- हाम्रो शिक्षा तथा सिपसम्बद्ध तालिम प्रणालीमा आमूल परिवर्तन गरी सिपमूलक शिक्षासित आमयुवालाई जोड्नु अति जरुरी छ
अहिले बंगलादेशका लागि सबैभन्दा ठुलो चुनौती ठुलो संख्यामा रहेका बेरोजगार युवालाई उनीहरूको क्षमता र दक्षताअनुसार आवश्यक रोजगारी उपलब्ध गराउनु हो । सन् २०२४ को श्रमशक्ति सर्वेक्षण (लेबर फोर्स सर्भे) अनुसार करिब ८६ लाख युवा न त रोजगारीमा छन्, न कुनै तालिम वा शिक्षामै संलग्न छन् । यसको अर्थ देशले प्राप्त गर्न सक्ने ‘जनसांख्यिक लाभ’ बिस्तारै गुम्दै गइरहेको छ । सिप र रोजगारीबिचको असन्तुलन यसको एउटा प्रमुख कारण हो । आफूहरूलाई प्राप्त हुने अत्यधिक संख्याका आवेदनमध्ये आवश्यक सिप भएका उम्मेदवारको चरम अभाव रहेको रोजगारदाताले बारम्बार औँल्याउँदै आएका छन् । यस्ता आवश्यक सिपमा आलोचनात्मक सोच, समस्या समाधान गर्ने क्षमता र डिजिटल सिप पर्छन् ।
बजारमा हजारौँको संख्यामा डिग्री हासिल गरेका असंख्य व्यक्ति रोजगारी पाउन नसक्ने अवस्थामा हुनु निकै चिन्ताजनक विषय हो । यसले देशको वास्तविक अवस्थालाई झल्काउँछ । शिक्षित युवा बेरोजगार हुनुको प्रमुख कारण पर्याप्त रोजगारीको अभाव नभई विद्यमान पेसा वा कामका लागि आवश्यक सिपको कमी हुनु हो । विश्वविद्यालय र तालिम केन्द्रको संख्या बढे पनि पाठ्यक्रम भने पुरानै शैलीको र तीव्र रूपमा परिवर्तन भइरहेको उद्योगको आवश्यकतासँग मेल नखाने खालको छ । रोजगारदाता र उद्योगले कृत्रिम बुद्धिमत्ता (एआई) र उच्चस्तरीय डिजिटल सिप माग गर्छन्, तर करिब ४२ प्रतिशत व्यावसायिक तालिम अझै पनि आधारभूत कम्प्युटर सिपमै केन्द्रित छन् । वास्तवमा सिपसम्बन्धी यो खाडल प्राथमिक र माध्यमिक शिक्षा तहबाटै सुरु हुन्छ । विकसित देशका उद्योगधन्दा एआईमा भर पर्न थालिरहेका वेला देशका कतिपय युवा कम्प्युटरमा दक्ष नहुनु अझ उदेकलाग्दो विषय हो ।
हाम्रो शिक्षा प्रणालीले अझै पनि आलोचनात्मक सोच वा समस्या समाधानको सिपभन्दा घोकेर पढ्ने कुरामै बढी जोड दिन्छ । ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकामध्ये ४९ प्रतिशतमा मात्र आधारभूत पढाइ र गणितीय सिप छ । जबकि उच्च माध्यमिक तह (एचएससी) उत्तीर्ण गरेका धेरै विद्यार्थीको सिपस्तर कक्षा ७ का विद्यार्थीसरह मात्र देखिन्छ । यसले गर्दा वयस्क हुँदा उनीहरूले राम्रो तलब पाइने रोजगारी प्राप्त गर्ने सम्भावना निकै कम हुन्छ ।
अर्को चिन्ताजनक प्रवृत्ति भनेको श्रमबजारबाट बाहिरिने महिलाको बढ्दो संख्या हो । पारिश्रमिक नपाइने हेरचाहसम्बन्धी काम तथा बालबालिकाको हेरचाह, सुरक्षित आवास र यातायातको अभाव यस प्रवृत्तिका केही कारण हुन् । यसमा दशकौँदेखि बढ्दै गएको बालविवाहको समस्यालाई पनि जोड्नुपर्छ । सन् २००६ देखि २०२४ को अवधिमा ५१ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको थियो, जसका कारण धेरै महिला शिक्षा, सिप तालिम र रोजगारीको अवसरबाट वञ्चित छन् ।
तसर्थ, शिक्षा र सिप तालिमको क्षेत्रमा दशकौँदेखि हुँदै आएको उपेक्षा र नवीनताको अभावलाई सच्याउने चुनौतीपूर्ण कार्यभार सरकारसामु छ र यसलाई सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्छ । तालिम केन्द्र र डिजिटल पूर्वाधारमा लगानी गर्दैमा मात्र यो समस्या समाधान हुनेछैन । यसका लागि योग्य शिक्षक, अद्यावधिक पाठ्यक्रम, पेसागत परामर्श र जनशक्तिको निरन्तर पुनर्तालिम आवश्यक पर्छ । तालिम कार्यक्रम उद्योगको बदलिँदो आवश्यकताअनुरूप हुनुपर्छ । नीति निर्माताले सिप तालिम कार्यक्रमले राम्रो पारिश्रमिक पाइने रोजगारी प्राप्त गर्न कत्तिको मद्दत गरे भनेर मूल्यांकन गर्ने वेला आएको छ । पाठ्यक्रम, तालिम कार्यक्रम र दक्षताको मूल्यांकन विधि तयार गर्दा रोजगारदातासँग परामर्श गरिनुपर्छ । तालिममा सञ्चार, समस्या समाधान, सामूहिक कार्य (टिमवर्क), डिजिटल साक्षरता र अनुकूलन क्षमताजस्ता उच्च माग भएका ‘सफ्ट स्किल्स’लाई पनि समावेश गरिनुपर्छ ।
यसका साथै महिलाका लागि तालिम, कार्यस्थल र रोजगारीको पहुँच सुनिश्चित गर्दै श्रम बजारमा उनीहरूको सहभागिता उल्लेख्य रूपमा बढाउनुपर्छ । बालविवाह निरुत्साहन मात्र होइन, तत्काल रोक्नुपर्छ । ताकि, किशोरीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिने, सिप हासिल गर्ने र लाभदायी रोजगारीमा संलग्न हुने अवसर पाउन सकून् । उद्योगको मागअनुसारको सिप विकास गर्नुका साथै हजारौँ थप रोजगारी सिर्जना गर्न आवश्यक छ । यस्ता रोजगारी राष्ट्र निर्माणमा सघाउ पुर्याउनुका साथै हाम्रा युवाका लागि उज्ज्वल भविष्यको निर्माण गर्न सफल हुन सकून् ।
द डेलीस्टारबाट
(बंगलादेशको द डेलीस्टारको बिहीबारको सम्पादकीय)