- पाकिस्तानी सेनासँग बढ्दो घनिष्टताका कारण बंगलादेशको सेनामा पनि धार्मिक रुझान बढेको केहीले औँल्याएका छन्
बंगलादेशको राजनीति, नागरिक समाज र शिक्षामा प्रभाव पार्ने ‘इस्लामवाद’को लामो समयदेखिको प्रयास अहिले त्यहाँको सेनामा समेत विस्तार भएको छ । गत महिना बंगलादेश मिलिटरी एकेडेमीमा आयोजित एक कार्यक्रमका दौरान सेना प्रमुख जनरल वकार–उज–जमानले सैन्य जीवनमा धार्मिक मूल्य–मान्यता र नैतिक सिद्धान्त पालना गर्नुको महत्वमा जोड दिए । उनले राष्ट्रिय सेनामा एक नयाँ युनिटको घोषणा गरे, जसको चार कम्पनीको नाम इस्लामका प्रथम चार खलिफाहरू– उमर, अबु बकर, अली र उस्मानको सम्मानमा राखिएको छ ।
आफूलाई धर्मनिरपेक्ष र गैरराजनीतिक ठान्ने बंगलादेशी सेनाको यस कदमले देशभित्र र बाहिर धेरैको ध्यान खिचेको छ । यद्यपि, सेनाभित्र इस्लामावादी धार्मिक प्रभाव अचानक विकसित भएको भने होइन । सन् १९७३ को सुरुमै क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोले बंगलादेशका संस्थापक सेख मुजिबुर रहमानलाई यस्तो अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।
गत वर्ष अगस्ट १६ मा कृष्ण जन्माष्टमीका अवसरमा देशका हिन्दुलाई सम्बोधन गर्दै सेना प्रमुख जमानले बंगलादेशको धर्मनिरपेक्ष जगमाथि जोड दिएका थिए । उनले ‘देश सबै देशवासीको भएकाले धर्म, जात वा समुदायका आधारमा भेदभाव नहुने र कसैले पनि कुनै डर नलिई बाँच्न पाउने अधिकार भएको’ बताएका थिए । मुहम्मद युनुस नेतृत्वमा अन्तरिम सरकारको त्यो समय देश साम्प्रदायिक तनावको सामना गरिरहेको थियो ।
तर, एक वर्षपछि गत जुन १८ मा बंगलादेश मिलिटरी एकेडेमीमा ९०औँ ‘लङ कोर्स’का क्याडेटका ‘पासिंग आउट’ परेडमा जमानको पुरानो धर्मनिरपेक्षतासम्बन्धी अडान फेरिएको देखियो । यसपटक उनले सैन्य जीवनमा (बहुसंख्यकको) धार्मिक मूल्य–मान्यता र नैतिक सिद्धान्त पालना गर्नुको महत्वमा जोड दिए । यही परिवर्तनको स्पष्ट संकेत, चार ‘इन्फ्यान्ट्री’ सैन्य कम्पनीको नाम इस्लामका पहिला चार खलिफाका नाममा राखेर दिइएको छ ।
अहिलेसम्म बंगलादेशी सेनाका एकाइको नाम सामान्यतया भौगोलिक वा प्रशासनिक नामका आधारमा राखिन्थ्यो । यस्तोमा अहिले धार्मिक नाम दिनुलाई महत्वपूर्ण परिवर्तन मानिएको छ । जुन चार कम्पनीको नाम धार्मिकका आधारमा राख्ने काम भएको छ, त्यो काम खासमा सेना प्रमुख जनरल जमान हजबाट फर्केपछि भएको हो । हजबाट फर्किएपछि सेना प्रमुखले विगतमा कहिल्यै नपालेको दाह्रीसमेत पालेको फोटो बाहिरिन थालेको छ ।
बंगलादेशी सेनाभित्र बढ्दो धार्मिक प्रभावबारे भारतीय सुरक्षा बललाई सतर्क रहन सल्लाह दिँदै भारतीय सेनाका पूर्वलेफ्टिनेन्ट जनरल एमके दासले पाकिस्तानी सेनासँगको बढ्दो घनिष्टताले बंगलादेशी सेनामा पनि धार्मिक रुझान बढेको औँल्याएका छन् । जनरल दासका अनुसार विगतमा अबामी लिग सेनाको धार्मिक रुझानलाई केही हदसम्म रोक्न सफल भएको थियो ।
