बिपीको नजरमा कांग्रेसका ‘लरेल–हार्डी’

बिपी कोइरालाको सांगठनिक शैलीको सुन्दरता नै विरोधी र असन्तुष्ट पक्षलाई समेत आदरपूर्वक समेटेर लैजानुमा थियो

बुधबार, ६ साउन, २०८३
डिजिटल संस्करण

आज साउन ६ गते, जननायक विश्वेश्वरप्रसाद कोइराला (बिपी) को ४४औँ स्मृति दिवस । हरेक वर्ष आजको दिनलाई नेपाली राजनीतिक वृत्तमा वैचारिक मन्थन र ऐतिहासिक सिंहावलोकनको पर्वका रूपमा मनाइन्छ । बिपीको स्मृति दिवसको यो घडी केवल श्रद्धासुमनको औपचारिक कार्यतालिका मात्र होइन र त्यस्तो हुनुहुँदैन पनि ।

बरु नेपालको लोकतान्त्रिक आन्दोलनको समग्र यात्रा, यसको वर्तमान अवस्था र भविष्यको मार्गचित्रलाई कसीमा राखेर हेर्ने आत्मसमीक्षाको दिन बन्नुपर्छ । आजको दिन बौद्धिक बहस सञ्चालन हुन्छन् र पत्रपत्रिका बिपीको बहुआयामिक व्यक्तित्वका विविध पाटा पहिल्याउन केन्द्रित रहन्छन् । यही वैचारिक सन्दर्भमा जब हामी बिपीको साहित्य र राजनीतिक दर्शनको गहिराइलाई नियाल्छौँ, तब इतिहासको एउटा अत्यन्तै घतलाग्दो र विम्बात्मक प्रसंग समकालीन राजनीतिको यथार्थसँग जोडिन आइपुग्छ ।

नेपाली राजनीतिका अग्रणी व्यक्तित्व, साहित्यमा सिद्धहस्त र मानव स्वभावका कुशल पारखी बिपी कोइरालाले आफ्नो ‘आत्मवृत्तान्त’मा राणाकालीन बन्दीगृहको एउटा रोचक संस्मरण उल्लेख गर्नुभएको छ । २००५ सालमा दोस्रोपटक राणाशासनको कालकोठरीमा थुनिएर २३ दिन लामो अनशनरत रहँदा उहाँलाई हेर्न र पहरा दिन सेनाका मेजर चन्द्रबहादुर थापा र सरदार उपेन्द्रपुरुष ढकाल सधैँ सँगै आउने गर्थे । उनीहरू बिपीलाई फकाउने र धम्क्याउने दुवै गर्थे । उनीहरू सुनाउँथे, ‘मरेर के भयो त, राजकाजमा कति मर्छन्, मर्छन् । मरेर झन् सजिलो, कुचोले बढार्नुपर्ने धुलो हावाले आफैँ उडाएर लैजान्छ ।’

ती दुई पात्रका विपरीत शारीरिक बनोट, कार्यशैलीको असमञ्जस्य र तत्कालीन शासकको कडा दबाबबिच उत्पन्न हुने हडबडाहटपूर्ण व्यवहारलाई ‘आत्मवृत्तान्त’मा बिपीले निकै विनोदपूर्ण शैलीमा चित्रण गर्नुभएको छ । उनीहरू कोठामा प्रवेश गर्दा र संवाद गर्दाको दृश्य ठ्याक्कै हलिउडका प्रसिद्ध क्लासिक कमेडियन जोडी ‘लरेल र हार्डी’को ‘साइलेन्ट’ मुभीको प्रहसनजस्तो देखिन्थ्यो भनी बिपीले अत्यन्त रोचक तरिकाले वर्णन गर्नुभएको छ । जीवन–मरणको त्यो गम्भीर अवस्थामा पनि व्यवस्थाको विरोधाभासलाई ठट्टाको बिम्बमा ढाल्न सक्ने बिपीको त्यो चेत आज समकालीन कांग्रेसको सांगठनिक द्वन्द्व र नीतिगत विचलन बुझ्नका लागि एउटा सार्थक ऐना बन्न सक्छ । आजको यो लेख नेपाली कांग्रेसको निर्माणमा बिपीको योगदान, पार्टीको वर्तमान दसा, दिशा र ‘लरेल र हार्डी’ पात्रको कार्यशैलीमा केन्द्रित छ ।

