- कक्रोच जनता पार्टी (सिजेपी) ले देशको परीक्षा प्रणालीमा व्यापक सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेको छ
संसारमै सबैभन्दा धेरै जनसंख्या भएको देश भारतमा परीक्षाको प्रश्नपत्र चुहावट, प्राविधिक गडबडी र परीक्षा रद्दजस्ता घटनाको शृंखलाले आक्रोश निम्त्याएपछि कक्रोच नामक भाइरल आन्दोलनका समर्थकले झन्डै एक महिनादेखि नयाँदिल्लीको जन्तरमन्तर क्षेत्र आफ्नो नियन्त्रणमा लिँदै आएका छन् । जन्तरमन्तर संसद् भवनबाट केही किलोमिटरको दूरीमा रहेको देशको चर्चित विरोध प्रदर्शन स्थल हो, जहाँ सरकारलाई खबरदारी गर्न विभिन्न दल र समूहले गतिविधि सञ्चालन गर्छन् ।
‘कक्रोच मुभमेन्ट’को समर्थनमा ५९ वर्षीय गान्धीवादी अभियन्ता सोनम वाङचुकले आमरण अनशन सुरु गरेको २० दिनपछि शनिबार दर्जनौँ प्रहरी अधिकारीले उनलाई विरोधस्थलबाट बलपूर्वक हटाए । प्रहरीले अदालतको आदेश र वाङचुकको ‘बिग्रँदै गएको स्वास्थ्य अवस्था’लाई आफ्नो कदमको बचाउको आधार बनायो । तर, वाङचुककी पत्नी गीताञ्जली जे आङमोले आफ्ना पतिलाई उनको इच्छाविपरीत अस्पताल लगिएको बताइन् र सरकारले उपचारको बहानामा ‘गैरकानुनी रूपमा नियन्त्रणमा लिएको’ आरोप लगाइन् ।
वाङचुकलाई हटाइएकोमा आक्रोशित हुँदै सिजेपीका संस्थापक अभिजित दीपकेले मोदीको राजीनामा माग गरे । उनले आफ्ना समर्थकलाई संसद्को बर्खे अधिवेशन सुरु हुने पहिलो दिन अर्थात् सोमबार संसद् भवनतर्फ मार्च गर्न आह्वान गरे । दीपकेको आह्वानमा हजारौँ मानिसले साथ दिएपछि ठुलो संख्यामा प्रहरी तथा अर्धसैनिक बल परिचालनका कारण नयाँदिल्लीमा तनावपूर्ण स्थिति बन्यो । अन्य अधिकारवादी समूह र राजनीतिक दलले पनि यस मार्चप्रति ऐक्यबद्धता जनाउँदै सर्वसाधारणलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका थिए ।
के भइरहेको छ जन्तरमन्तरमा ?
सिजेपीले भारतको प्रतिस्पर्धात्मक परीक्षा प्रणालीमा व्यापक सुधार तथा प्रश्नपत्र चुहावट र परीक्षा नतिजाका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरिरहेको छ । तर, शिक्षामन्त्री धर्मेन्द प्रधानले पदबाट राजीनामा दिन अस्वीकार गर्दै आएका छन् र प्रदर्शनकारीलाई ‘आतंकवादी’सँग तुलना गरेका छन् । १२ वर्षभन्दा बढी समयदेखि कुनै पत्रकार सम्मेलन नगरेका तर सामाजिक सञ्जालमा सक्रिय प्रधानमन्त्री मोदीले यी प्रदर्शनबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
यसैबिच, लद्दाखको उत्तरी क्षेत्रका ख्यातिप्राप्त इन्जिनियर तथा शिक्षाविद् वाङचुकले जुन २८ मा सुरु गरेको आमरण अनशनलाई निरन्तरता दिए । उनले यसअघि सेप्टेम्बरमा पनि यस्तै अनशनमा बसेका थिए, जसमा उनले लद्दाखका लागि विशेष दर्जाको माग गरेका थिए । मोदी सरकारले सन् २०१९ मा भारत–शासित कस्मिरबाट अलग्याएर लद्दाखलाई छुट्टै क्षेत्र बनाएको थियो । नेहा बोरा, अमिन अमितोज र मनीष गरी तीनजना विद्यावारिधिका विद्यार्थी वाङचुकको यस अनिश्चितकालीन अनशनमा सामेल भए । उनीहरू भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)’को विद्यार्थी संगठन ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ (एआइएसए) का सदस्य हुन् । शनिबार, सादा पोसाकमा रहेका प्रहरीहरू विरोध प्रदर्शन भइरहेको स्थल प्रवेश गरे र मञ्चमाथि धाबा बोल्दै सेतो पर्दाले छोपेर वाङचुकलाई त्यहाँबाट बाहिर लगे । प्रहरीको यस्तो कारबाहीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र आक्रोश निम्त्याउनुका साथै विरोध आन्दोलनलाई अझ चर्कायो । धर्नास्थलको मञ्चबाट प्रहरीले शारीरिक रूपमा कमजोर रहेका वाङचुकलाई बाहिर लैजाँदै गर्दा उनीहरूले एआइएसएमा आबद्ध विद्यार्थीका टेन्टभित्र पनि प्रवेश गरेका थिए । पछि प्रदर्शनकारीले उनीहरूलाई त्यहाँबाट बाहिर लखेटेका थिए ।
८ जुलाईमा शिक्षाविद् वाङचुकले शिक्षमन्त्री प्रधानको राजीनामाको माग गर्दै संसद् भवनतर्फ मार्च गर्ने योजनाको घोषणा गरेका थिए । ‘यदि तपाईं साँच्चै मद्दत गर्न चाहनुहुन्छ भने आरामदायी सोफामा बसेर सन्देश पठाउनुभन्दा थोरै पहल गर्नुहोस् । २० जुलाईमा दिल्ली आउनुहोस्,’ उनले एक्समा लेखेका थिए । पछि उनले यस प्रदर्शनलाई ‘भारतको दोस्रो स्वतन्त्रता आन्दोलन’को संज्ञा दिए । यो मिति सोचविचार गरेरै तय गरिएको थियो । किनकि, सोमबारदेखि संसद्को वर्षे अधिवेशन सुरु भएको छ, जुन वर्षभरि हुने तीनवटा विधायी अधिवेशनमध्ये एक हो ।
के हो कक्रोचको माग ?
