बर्नमले लेबर पार्टीमा सुधार ल्याउनेमा संशय

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण
  • गाजासम्बन्धी उनको खोक्रो माफीले स्पष्ट रूपमा देखाउँछ कि उनले लेबर पार्टीलाई वास्तवमै आवश्यक पर्ने आमूल परिवर्तन ल्याउनेछैनन्

सार्वजनिक दबाबका कारण केयर स्टार्मरले राजीनामा दिएपछि म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नमले सोमबार औपचारिक रूपमा बेलायतको प्रधानमन्त्रीको पद सम्हाले । यो परिवर्तन यस्तो समयमा हुँदै छ, जब सत्तारुढ लेबर पार्टीको जनसमर्थनमा भारी गिरावट आइरहेको छ । बर्नमले पार्टी र सरकारलाई नयाँ बाटोमा लैजाने प्रतिबद्धता जनाएका छन्, जसमा आन्तरिक एकता पुनर्स्थापना गर्ने र बेलायती श्रमिक वर्गका समस्या सम्बोधन गर्ने कुरामा जोड दिइनेछ ।

प्यालेस्टाइनको मुद्दा ती प्रमुख विषयमध्ये एक हो, जसले एक दशकभन्दा बढी समयदेखि लेबर पार्टीभित्र विभाजन ल्याएको छ । नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि ९ जुलाईमा बर्नमले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमार्फत यस मुद्दाबारे सम्बोधन गर्ने निर्णय गरे । उनले गाजाको सन्दर्भमा लेबर पार्टीले ‘सही कदम नचालेको’ र अब ‘अझ राम्रो गर्नुपर्ने’ आवश्यकता रहेको बताए । त्यसो भए के उनले साँच्चै प्यालेस्टाइन र विगत दशकमा लेबर पार्टीले गरेका अन्य गल्ती सुधार्न अझ राम्रो काम गर्लान् त ? यसको सम्भावना कमै देखिन्छ । किनभने इजरायलद्वारा गरिएको नरसंहारमा साझेदारी वा मौन समर्थनको प्रवृत्ति बेलायती राजनीतिक संरचनामा गहिरोसँग जरा गाडेर बसेको छ । यसका लागि आमूल परिवर्तनको आवश्यकता पर्छ, जसलाई बर्नमले प्रस्ताव गरिरहेका छैनन् ।

बर्नमको राजनीतिक यात्रा सन् २००१ मा ग्रेटर म्यानचेस्टरको लेग क्षेत्रबाट सांसदमा निर्वाचित भएसँगै सुरु भयो । विभिन्न मन्त्रालयमा पद सम्हाल्नुअघि उनले तत्कालीन गृहमन्त्री डेभिड ब्लंकेटको ‘संसदीय निजी सचिव’का रूपमा काम गरे । सन् २०१७ देखि यस वर्षको मध्य–जुनसम्म उनी ग्रेटर म्यानचेस्टरका मेयर थिए । यस क्रममा उनले स्थानीय अर्थतन्त्रको कुशल व्यवस्थापन र सार्वजनिक यातायातमा सुधार गरेर प्रशंसा कमाए । ‘किङ अफ नर्थ’को उपनाम पाएका उनलाई लामो समयदेखि दक्षिणी क्षेत्रका नेताको वर्चस्व रहेको वेस्टमिन्स्टरको राजनीतिक संस्थापनमा एक बाह्य व्यक्तिका रूपमा प्रस्तुत गरिँदै आएको छ । यद्यपि, बेलायतका पूर्वप्रधानमन्त्रीमध्ये ७५ प्रतिशतजस्तै बर्नमले पनि अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयबाटै शिक्षा हासिल गरेका थिए ।

अहिले बर्नमले यस्तो पार्टीको नेतृत्व सम्हाल्दै छन्, जुन अस्तव्यस्त अवस्थामा छ । आर्थिक, आप्रवासन र विदेश नीतिसम्बन्धी आफ्ना कार्यशैलीका कारण पार्टीले तल्लो तहको जनसमर्थनको ठुलो हिस्सा गुमाइसकेको छ । जनमत सर्वेक्षणमा अति–दक्षिणपन्थी शक्तिहरूको प्रभाव बढ्दै जाँदा लेबर पार्टीले कुनै वैकल्पिक धार प्रस्तुत गर्नुको साटो उनीहरूकै मैदानमा उनीहरूसँगै प्रतिस्पर्धा गर्ने बाटो रोजेको छ । गत वर्ष गृहमन्त्री सबाना महमुदले कठोर आप्रवासन नीति अघि सारिन् । यसमा बल प्रयोग गरेर ‘असफल’ शरणार्थी परिवारलाई देशनिकाला गर्ने योजना तथा अफगानिस्तान, क्यामरुन, म्यानमार र सुडानका नागरिकलाई भिसा प्राप्त गर्ने सामान्य प्रक्रियाबाट वञ्चित गर्ने ‘भिसा ब्रेक’जस्ता प्रावधान समावेश छन् ।

