प्रहरी दमनले थप क्रुद्ध भारतका जेन–जी प्रदर्शनकारी

प्रदर्शन आह्वान गरेका सिजेपी नेता अभिजित दिपकेले अब आफूहरू सरकारसँग वार्ता गर्न नजाने, सरकारले वार्ता चाहे जन्तरमन्तरमा आउनुपर्ने बताए

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

सत्ताहरूमा रगतका टाटा, पल्टिरहेका ब्यारिकेड र सडकभरि छरिएका फुटेका सिसा र जुत्ताहरू । एकातर्फ अलपत्र फालिएको स्कार्फ अर्कोतर्फ भाँचिएको चस्मा र च्यातिएको सर्ट । यी सबै भारतको राजधानीमा फैलिएको अराजकताका अवशेष थिए । नयाँदिल्लीको मुटु मानिने संसद् मार्ग र औपनिवेशिक कालमै बनेको कन्नोर्ट प्यालेस चोक सोमबार हजारौँ प्रदर्शनकारीमाथि प्रहरीले गरेको दमनको छाप बोकेर बसिरहेका थिए । प्रायः विद्यार्थीको सहभागिता रहेको प्रदर्शनमा मुख्यतः केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग भएको थियो । 

सोमबार प्रदर्शनकारीको एक समूह केन्द्रीय संसद्को ढोकासम्म पुगेको थियो । पछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेपछि भिड पछाडि हट्न बाध्य भयो । त्यसक्रममा सयभन्दा बढी विद्यार्थी घाइते भए । ‘म अझै पनि दिल्लीमा छु भन्ने मलाई नै विश्वास लागेको छैन,’ राजधानीमै हुर्केका १८ वर्षीय अंशुल देवले भने, ‘यसरी अश्रुग्यास चलाइएला भन्ने लागेको थिएन ।’ उनका साथीमध्ये एकजनाको दुवै खुट्टामा पट्टी बाँधिएको थियो । ‘हाम्रा अग्रजले मतदान गरेर सत्तामा ल्याएको यो सरकारले हामीलाई आतंककारी र अपराधीजस्तै व्यवहार गरिरहेको छ । यो हाम्रो देश हो र हामी यसलाई उनीहरूको घृणित राजनीतिबाट मुक्त गर्दै छौँ,’ देवले भने । 

विश्वको सबैभन्दा ठुलो ‘जेन–जी’ समूह मानिने भारतका युवा विगत दुई महिनादेखि लाखौँ विद्यार्थीलाई असर गर्ने परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । घटनापछि २० भन्दा बढी विद्यार्थीले निराशाका कारण आत्महत्या गरे । देशका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार संसद्मा देखिए, तर उनले नजिकै भइरहेको विरोध प्रदर्शनबारे केही टिप्प्णी गरेनन् । 

सोमबारको दमनका बावजुद मंगलबार पनि ठुलो संख्यामा विद्यार्थी तथा युवाहरू संसद चलो मार्चका लागि पुन जम्मा भए । मंगलबारजस्तो दमन नभए पनि प्रहरीले ठुलठुलो ब्यारीकेड राखेर प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएन । सोमबारको दमनका कारण मंगलबार विपक्षी दल, तिनका शिर्ष नेता तथा कैयौँ कहलिएका कलाकारहरूले पनि विद्यार्थीको आन्दोलनमा ऐक्यबद्धता जनाउन जन्तरमन्तर गएका थिए । 

दिल्लीको जन्तरमन्तरमा क्रकोच जनता पार्टी (सिपिजे)को विरोध प्रदर्शन मंगलबार पनि रोकिएन । विरोध प्रदर्शनको नेतृत्व गरिरहेका सिपिजे प्रमुख अभिजित दिपकेले मंगलबार आफूहरू अब सरकारसँग वार्ता गर्न नजाने, वार्ता गर्न चाहे सरकार जन्तरमन्तरमा आउनुपर्ने अडान लिए । त्यसअघि अभिजितले संसद् मार्चमा घाइते भएकाहरूसँग माफी मागेका थिए । साथै, उनले प्रहरी हिरासतमा रहेकाहरूलाई कानुनी सहयोग चाहिने भएकाले कानुनी पेसाकर्मीसँग सम्पर्कमा आउन आह्वान गरेका थिए । तथापि, दिल्ली प्रहरीले मंगलबार नै अघिल्लो दिन पक्राउ परेका सबै प्रदर्शनकारीलाई रिहा गरेपछि यस कठिनाइ केही कम भएको छ । योसँगै दिल्ली प्रहरीको मुख्यालयअगाडि विरोध प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरियो ।