सोमबार अस्पतालबाट जारी गरिएको हातले लेखिएको एक सन्देशमा वाङचुकले शिक्षा प्रणालीमा देखिएका कथित प्रश्नपत्र चुहावट तथा अन्य कमजोरीको जिम्मेवारी सरकारले लिएमा वा विभिन्न राजनीतिक दलका सांसद तथा नेताले संसद्मा यो विषय उठाउने आश्वासन दिएमा आफ्नो अनशन अन्त्य हुने बताएका छन् । सिजेपीले मुख्यतया तीनवटा माग राखेको छ । पहिलो, सोनाम वाङचुकको तत्काल रिहाइ, दोस्रो, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र तेस्रो ‘निट’ (राष्ट्रिय योग्यता परीक्षा) विवादका कारण आत्महत्या गरेका प्रत्येक परीक्षार्थीका परिवारलाई एक करोड भारु क्षतिपूर्ति ।
वाङचुकलाई जबर्जस्ती हटाइएपछि हजारौँ मानिस भेला हुँदा शनिबार साँझ जन्तरमन्तर खचाखच भरिएको थियो । दिल्ली विश्वविद्यालयकी विद्यार्थी श्रेया कुमारले विरोधस्थलमा अलजजिरासँग कुरा गर्दै प्रहरीले प्रदर्शनकारीलाई झुक्याएको आरोप लगाइन् । आफ्ना साथीसँगै त्यहाँ पुगेकी १९ वर्षीया कुमारले भनिन्, ‘म यहाँ आएँ किनभने मेरो रगत उम्लिरहेको छ । यो सरकारले सबै कुरालाई मजाक बनाएको छ । सरकार झुटो बोल्ने र धोका दिनेको जमात हो ।’ सिजेपीका प्रवक्ता सौरभ दासले वाङचुक गैरकानुनी हिरासतमा रहेको र त्यस्तो हिरासतको आधार आफूहरूलाई उपलब्ध नगराइएको बताए ।
डिजिटल समूहको सुरुवात
भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार व्यक्तिलाई लक्षित गर्दै ‘परजीवी’ र ‘साङ्ला’ भनी गरेको टिप्पणीपछि अभिजित दीपकेले मे महिनामा ‘कक्रोच जनता पार्टी’ नामक एक व्यंग्यात्मक डिजिटल समूहको सुरुवात गरे । केही दिनभित्रै यसले इन्टरनेटमा व्यापक चर्चा पायो र विभिन्न सामाजिक सञ्जाल मञ्चमा लाखौँ अनुयायी बटुल्यो । यसले विपक्षी दलका नेता, अधिकारकर्मी, कलाकार र खेलाडीबाट समेत समर्थन प्राप्त गर्यो ।
पछिल्ला दुई वर्षयता अमेरिकामा बस्दै आएका ३० वर्षीय दीपके दिल्लीमा विरोध प्रदर्शनको नेतृत्व गर्न जुन महिनामा भारत फर्किएका थिए । उनले प्रश्नपत्र चुहावटलगायत प्रतिस्पर्धात्मक परीक्षामा भएका भनिएका अनियमिततापछि शिक्षा क्षेत्रमा सुधारको माग गर्दै उक्त प्रदर्शनको नेतृत्व गरेका थिए । पछि उनलाई अभियानकर्मी सोनम वाङचुकले साथ दिए । वाङचुकले २८ जुनदेखि जन्तरमन्तरमा अनिश्चितकालीन अनशन सुरु गरे । यद्यपि, ५९ वर्षीय वाङचुकलाई स्वास्थ्य अवस्थालाई कारण देखाउँदै गत शनिबार प्रहरीले धर्नास्थल जन्तरमन्तरबाट जबर्जस्ती उठाएर अस्पताल लगेको थियो ।
(शर्मा अलजजिराका नयाँदिल्ली संवाददाता हुन्)
अलजजिराबाट