तेस्रो प्रयासमा लेबर नेता बनेका बर्नम

आइतबार, ३ साउन, २०८३
डिजिटल संस्करण

शुक्रबार एन्डी बर्नम अन्ततः तेस्रो प्रयासमा बेलायतको लेबर पार्टीका नेता बन्न सफल भए । सत्तारुढ दलको पार्टी नेता चुनिएकाले अब अर्को साताको सुरुमै बर्नम बेलायतको ५९औँ प्रधानमन्त्री बन्नेछन् । नेता चुनिएपछि हर्षित बर्नमले लन्डनमा आयोजित विशेष महाधिवेशनमा सहभागी लेबर सांसदलाई लामो सम्बोधन गरे । सम्बोधनमा उनले ‘आशा फिर्ता ल्याउने’ वाचा गरे । साथै उनले आफू बेलायतभित्रका सबै राष्ट्र (इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्ड)को नेता बन्ने वाचा गरे । तर, यो पदमा आइपुग्न बर्नमलाई एक दशकभन्दा बढी समय लाग्यो ।

सन् २०१० मा ‘ब्लेयरवादी गुट’का उदाउँदो नेताको पहिचान बनाएका बर्नमले पार्टी नेतृत्वमा पहिलो प्रयास गरेका थिए । तर, त्यतिवेला उनी नेता चुनिने सम्भावना कम नै थियो । उनले खालि आफ्नो पहिचान बढाए । पाँच वर्षपछि उनी फेरि पार्टी नेतृत्वको प्रतिस्पर्धामा उठे । तर, त्यसपटक जेरेमी कोर्बिनसँग हारे । र, अहिले ११ वर्षपछि पार्टी नेतृत्वमा उनको आरोहण रोक्न नसकिने रूपमा आयो ।

बर्नमको उदय किन र कसरी भयो भनेर बुझ्न अहिलेको अवस्थाले उनलाई कसरी अवसर सिर्जना गरिदियो भन्ने बुझ्नु महत्वपूर्ण छ । सन् २०२४ मा भारी बहुमत पाएपछि लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कियो । लेबर नेता किअर स्टारमरको नेतृत्वमा सरकार बन्यो । तर, अभूतपूर्व मत पाएर सत्तामा फर्किएको स्टारमर सरकार केही महिनाभित्रै एकपछि अर्को विवाद र संकटमा फस्दै गयो । यसले गर्दा चुनावको समयको पार्टी लोकप्रियतामा निरन्तर ह्रास आउँदा स्टारमर रेकर्ड राख्न सुरु भएयता नै सबैभन्दा अलोकप्रिय प्रधानमन्त्री बने ।

सरकारको अलोकप्रियताबिच लेबर पार्टीले राजनीतिका दुई विपरीत धारका दलबाट शक्तिशाली चुनौतीको सामना गर्न थाल्यो । उग्र दक्षिणपन्थी रिफर्म युके र वामपन्थी ग्रिन्स पार्टीले एकपछि अर्को उपचुनावमा लेबरलाई हराउन थाले । लेबरको मतदाता स्पष्ट रूपमा विघटन भइरहेको थियो । यसको अन्तिम धक्काका रूपमा आयो मे २०२६ को स्थानीय चुनाव । त्यसमा पार्टीले ठुलो संख्यामा स्थानीय काउन्सिलरहरू गुमायो । पराजयपछि लेबर पार्टीका सांसद झस्किए । सन्देश स्पष्ट थियो– स्टारमरकै नेतृत्वको सरकार अर्को चुनावसम्म रहे पार्टीका कुनै पनि सांसदको सिट सुरक्षित हुनेछैन ।

एकपछि अर्को चुनावमा पार्टीको हारपछि स्टारमरविरुद्ध पार्टीमा विरोधका आवाज सुनिन थाले । उनीविरुद्ध नेतृत्वको चुनौती आउने चर्चा बढ्यो । विभिन्न नामको चर्चा भए पनि अन्ततः पार्टीले विगतमा दुईपटक अस्वीकार गरेको व्यक्ति बर्नम निर्विवादित दाबेदारका रूपमा देखिए । आखिर यो अवस्था कसरी आइपर्यो ? यसका प्रमुख कारक हुन्– लेबर पार्टीको नेता चयन गर्ने प्रणाली, आन्तरिक पार्टी पंक्तिबद्धताको सन्तुलन, प्रतिस्पर्धाको संरचना र व्यक्तिगत कारक ।

