राप्त गरेका थिए । मोदीले लगातार दुई कार्यकालसम्म बलियो जनादेश पाए । तर, समय क्रमसँगै जनताको अपेक्षा पनि बदलिँदै गयो । आजको युवा केवल राष्ट्रवादको भाषण सुन्न चाहँदैन, उसले रोजगारी, निष्पक्ष परीक्षा, समान अवसर, गुणस्तरीय शिक्षा र उत्तरदायी शासन खोज्छ । यही परिवर्तनलाई समयमै नबुझ्दा सरकारमाथि दबाब बढ्यो । २०२४ को लोकसभा निर्वाचनले पनि भारतीय राजनीतिमा नयाँ संकेत दियो । भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठुलो दल भए पनि एक्लै स्पष्ट बहुमत ल्याउन सकेन । गठबन्धनको सहारामा सरकार गठन गर्नुप¥यो । यसले मतदाताको मनोविज्ञान परिवर्तन भइरहेको स्पष्ट संकेत दिएको छ । जनताले सरकार परिवर्तन नगरे पनि शासनशैली परिवर्तन गर्न चाहेको सन्देश दिएका छन् ।

यही परिवर्तित राजनीतिक वातावरणमा कक्रोच–जेन–जी आन्दोलन उदायो । आन्दोलनको मूल शक्ति सडकभन्दा बढी डिजिटल संसार थियो । सामाजिक सञ्जालमार्फत लाखौँ युवाले एउटै मुद्दामा ऐक्यबद्धता जनाए । सूचना केही सेकेन्डमै देशभर फैलियो । यही डिजिटल एकताले आन्दोलनलाई राष्ट्रिय स्वरूप दियो ।

अब आन्दोलनको नेतृत्व केवल राजनीतिक दलका कार्यालयबाट होइन, मोबाइल फोनको स्क्रिनबाट पनि हुन सक्छ भन्ने तथ्य भारतले देखायो । तर, आन्दोलनको सफलतामा सरकारको भूमिकालाई पनि नकार्न मिल्दैन । यदि सरकारले आन्दोलनलाई सुरक्षा समस्याका रूपमा मात्र हेरेर कठोर दमनको बाटो रोजेको भए परिस्थिति अर्कै हुन सक्थ्यो । आन्दोलन चर्किन्थ्यो, जनधनको क्षति बढ्थ्यो र राजनीतिक संकट गहिरिन्थ्यो । त्यसको सट्टा सरकारले अन्ततः सुधारको संकेत दियो । यही निर्णयले सम्भावित ठुलो राजनीतिक संकटलाई नियन्त्रण गर्यो ।

नेपालका लागि पनि यस आन्दोलनमा गम्भीर पाठ लुकेको छ । नेपालमा विगतका अधिकांश आन्दोलनमा राज्य र नागरिकबिचको सम्बन्ध संवादभन्दा टकरावमा परिणत भएको इतिहास छ । जनआन्दोलनदेखि मधेश आन्दोलनसम्म, विभिन्न विरोध प्रदर्शनदेखि सत्याग्रह र अनशनसम्म, धेरै घटनामा राज्यले बल प्रयोग गरेको आरोप लाग्दै आएको छ । नागरिकका माग सुन्नुभन्दा आन्दोलन दबाउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाएको अनुभव नेपाली समाजसँग छ ।

माइतीघर मण्डलामा पटक–पटक भएका अनशन, सत्याग्रह, रिले अनशन तथा शान्तिपूर्ण प्रदर्शनले पनि यही प्रश्न उठाएका छन्– के लोकतन्त्रमा नागरिकको आवाज सुन्ने संयन्त्र प्रभावकारी छ ? यदि नागरिकले आफ्ना माग राख्दा राज्यले संवादको सट्टा बल प्रयोग गर्छ भने लोकतन्त्रको आत्मा कमजोर हुन्छ । भारतको पछिल्लो अनुभवले संवाद, धैर्य र सुधार लोकतन्त्रका सबैभन्दा प्रभावकारी औजार हुन् भन्ने देखाएको छ ।