यसै सन्दर्भमा क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोले बंगलादेशका संस्थापक सेख मुजिबुर रहमानलाई दिएको चेतावनीमा ध्यान दिनु महत्वपूर्ण हुन्छ । सेप्टेम्बर १९७३ मा अल्जेरियाको अल्जियर्समा असंलग्न आन्दोलनको शिखर सम्मेलन भएको थियो । त्यहीँ सेख मुजिबुर रहमान र क्यास्ट्रोको भेट भयो । मुजिबुरको प्रशंसामा ‘आफू हिमालय नदेखेको मान्छेले सेख मुजिबुर रहमानलाई देख्न पाएकामा धन्य भएको’ बताएका क्यास्ट्रोले उनलाई केही गम्भीर चेतावनी पनि दिए । आफ्ना राजनीतिक विरोधीप्रति अत्यधिक उदारता देखाइरहने हो भने उनको छवि नैतिकवान् नेताको नभई कमजोर नेताको बन्ने क्यास्ट्रोले चेतावनी दिएका थिए ।
बंगलादेशी मामिलाविज्ञ मानस घोषले मुजिबुरको हत्यारबारे लेखेको पुस्तक ‘मुजिब्स ब्लन्डर्स : द पावर एन्ड द प्लट बिहाइन्ड हिज किलिङ’मा यो भेटवार्ताबारे विस्तारमा व्याख्या गरेका छन् । पुस्तकअनुसार क्यास्ट्रोले मुजिबुरलाई उनले ख्याल नगरेको खतराप्रति सतर्क गराएका थिए । मुजिबको विश्वास थियो कि पाकिस्तानमा काम गरेर फर्किएका शीर्ष सरकारी अधिकारीलाई पुनः शीर्ष सरकारी पद दिँदा उनीहरूको दृष्टिकोण परिवर्तन हुनेछ । तर, क्यास्ट्रोले उनलाई त्यसो नगर्न र गरे त्यसले भविष्यमा ठुलो खतरा निम्त्याउन सक्ने भन्दै सतर्क गराउने प्रयास गरेका थिए ।
घोषले पुस्तकमा क्यास्ट्रोलाई उद्धृत गर्दै लेखेको छन्, ‘तपाईं बढी उदारता देखाएर आफ्नो देशलाई प्रतिक्रान्तितर्फ धकेल्दै हुनुहुन्छ । मैले क्युबामा बाटिस्टालाई सत्ताच्युत गरेपछि उनका विश्वासपात्रजति सबैलाई हटाएर तिनका ठाउँमा आफ्ना भरोसायोग्य मानिसलाई राखेको थिएँ ।’ घोषका अनुसार मुजिबले क्यास्ट्रोको चेतावनीलाई हल्का रूपमा लिए । त्यसैले, उनले पाकिस्तानी गुप्तचर एजेन्सीमा प्रमुख रहिसकेका व्यक्तिलाई आफ्ना ‘भिजिलेन्स कमिस्नर’ नियुक्त गर्ने गल्ती गरे । ती अधिकारीले मुजिबका हरेक गतिविधिबारे पाकिस्तानलाई सूचना दिइरहेका थिए ।
मुजिबको यही गल्तीले बंगलादेश प्रशासन र सेनाभित्र पाकिस्तान समर्थक र पाकिस्तानको प्रश्रयमा इस्लामवादी तत्व हुर्कने अवस्था बन्यो । यही गल्तीले पछि उनकै ज्यानसमेत गयो । देशले लिइरहेको धर्मनिरपेक्ष बाटोबाट रुष्ट सेनाको एक हिस्साले अगस्ट १५, १९७५ मा मुजिबुर र उनको परिवार सदस्यको हत्या गरिदियो । उनका दुई छोरी सेख हसिना र सेख रेहना त्यसवेला विदेश भ्रमणमा रहेकाले बचे । अहिले उनै हसिनाको डेढ दशक लामो धर्मनिरपेक्ष शासन अन्त्य भएको केही समयपछि नै देशको सेनाले धार्मिक रुझान लिएको छ ।
द प्रिन्टबाट
(हल्दर ‘जागरण लेकसिटी विश्वविद्यालय’का प्राध्यापक हुन् ।)