चुनावी प्रक्रियाको सन्दर्भमा सन् २०१० मा लेबरको नेतृत्व चयन मुख्यतः तीन खण्डमा विभाजित निर्वाचन मण्डलद्वारा गरिएको थियो । ती खण्डमा थिए– सांसदहरू, पार्टीका क्रियाशील सदस्यहरू र पार्टीसम्बद्ध ट्रेड युनियनबाट लेबी तिर्नेहरू । सन् २०१३ मा भएको नेतृत्व चुनावमा भने पुरानो व्यवस्थालाई क्रियाशील सदस्यले प्रत्यक्ष मतदानबाट प्रतिस्थापन गरेका थिए  । त्यसवेला पनि सदस्यहरू तीन वर्गमा विभाजित थिए– साधारण सदस्य, सम्बद्ध ट्रेड युनियनका सदस्य र दर्ता भएका पार्टी समर्थक । यस निर्वाचन प्रणालीबारे मैले ‘अर्डर एन्ड रिबेलियनः लेबर्स म्यानिजिरियल पोलिटिक्स फ्रम मिलिब्यान्ड टु स्टारमर’ पुस्तकमा विस्तारमा चर्चा गरिएको छ ।

यही चुनावी प्रणालीअन्तर्गत सन् २०१५ मा भएको चुनावमा कोर्बिनले बहुमत पाएका थिए । तर, २०२६ सम्ममा पार्टी नेताको चुनावसम्बन्धी प्रणालीमा दुई महत्वपूर्ण परिवर्तन गरिए । पहिलो, तीन समूहमध्ये दर्तावाला समर्थकको वर्ग खारेज गरियो । दोस्रो, नेतृत्वका दाबेदारले मनोनयनका पार्टीका सांसद संख्याको १२.५ प्रतिशत समर्थन पाउनुपर्ने सीमा बढाएर २० प्रतिशत गरियो । पहिलो परिवर्तन त्यति प्रभावकारी होइन, तथापि दोस्रो प्रावधानले यसपटकको पार्टी नेताका चुनावमा प्रभाव पार्यो । यस प्रावधानले मुख्यतः पार्टीभित्रको उग्र वामपन्थी गुटका कुनै नेतालाई उम्मेद्वारी दिन प्रभावकारी रूपमा रोकेको छ । यसले नरम वामपन्थीलाई फाइदा पुर्यायो, जुन समूह बर्नम आफूलाई राख्छन् ।

लेबरका सदस्यमाझ विचारधारको पंक्तिबद्धता परिवर्तनबारे कुनै भरपर्दो तरिका उपलब्ध छैन । सन् २०१० र २०२६ बिचमा सदस्यतामा ठुलो परिवर्तन भएकाले यो मापन गर्न कठिन छ । तथापि, धेरैजसो पर्यवेक्षक पार्टी सदस्यता सन् २०१५ पछि र फेरि सन् २०२० पछि दक्षिणपन्थतर्फ सरेको मान्छन् । पार्टीनजिकका पर्यवेक्षक पनि औसत पार्टी सदस्यमा नरम वामपन्थी बढिरहेकोमा सहमति जनाउँछन् । यही कारणले गर्दा स्टारमरले सन् २०२० को नेतृत्व दौडमा आफूलाई नरम वामपन्थी प्लेटफर्ममा प्रतिस्पर्धा गरेका थिए । (तथापि पछि उनले त्यसलाई पनि त्यागे ।) यदि बर्नमले पनि सन् २०१५ मा उस्तै नीति अपनाएको भए उनले जित्न सक्थे ।

बर्नमले प्रतिस्पर्धा गरेका तिनै प्रतियोगितामा प्रतिस्पर्धाको संरचना फरक फरक थियो । सन् २०१० मा उनी गम्भीर दावेदार नै थिएनन् । त्यस चुनाव मुख्यतः मिलिब्यान्डका दुई दाजुभाइ एड र डेभिडबिचको प्रतिस्पर्धा थियो । सन् २०१५ मा चारजना प्रतिस्पर्धी थिए– बर्नम, पार्टीभित्रका उग्र वामपन्थी गुटबाट कोर्बिन, दक्षिणपन्थी गुटबाट लिज केन्डल र यभेट कुपर ।