 विपरीत विचार र क्षमताको ऐतिहासिक समन्वय
वास्तवमा बिपी कोइरालाको कालखण्डमा पनि नेपाली कांग्रेस विवादरहित थिएन । स्थापनाकालदेखि नै विभिन्न प्रखर व्यक्तित्वबिच नीति, रणनीति र सांगठनिक कार्यदिशालाई लिएर तीव्र मतभिन्नता थिए । २००४ सालको राष्ट्रिय कांग्रेसको विभाजन, ००६ सालमा नेपाली कांग्रेसको स्थापना, ००७ सालको सशस्त्र विद्रोह, ००९ सालको जनकपुर महाधिवेशन, ०१० सालको विशालनगर दरबारको महासमिति बैठक, ०१२ सालको वीरगन्ज महाधिवेशन, ०१४ सालको ऐतिहासिक विराटनगर महाधिवेशन र सुन्दरीजल कारागारबाट मुक्तिदेखि २०३३ सम्म बिपी–सुवर्ण मतभेदका घटनाक्रमले पार्टीको आन्तरिक लोकतन्त्रलाई ठुलो परीक्षामा राखेका थिए । तत्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला र बिपीबिचको कार्यशैलीगत टकरावले संगठनलाई गम्भीर मोडमा पु¥याउँदा पनि पार्टी कहिल्यै नीतिहीन वा दिशाहीन बनेन ।

यसको मुख्य कारण थियो, बिपीको समन्वयकारी राजनीतिक शिल्प । सुवर्णशमशेरको आर्थिक दूरदर्शिता र व्यवस्थापकीय सन्तुलन, गणेशमान सिंहको विद्रोही आवेग अनि कृष्णप्रसाद भट्टराईको सन्तभाव र सांगठनिक निष्ठाजस्ता विपरीत स्वभाव र क्षमताका नेतालाई एउटै लयमा हिँडाउने ‘किमियागिरी’ बिपीमा थियो । दलित समाजका नेता धनमानसिंह परियार, थारू जातिका नेता परशुनारायण चौधरी र तराई–मधेशका महेन्द्रनारायण निधि, काशीप्रसाद श्रीवास्तव, रामनारायण मिश्र तथा शेख इदरिसजस्ता ‘कद्दावर’ नेताहरूका फरक मतलाई समेटेर नेपाली कांग्रेसलाई सिंगो राष्ट्रको साझा चौतारी बनाउनुभएको थियो बिपीले ।

विपरीत विचार र फरक स्वभावका पात्र मिलेर कसरी एउटा बलियो इतिहास निर्माण गर्न सक्छन् भन्ने कुराको त्यो अनुपम राष्ट्रिय दृष्टान्त थियो । तर, आज त्यही कांग्रेसको आन्तरिक जीवनलाई नियाल्दा विपरीत विचारको व्यवस्थापन होइन, बरु प्रचारमुखी प्रवृत्तिको हालिमुहाली देखिन्छ ।

