लुम्बिनीसँग ट्रम्पलमनको सम्झौता नवीकरण

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

लुम्बिनी लायन्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि पहिलो विदेशी खेलाडीका रूपमा रुबेन ट्रम्पलमनको सम्झौता नवीकरण गरेको छ । साबिक विजेता लुम्बिनीलाई उपाधि दिलाउने क्रममा दोस्रो संस्करणमा ट्रम्पलमनले उत्कृष्ट प्रदर्शन गरेका थिए । बायाँहाते तीव्र गतिका ट्रम्पलमनले गत सिजनमा म्यान अफ दी सिरिजको उपाधि जितेका थिए । 

उनले ६.७२ को इकोनोमी र १४.९३ को औसतमा १५ विकेट लिएका थिए । यसैगरी, सातमध्ये चार इनिङ्समा अविजित रहेर उनले ४१ रन बनाएका थिए । बलिङका क्रममा कर्णाली याक्ससँगको समूह चरणमा उनले १४ बलमै एक चौका र तीन छक्का प्रहार गर्दै नटआउट २९ रन बनाएका थिए । 

गत सिजनमा ट्रम्पलमनले लुम्बिनीबाट सबै १० खेल खेलेका थिए । सुदूरपश्चिम रोयल्ससँगको फाइनलमा उनी प्लेयर अफ दी फाइनल बनेका थिए । उनले फाइनलमा २.१ ओभरमा तीन रन खर्चेर तीन विकेट लिएका थिए । ट्रम्पलमनले आफ्नो पहिलो दुई ओभरमा विनोद भण्डारी र सेल्डन ज्याक्सनलाई आउट गरी लुम्बिनीलाई उपाधिनजिक पुर्याएका थिए ।

ट्रम्पलमनले युएइको आइएल टी–२० लिग र क्यानडाको ग्लोबल टी–२० लिगमा पनि खेलेका छन् । उनी अहिले नामिबियाबाट नेदरल्यान्ड्स र नेपालबिचको आइसिसी विश्वकप लिग २ सिरिजमा सहभागी छन् । ट्रम्पलमनले नामिबियाबाट ५३ एकदिवसीयमा ७७ विकेट लिएका छन् । 

सुझावित समाचार