यद्यपि कक्रोच–जेन–जी आन्दोलनलाई अतिरञ्जित गरेर हेर्नु पनि उचित हुँदैन । आन्दोलनले सम्पूर्ण समस्या समाधान गरिसकेको छैन । भारतमा बेरोजगारी, कृषि संकट, आर्थिक असमानता, ग्रामीण गरिबी, साना व्यवसायीको कठिन अवस्था र युवामा बढ्दो प्रतिस्पर्धा अझै चुनौतीकै रूपमा कायम छन् । भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनेको छ र तेस्रो ठुलो अर्थतन्त्र बन्ने लक्ष्य राखेको छ । तर, आर्थिक वृद्धि मात्र पर्याप्त हुँदैन । त्यसको लाभ युवा र आमनागरिकसम्म समान रूपमा पुग्न सकेन भने असन्तुष्टि फेरि पनि विस्फोट हुन सक्छ ।

इतिहासले एउटा महत्वपूर्ण सत्य सिकाउँछ– भावनाले आन्दोलन सुरु गराउँछ । तर, संस्थागत परिवर्तनका लागि स्पष्ट नीति, सक्षम नेतृत्व, लोकतान्त्रिक संस्कार र जनविश्वास आवश्यक हुन्छ । भिडको आकारले आन्दोलनको सफलता निर्धारण गर्दैन । त्यसले ल्याएको नीतिगत सुधारले त्यसको मूल्यांकन गर्छ । यही दृष्टिले हेर्दा भारतको कक्रोच–जेन–जी आन्दोलनले सरकारलाई तत्काल सत्तापरिवर्तन गर्न बाध्य पारेन । तर, शासन प्रणालीलाई आत्मसमीक्षा गर्न बाध्य बनायो ।

यही यसको सबैभन्दा ठुलो सफलता हो । वास्तवमा यो आन्दोलन नरेन्द्र मोदीविरुद्धको व्यक्तिगत संघर्ष थिएन । यो शासन प्रणालीलाई अझ उत्तरदायी, पारदर्शी र जवाफदेही बनाउन गरिएको नागरिक दबाब थियो । लोकतन्त्रमा जनताको असन्तुष्टिलाई समयमै सम्बोधन गर्न सकियो भने सरकारको आयु पनि लम्बिन्छ र प्रणालीप्रतिको विश्वास पनि बलियो हुन्छ । त्यसैले यो आन्दोलनलाई सरकारको हारभन्दा लोकतन्त्रको जितका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

भारत विश्वकै सबैभन्दा ठुलो लोकतन्त्र हो । त्यहाँ हुने प्रत्येक राजनीतिक परिवर्तनको प्रभाव दक्षिण एसियामै पर्छ । त्यसैले भारतमा देखिएको कक्रोच–जेन–जी आन्दोलन केवल एउटा देशको आन्तरिक घटना मात्र होइन, यो विश्व लोकतन्त्रका लागि पनि नयाँ चेतावनी या सन्देश हो । नयाँ पुस्तालाई बेवास्ता गरेर शासन टिक्दैन । तर, नयाँ पुस्तासँग संवाद गरेर लोकतन्त्र अझ बलियो बनाउन सकिन्छ । यही सन्देश भारतले दिएको छ ।

अबको युगमा जेन–जीलाई नियन्त्रण गर्ने होइन, सत्तामा साझेदार बनाउने राजनीति आवश्यक छ । उनीहरूलाई समस्या होइन, परिवर्तनका सहयात्रीका रूपमा स्विकार्ने राज्य नै दीर्घकालीन रूपमा सफल हुनेछ । भारतले त्यसको प्रारम्भिक संकेत दिएको छ । यही संकेतलाई लोकतान्त्रिक भविष्यको नयाँ अध्यायका रूपमा बुझ्नु आजको सबैभन्दा ठुलो राजनीतिक बुद्धिमत्ता हुनेछ ।

सुझावित समाचार