 समकालीन नेतृत्वमा ‘लरेल–हार्डी’ शैलीको प्रतिबिम्ब
हलिउडको क्लासिक रंगमञ्चमा लरेल र हार्डीको मुख्य आकर्षण नै उनीहरूको विपरीत स्वभाव र कार्यशैली थियो । स्टेन लरेल अत्यन्तै चञ्चल, भावुक, ऊर्जावान् र तुरुन्तै प्रतिक्रिया जनाउने चरित्रमा देखिन्थे भने ओलिभर हार्डी गम्भीर, व्यवस्थापकीय धाक देखाउन खोज्ने तर आन्तरिक रूपमा लरेलकै योजनामा निर्भर रहने चरित्रमा प्रस्तुत हुन्थे । उनीहरू सधैँ समस्या समाधान गर्न खोजेजस्तो गर्थे, तर ठोस नीतिको अभाव र आपसी अलमलका कारण परिस्थिति झन् अमिलिँदो बन्थ्यो । आजको नेपाली कांग्रेसको आन्तरिक द्वन्द्व, सांगठनिक गतिहीनता र विशेषगरी दुई युवा नेताद्वय सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको कार्यशैलीगत रसायनलाई नियाल्दा त्यही लरेल र हार्डी शैलीको झझल्को मिल्छ ।

बाहिरबाट हेर्दा यो जोडी अत्यन्तै आकर्षक, समकालीन सञ्चारमाध्यममा प्रभावशाली र युवापुस्तामाझ लोकप्रिय देखिन्छ । तर, संगठन सञ्चालन र नीतिगत निर्णयको धरातलमा पुग्दा उहाँहरूको स्वभाव र कार्यशैलीमा त्यही शास्त्रीय विरोधाभास प्रकट हुने गरेको छ । गगन थापा संगठनभित्र तीव्र गति, आक्रामकता र ‘मास सेन्टिमेन्ट’लाई आत्मसात् गर्दै सीधा प्रहार गर्ने शैलीका लागि परिचित हुनुहुन्छ, जुन लरेलको स्क्रिन ऊर्जासँग ठ्याक्कै मेल खान्छ ।

अर्कातर्फ, विश्वप्रकाश शर्मा कूटनीतिक, सन्तुलित र ठुला कुरालाई पनि मन्द मुस्कान, मिठो शब्द र बिम्बात्मक भाषाशैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ आफूलाई, जुन हार्डीको गम्भीर देखिन खोज्ने चरित्रसँग मिल्न खोज्छ । तर, जब पार्टीभित्रको आन्तरिक द्वन्द्व व्यवस्थापन, शक्ति संघर्ष र नीतिगत अलमललाई चिरेर स्पष्ट सांगठनिक निकास दिनुपर्ने वेला आउँछ, विशेष महाधिवेशनबाट विछोडिएका नेता–कार्यकर्तालाई समेटेर पार्टीलाई एकढिक्का बनाउने सवाल आउँछ, तब दुई नेताबिचको विरोधाभास र नीतिगत अस्पष्टताले गर्दा निर्णय प्रक्रिया निष्कर्षविहीन प्रहसनजस्तै बनिरहेको छ ।

 लोकरिझ्याइँ भर्सेस सांगठनिक परिपक्वता
कांग्रेसको समकालीन सांगठनिक अभ्यास, विशेष महाधिवेशनको गृहकार्य र आन्तरिक बहसलाई हेर्दा पुस्तान्तरण र रूपान्तरणको बहस त व्यापक रूपमा उठ्यो, तर त्यसलाई संस्थागत र व्यवस्थापन गर्ने सवालमा ठुलो परिपक्वता देखिएन । परम्परागत नेतृत्वलाई चुनौती दिने नाममा जुन प्रकारको हतारो र आक्रामक रणनीति अख्तियार गरियो, त्यसले संगठनलाई जरैदेखि बलियो बनाउनुको साटो आन्तरिक ध्रुवीकरण र व्यवस्थापकीय संकट मात्र बढाउने काम गरेको छ ।

केवल लोकरिझ्याइँ र सामाजिक सञ्जालको भाषणको जादुले मात्र जीवन्त राजनीतिक संगठन चल्न सक्दैन । राजनीतिक दल एउटा लामो रेसको गतिशील घोडा हो, जसलाई हाँक्नका लागि क्षणिक उत्तेजना होइन, धैर्य र दूरदर्शिता चाहिन्छ । लरेल र हार्डीको सिनेमा जस्तै, ठोस व्यवस्थापकीय शिल्प र सांगठनिक अनुशासनको अभावमा परिणाम ठ्याक्कै उल्टो र प्रत्युत्पादक निस्कन सक्छ । युवा नेतृत्वले के बुझ्न जरुरी छ भने मिडियामा सेयर र लाइक बटुल्नु र पार्टीका भुइँतहका कार्यकर्ताको मन जित्नु दुई सर्वथा फरक कुरा हुन् ।