यसबिच, दिल्ली उच्च अदालतको आदेशपछि, सोनम वाङचुकलाई गुरुग्रामको मेदान्त अस्पतालमा सारिएको छ । उनी हाल रक्तअल्पताको लक्षण अनुभव गरिरहेका छन्, तर उनको अनशन २४औँ दिनसम्म जारी छ । मंगलबार, धेरै विपक्षी दलका नेताहरू पनि विरोध स्थलमा पुगे । यसमा उद्धव ठाकरे, अखिलेश यादव, शरद पवार, सुप्रिया सुले, अरविन्द केजरीवाल र सञ्जय सिंहजस्ता सांसदहरू थिए । सोमबार प्रहरीले भत्कादिएको विरोधस्थलको मञ्च प्रदर्शनकारीले मंगलबार दिउसोसँग उस्तै बनाएका थिए । योसँगै दिनभरका अवस्था सामान्य रहेको जन्तरमन्तरको विरोधस्थलमा साँझपख भने मानिसको चहलपहल बढेको थियो । अघिल्लो दिन संसद् मार्चको क्रममा प्रहरी लाठीचार्ज र अश्रुग्यासको सिकार भएकाहरू पनि विरोधस्थलमा देखिए ।

‘प्रदर्शन जारी रहनेछ ’
सोमबार साँझ १८औँ शताब्दीमा बनेको वेधशाला जन्तरमन्तरस्थित (जुन अहिले भारतमा विरोध प्रदर्शनको केन्द्र बनेको छ) भत्काइएको मञ्चमा कक्रोच जनता पार्टीका प्रमुख अभिजित दीपके फर्किए । ‘दिल्ली प्रहरीले हाम्रा विद्यार्थी र साथीहरूलाई कुटपिट गरेको छ । हामी अत्यन्तै दुःखी छौँ,’ पछिल्लो प्रदर्शन आह्वान गरेका दीपकेले दमनपछि पनि नभागी बसेका प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने,  ‘हामी प्रतिरोध गरिरहनेछौँ । सरकारबाट जवाफदेहिताको माग गर्नेछौँ । धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म हामी पछि हट्नेछैनौँ ।’ ‘यो प्रदर्शन हाम्रो पहिलो आह्वान मात्र थियो, अन्तिम होइन । अझ धेरै हुनेछन् । आशा नहार्नुहोस्,’ प्रदर्शनकारीलाई सम्बोधन गर्दै दीपकेले भने । साँझ घर फर्किनुअघि स्वयंसेवकले मञ्च क्षेत्रवरपरको फोहोर उठाउन, पाल बाँध्न र सडक बढार्न सुरु गरे । यो त्यही ठाउँ हो, जहाँ विभिन्न विद्यार्थी संगठनका एक सयभन्दा बढी प्रदर्शनकारी मन्त्री प्रधानको राजीनामा माग्दै भोक हडतालमा बसेका अभियन्ता सोनम वाङचुकलाई साथ दिएर बसेका छन् । सोमबार प्रहरीले विद्यार्थी संगठनले लगाएका त्रिपाल र अन्य सामान पनि फालिदिएको थियो । 

सरकारसँगको वार्ता ‘समयको बर्बादी’ 
विद्यार्थीको प्रदर्शनअघि कक्रोच जनता पार्टीका नेताले सरकारले वार्ताका लागि सम्पर्क गरेको जानकारी दिएका थिए । नयाँदिल्लीमा हजारौँ प्रदर्शनकारी भेला हुँदा पार्टीका दुई प्रवक्ताले आन्दोलनका तीन माग स्पष्ट गर्दै केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डालाई भेटेका थिए । तीन मागमा पहिलो प्रधानको तत्काल राजीनामा थियो भने बाँकी दुईमा वाङचुकलाई अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने र आत्महत्याबाट मृत्यु भएका विद्यार्थीको परिवारलाई लगभग एक करोड भारु क्षतिपूर्ति 
दिनुपर्ने विषय थियो ।

