चालू विश्वकपमा विभिन्न क्लबमा आबद्ध खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । युरोप, दक्षिण र उत्तर अमेरिका, एसिया र अफ्रिकाका शीर्ष डिभिजन क्लबका खेलाडीले आफ्नो प्रतिभा विश्वकपमा देखाएका छन् ।
आशा गरेका खेलाडी चल्न सकेनन् । केही भने नपत्याउँदो रूपमा विश्वकपभर चम्किए । विश्वकपमा इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडीको दबदबा देखिएको छ । यसमा पनि म्यानचेस्टर सिटीका खेलाडीको वर्चस्व रहेको तथ्यांकले देखाएको छ ।
अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको ३३औँ दिनसम्म म्यानचेस्टर सिटीका खेलाडीले समग्रमा पाँच हजार २७ मिनेट मैदानमा बिताए । चार वर्षअघि कतारले आयोजना गरेको विश्वकपमा आर्सनल र सिटीका खेलाडीले मैदानमा धेरै समय बिताएका थिए ।
यसपटक भने सिटीले बाजी मारेको छ । सिटीमा आबद्ध स्पेनका रोड्रीले सर्वाधिक ५३७ मिनेटसम्म प्रतिस्पर्धा गरेका छन् । सेन्टर ब्याक मार्क गुइहीले ४३८ तथा इंग्ल्यान्डका डिफेन्डर निको ओलियले ४५४ मिनेट प्रतिस्पर्धा गरेका छन् । यसैगरी नटिंघम फरेस्टबाट आर्सनलमा पुगेका इलिट एन्डेसनले ५३३ मिनेट प्रतिस्पर्धा गरेका छन् ।
सिटीपछि आर्सनलका खेलाडी दोस्रो स्थानमा
सिटीपछि आर्सनलका खेलाडी दोस्रो स्थानमा छन् । समग्रमा आर्सनलमा आबद्ध खेलाडीले चालू विश्वकपमा चार हजार २८५ मिनेट प्रतिस्पर्धा गरेका छन् । आर्सनलका विलियम सलिवाले फ्रान्सबाट ४५० मिनेट खेले ।
यसैगरी इंग्ल्यान्डका डेल्कान राइसले ३८६ मिनेट, नोनी माडुकेले २८८ र बुकाया साकाले २६७ मिनेट विश्वकपमा बिताइसकेका छन् । यसैगरी, लिभरपुल, एस्टन भिल्ला तथा म्यानचेस्टर युनाइटेडका खेलाडीले समग्रमा दुई हजार पाँच सय मिनेट प्रतिस्पर्धा गरेको बिबिसीले उल्लेख गरेको छ ।
डिफेन्डर, मिडफिल्डर, स्ट्राइकरका तुलनामा गोलरक्षकले मैदानमा धेरै समय बिताए । इमिलिनो मार्टिनेजले ६ सय तथा जोर्डान पिकफोर्डले ५७० मिनेट गोलकिपिङ गरेका छन् ।
यी दुवै गोलरक्षक इंग्लिस प्रिमियर लिगमा आबद्ध छन् । इंग्लिस प्रिमियर लिगको चर्चित क्लब चेल्सी र एभर्टनका खेलाडीले विश्वकपमा त्यति अवसर पाएनन् ।