बिपी कोइरालाको सांगठनिक शैलीको सुन्दरता नै विरोधी र असन्तुष्ट पक्षलाई समेत आदरपूर्वक समेटेर लैजानुमा थियो । तर, समकालीन युवा नेतृत्वमा कताकता आन्तरिक निषेध र प्रतिशोधको भावना हाबी भएको देखिन्छ । पार्टीका पुराना र अनुभवी नेताहरू, शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, शशांक कोइरालालगायत स्थापित व्यक्तित्वलाई समेट्ने, उहाँहरूसँग सन्तुलित संवाद गर्ने र उहाँहरूको लामो राजनीतिक अनुभवलाई संगठनको पुँजीका रूपमा उपयोग गर्ने न्यूनतम राजनीतिक शिष्टाचार र लचकता युवा नेताद्वयले पूर्ण रूपमा प्रदर्शन गर्न सक्नुभएको छैन् । आफ्नै अग्रजलाई पाखा लगाउने र सानो गुटको घेरामा रमाउने कार्यशैलीले आज संगठनभित्र अघोषित फुटको अवस्था सिर्जना गरेको छ ।

 निष्कर्ष
इतिहासको कालखण्डमा मात्रिकाप्रसाद कोइरालासँगको चरम विवादबिच पनि बिपीले कहिल्यै संवादको ढोका बन्द गर्नुभएन । २०१० सालमा मात्रिकाले राष्ट्रिय प्रजा पार्टी गठन गरेर छुटिएपछि पनि बिपीले सुवर्णशमशेरमार्फत उहाँसँग संवाद जारी राख्नुभयो । सुवर्णशमशेरलाई वीरगन्ज महाधिवेशनबाट सभापतिमा निर्वाचित गराउनुभयो र अन्ततः मात्रिकालाई कांग्रेसमा फर्काउनुभयो । तर, आजका युवा नेताहरू वैचारिक विमर्श र संवादमा अनुदार देखिनुहुन्छ । यो प्रवृत्तिले अन्ततः पार्टीलाई विचारको मञ्च होइन, गुटहरूको संगठनमा परिणत गर्ने वा फुटको खतरातिर बढाउन सक्छ ।

साउन ६ गतेको यो पवित्र स्मृति दिवसमा बिपी कोइरालाको नाम जप्दै गर्दा नेतृत्वले आफ्नो कार्यशैलीका त्रुटिको गम्भीर पुनरावलोकन गर्नु अपरिहार्य छ । लोकरिझ्याइँको मोह त्यागेर, आन्तरिक निषेधको राजनीति अन्त्य गरी जबसम्म संगठनलाई नीति र विधिको जगमा एकढिक्का बनाइँदैन, तबसम्म कांग्रेसको वास्तविक पुनरुत्थान असम्भव छ । बोलीको परिष्कारमा मात्र नअल्झिई व्यवहारको कसीमा खरो उत्रिएर सिंगो कांग्रेसलाई एउटै लयमा हिँडाउन सके मात्र बिपीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । अन्यथा, यो समकालीन नेतृत्व इतिहासको पानामा ‘लरेल र हार्डी’को एक सुमधुर तर सांगठनिक रूपमा असफल राजनीतिक प्रतीकका रूपमा मात्र सीमित रहनेछ ।

(भारतका जवाहरलाल विश्वविद्यालयबाट विद्यावारिधि गरेका डा. कुशवाहा नेपाली कांग्रेसका महासमिति सदस्य हुन्)

सुझावित समाचार