 यद्यपि, साँझतिर वार्तामा गएका विद्यार्थी निराश भएर फर्किए । ‘हाम्रो समयको बर्बादी गरिरहेका छन्,’ सिजेपीका प्रवक्ता आशुतोष रान्काले भने, ‘हामीलाई चार घण्टा पर्खन लगाइयो । अनि मन्त्री आएर हामीलाई जम्मा १० मिनेट मात्र भेटे । नड्डाले प्रवक्तासँग ‘सौहार्दपूर्ण वातावरणमा’ भेट भएको बताए । साथै उनले अगाडि भने कि ‘सबै प्रदर्शनकारीलाई धर्ना अन्त्य गर्न र प्रशासनलाई सामान्य अवस्था पुनस्र्थापित गर्न सहयोग गर्न अनुरोध गर्छौं । सोमबारको वार्ताबाट निराश सिजेपी नेता दीपकेले मंगलबार पत्रकारसँग कुरा गर्दै भने, ‘यदि सरकार फेरि वार्ता गर्न चाहन्छ भने उनीहरू नै अब जन्तरमन्तरमा आउनुपर्छ । हामी त्यहाँ जानेछैनौँ ।’ केही विद्यार्थीले विरोध प्रदर्शनको विकेन्द्रीकरणका लागि आह्वान गरिरहेका छन् ।  

एक ‘बलियो नेता’को सामना
प्रहरीले वाङचुकलाई जबर्जस्ती विरोधस्थलबाट हटाएपछि प्रदर्शनकारीले मोदीलाई राजीनामा दिन आह्वान गरेका छन् । सोमबार नयाँदिल्लीको मध्यभागमा प्रधानमन्त्रीलक्षित नारा गुन्जिए । ‘दिल्लीमा जुन नसोचेको स्तरमा ठुलो संख्याको प्रदर्शनकारीको उपस्थिति देखियो, त्यसले प्रधानमन्त्रीलाई ठुलो चुनौती दिएको छ,’ लेखक तथा मोदी जीवनी लेखक निलान्जन मुखोपाध्यायले भने । ‘अहिलेसम्मको अवस्थामा मोदीले प्रदर्शनकारीका कुनै माग पूरा नगरी आफूलाई एक अडिग नेता देखाउने प्रयास गरेजस्तो देखिन्छ,’ मुखोपाध्यायले भने । 

सोमबारको विरोधपछि भारतीय इन्टरनेट ‘मिम्स’, अनलाइन आक्रोश र प्रहरीसामु खिचाइएका तस्बिरले भरिएका छन् । उनीहरूले दमनको विरोध गर्दै प्रहरीको कारबाहीको आलोचना गरेका छन् । सोमबार भारतीय संसद्अगाडि हजारौँको भिडमाझ युट्युबर मेघनाद एस पनि थिए । ‘तिनले यहाँ पागलपन प्रदर्शन गरे । प्रहरीको कारबाहीका कारणचाहिँ भिड साँच्चै उत्तेजित भएको हो,’ उनले सोमबार राति विरोधस्थलबाट बोल्दै भने, ‘आन्दोलनहरू सधैँ नै अव्यवस्थित हुन्छन् । यो नियन्त्रण गर्न धेरै गाह्रो छ । आखिर, हामी सबै तिनले भनेजस्तै साङ्ला (कक्रोच) न हौँ । हामी अझै पनि यहाँ झुन्डिरहेका छौँ ।’ मंगलबार बिहान फेरि भिड प्रदर्शनस्थलमा फर्कियो । अर्थात् साङ्लाहरू मौन रहन अस्वीकार गर्दै थिए । 

प्रधानमन्त्रीनिवासनजिकै कंग्रेसको विरोध प्रदर्शन, राहुल गान्धी पक्राउ
 भारतको राजधानी नयाँदिल्लीमा प्रहरीले मंगलबार देशका प्रधानमन्त्री नरेन्द्र मोदीको लोक कल्याण मार्गस्थित निवासनजिकै विरोध प्रदर्शन गरेको आरोपमा विपक्षी दल कंग्रेसका नेता राहुल गान्धी, मल्लिकार्जुन खर्गे र प्रियंका गान्धी वाड्रालाई हिरासतमा लियो । पक्राउ पर्नुअघि कंग्रेस नेताहरू प्रधानमन्त्रीनिवासबाहिर धर्नामा बसेका थिए । तिनले विद्यार्थीको आन्दोलनमा दमन भएको र विद्यार्थीको परीक्षापत्र लिक भएको मुद्दामा प्रधानमन्त्री मोदी र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका थिए । 

त्यस्तै, उनीहरूले यो विषयलाई संसदीय बैठकमा छलफल गर्नुपर्ने पनि बताए । विरोध प्रदर्शनका क्रममा दिल्ली प्रहरीले कंग्रेस नेताका अतिरिक्त कैयौँ कार्यकर्तालाई हिरासतमा लिएको थियो । प्रहरीले पक्राउ परेका कंग्रेस नेता तथा कार्यकर्तालाई बसमा राखेर धर्नास्थलबाट अन्यत्र लगेका थिए । 
अलजजिराबाट

सुझावित समाचार