सन् २०१५ को संसदीय चुनावमा हारपछि पार्टी दक्षिणपन्थतर्फ ढल्कनेछ भन्ने अनुमान गरेर उनले गम्भीर गलत गणना गरे । वास्तवमा, आमनिर्वाचनपछि भएको पार्टी नेतृत्वको चुनावमा भने वामपन्थीहरू हाबी भए । कोर्बिनले वामपन्थी मतलाई व्यापक रूपमा जित्न सफल भए । कोर्बिनले पाएका मतमा ठुलो संख्याको नरम वामपन्थी मत पनि समावेश थियो । बर्नमले त्यसवेला पाठ सिके । संसद् छाडेपछि र ‘ग्रेटर म्यानचेस्टर’को नवसिर्जित मेयर पद जितेपछि उनले नरम वाम मुद्दा बोक्न थाले ।

बर्नमबाहेक स्टारमरको उत्तराधिकारी बन्ने दौडमा अन्य तीनजना मात्र सम्भावनायुक्त उम्मेदवार थिए, नरम वामपन्थी समूहबाट एन्जेला रेनर र एड मिलिब्यान्ड र दक्षिणपन्थी गुटबाट वेस स्ट्रिटिङ । यहीँनेर बर्नमको पक्षमा मौकाले हस्तक्षेप गर्यो । लोकप्रिय रेनर कर मुद्दा फसेपछि उपप्रधानमन्त्री र उपनेताको पदबाट राजीनामा दिन बाध्य भइन् । त्यो मुद्दा नआएको भए अहिले उनी पार्टी नेतृत्वको सबैभन्दा बलियो उम्मेद्वार हुन्थे होलान् ।

रेनरबाहिरिएपछि बर्नमसँग विगतमा नजिकबाट काम गरेका मिलिब्यान्ड नरम वामपन्थ मत विभाजित हुने चिन्ताले नेतृत्व दौडबाट टाढा रहे । अब स्ट्रिटिङ मात्र बाँकी रहेका थिए । उनको समस्या सरल थियो, उनले नेतृत्व प्रतिस्पर्धामा उभिन आवश्यक ८१ सांसदको समर्थन त जुटाउन सक्थे होलान् । तर, पार्टीको दक्षिणपन्थी गुटका सदस्यका रूपमा उनले बर्नमलाई नेतृत्व प्रतिस्पर्धामा हराउन सक्ने सम्भावनै थिएन । स्ट्रिटिङ निश्चित हारिने चुनावमा उभिन चाहेनन् । अन्तमा, बर्नमका व्यक्तिगत गुणमध्ये दुईवटा विशेष ध्यान दिन लायक छन् । पहिलो, ग्रेटर म्यानचेस्टरमा उनले गरेका कामका कारण उनी उम्मेद्वारमध्ये सबैभन्दा बढी लोकप्रिय थिए ।

दोस्रो, मेकरफिल्डजस्तो क्षेत्रको उपनिर्वाचनमा उम्मेद्वारी दिने उनको इच्छाले पनि उनको जोखिम मोल्ने क्षमता देखाउँछ । खासमा उनी सजिलै हार्न सक्थे । मे महिनाको स्थानीय चुनावमा त्यहाँको प्रत्येक वार्डमा रिफर्म युके विजयी भएको थियो । तर, संसदीय उपचुनावमा भने बर्नमको अप्रत्याशित निर्णायक विजयले उनको जनअपिल प्रदर्शन गर्यो । योसँगै आगामी आमनिर्वाचनमा आफ्नो सिट गुमाउने डरमा बसेका सयौँ लेबर सांसदले राहतको सास फेरेका छन् । बर्नमले मेकरफिल्डमा आफ्नो करियर दाउमा लगाएका थिए । उनले त्यसको फल पनि पाएका छन् । 

द कन्भर्सेसनबाट
एरिक ‘युनिर्भसिटी अफ स्टलिङ’मा राजनीतिशास्त्रका व्याख्यता हुन् । 

सुझावित समाचार