विदेश नीतिको सन्दर्भमा गाजामा इजरायलले गरेको नरसंहारमा लेबर पार्टीको संलग्नताले उसलाई (पार्टीलाई) एक पुस्तासम्म पछ्याइरहनेछ । गाजाका घेराबन्दीमा परेको जनसंख्याको पानी र बिजुली काट्ने अधिकार इजरायली सेनासँग छ भनी अभिव्यक्ति दिएका कारण स्टारमरलाई अझै पनि विश्वले नकारात्मक रूपमा सम्झिनेछ । साथै, उनको सरकारलाई गाजामा अकल्पनीय मृत्यु र विनाश निम्त्याउने ३५ जेटका पार्टपुर्जालगायत हतियार इजरायली शासनलाई बिक्री गरिरहने कार्यका लागि पनि स्मरण गरिनेछ । बर्नम आफ्नो जनसम्पर्क संयन्त्रले प्रचार गरेजस्तो शक्तिशाली व्यक्ति होइनन् ।

उनी सन् २०१५ देखि ‘लेबर फ्रेन्ड्स अफ इजरायल’का सदस्य रहँदै आएका छन् । सोही समयमा उनले ‘बायकट, डाइभेस्टमेन्ट एन्ड स्यान्क्सन्स’ (बिडिएस) अभियानलाई ‘द्वेषपूर्ण’ भनेका थिए र लेबर पार्टीका नेता बनेपछि भ्रमण गर्ने पहिलो देश इजरायल नै हुनेछ भनी प्रतिबद्धता जनाएका थिए । उनका सहयोगीमा ‘लेबर टुगेदर’ थिंक ट्यांकका पूर्वनिर्देशक जोस साइमन्स पनि पर्छन् । यस संस्थाले स्टारमरको उदय गराउन र प्रायः यहुदीविरोधी भावना (एन्टी–सेमिटिज्म) नियन्त्रण गर्ने बहानामा पार्टीभित्रको प्यालेस्टाइन–समर्थक वामपन्थी खेमालाई हटाउन मद्दत गरेको थियो । विडम्बनाको कुरा त के छ भने यही अवधिमा गैरयहुदी सदस्यको तुलनामा पार्टीका यहुदी सदस्यमाथि छानबिन गरियो र उनीहरूलाई निष्कासन गरियो । मे महिनामा साइमन्सले सांसद पदबाट राजीनामा दिए, ताकि बर्नमले उनको संसदीय सिटका लागि हुने विशेष उप–निर्वाचनमा उम्मेदवार बन्न र जित्न सकून् । यसले बर्नमलाई लेबर पार्टीको नेतृत्व र प्रधानमन्त्री पदको दौडमा अघि बढ्ने बाटो खोलिदियो । बर्नमको वरिपरि ‘लेबर टुगेदर’का व्यक्तिहरूको प्रभाव कायमै रहनुले यो देखाउँछ कि स्टारमरको नेतृत्व पछाडिको संयन्त्र भत्किएको छैन, बरु चुपचाप अर्को स्थानमा सरेको हो । 

९ जुलाईमा पोस्ट गरेको उक्त छोटो भिडियोमा उनले भनेको कुराले उनको सरकारको अधीनमा किन कुनै परिवर्तन हुनेछैन भन्ने कुरालाई राम्रोसँग चित्रण गर्छ । माफीको आधार यो हो कि बेलायतले युद्धविरामका लागि आह्वान गर्न धेरै ढिलो गर्यो, न कि यो नरसंहारमा संलग्न थियो र अझै पनि छ । स्पष्ट रूपमा बर्नमले अझै पनि गाजामा भएको र भइरहेको कुरालाई नरसंहार भन्नेछैनन् । त्यो भिडियो बाहिर आउनुभन्दा केही दिनअघि यो कुरा बाहिर आयो कि चिफ अफ स्टाफका लागि उनको रोजाइ जेम्स पुर्नेल रहेका छन्, जो लेबर फ्रेन्ड्स अफ इजरायलका पूर्वअध्यक्ष हुन् । स्पष्ट छ, बर्नमका सल्लाहकार उनलाई यस्तो देखाउन सुझाव दिँदै छन् कि उनी उक्त नरसंहारमा बेलायतको भूमिकाका लागि प्रायश्चित्त गरिरहेका छन् । तर, त्यो नरसंहारका लागि बेलायती सरकारको सहमति जुटाउने र त्यसलाई निरन्तरता दिने हतियारहरूको आपूर्ति गरिरहने संयन्त्र भने भंग गरिएको छैन । यसले केवल आफ्नो प्रवक्ता मात्र परिवर्तन गरेको छ ।

हवारी प्यालेस्टिनी नीति नेटवर्क अल–सबाकी सहनिर्देशक हुन्
अलजजिराबाट

सुझावित समाचार