असफल बन्दै गएको सम्झौतापत्रको सबै दोष पेजेस्कियानमाथि थोपर्दै इरानी शासक

बुधबार, ३१ असार, २०८३
डिजिटल संस्करण

विगत केही दिनयता अमेरिकाले इरानभित्र र इरानले खाडी क्षेत्रका अमेरिकी आधारमा बमबारी गरिरहेका छन् । यसले इरान र अमेरिका–इजरायल युद्धबिच जारी शान्ति वार्तालाई अवरुद्ध गर्ने जोखिम बढाएको छ । संयुक्त राज्य अमेरिकाले इरानमाथि गरेको आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् । शान्तिवार्तालाई अगाडि बढाउने रूपरेखाका रूपमा अमेरिका र इरानले हस्ताक्षर गरेको ‘समझदारीपत्र (एमओयू)’ माथि नै प्रश्न उठेको छ ।

इरानभित्र अमेरिकी कदमप्रति बढ्दो क्रोधबिच आइरहेका आधिकारिक बयानबाजी हेर्ने हो भने पछिल्लो असफलताका लागि इस्लामिक शासनका शीर्षस्थ अधिकारीले एक व्यक्तिलाई जिम्मेवार ठहर्याउन खोजेजस्तो देखिन्छ : उनी अरू कोही नभएर इरानका राष्ट्रपति मसुद पेजेस्कियान हुन् । राष्ट्रपतिलाई दोष लगाएर सत्तारुढ अभिजातवर्ग आफूभित्रको आन्तरिक विभाजनलाई ढाकछोप गर्ने प्रयास पनि हो ।

दोषी खोज्ने प्रपञ्च
इरान अमेरिकाबिच वार्तालाई अगाडि बढाउने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको केही दिनपछि नै सर्वोच्च नेता मोज्तबा खामेनीले त्यसबारे पहिलो सार्वजनिक बयान दिएका थिए । त्यसमा उनले सम्झौताप्रति ‘फरक दृष्टिकोण’ उल्लेख गरे । उनले सम्झौतापत्रलाई अनुमति दिनुको कारण राष्ट्रपतिले ‘सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखको रूपमा’ इरानी राष्ट्र र ‘प्रतिरोध मोर्चा’को अधिकारको रक्षा गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । साथै राष्ट्रपति पेजेस्कियानले ‘सम्झौताका लागि सबै जिम्मेवारी स्वीकार गर्ने’ बताएको पनि सर्वोच्च नेताले बताएका छन् । महत्वपूर्ण कुरा, कथनमा सम्झौतामा वार्तामा संलग्न व्यक्तिको नाम उल्लेख गरिएको छैन । संसद्का सभामुख र वार्ता टोलीका प्रमुख मोहम्मद बागेर गालिबाफले इरानी मिडियालाई बताएअनुसार ‘वार्ताको जिम्मेवारी ‘प्रणालीले उनलाई सुम्पिएको थियो ।’

यसरी, इस्लामिक गणतन्त्रनिकट इतिहासको सबैभन्दा परिणाममुखी सम्झौतापत्रका लागि सर्वोच्च नेताले ती व्यक्ति (राष्ट्रपति)लाई पूर्ण जिम्मेवार देखाएका छन्, जसले शासन सञ्चालनमा धेरै प्रभाव पार्न सक्दैनन् । सर्वोच्च नेताले वार्ता प्रमुख गालिबाफको नाम भुलेर छुटाएका थिएनन्, यो त नियतवश थियो । तेहरानमा सम्झौतापत्रका सम्भावित फाइदा र सम्भावित जोखिमलाई जानाजानी अलग गरिएको छ । यदि सम्झौतापत्रले परिणाम दिन्छ भने त्यसको जिम्मेवार गालिबाफ हुनेछन्, तर यदि यो असफल भयो भने असफलताको दोष पेजेस्कियानले पाउनेछन् । यसैले, युद्धपछिको इरानमा शक्ति कसको हातमा छ भन्ने कुरामाथि धेरै प्रकाश पार्छ ।

इरानका वास्तविक शासकमाझ विभाजन
अमेरिकासँग सहमति भएको सम्झौतापत्र खासमा इरानको वास्तविक सत्तारुढ समूहले नै तयार गरेको थियो । इरानका वास्तविक शासक अहिले ‘इस्लामिक रिभोलुस्नरी गार्ड गोप्स (आइआरजिसी)’, राज्यका अन्य सुरक्षा फौज र धार्मिक समूहबिचको गठबन्धन हो । सन् २००० को दशकमा निजीकरणको नाम सम्पत्ति स्थानान्तरण गर्ने प्रयासमा बनेको यो गठबन्धन पछि गएर पश्चिमी प्रतिबन्ध छल्न अपरिहार्य बनेको गोप्य सञ्जालले झन् कसिलो बन्यो । अहिले यो समूहले इरानी अर्थतन्त्रको ठुलो हिस्सा नियन्त्रण गर्छ । तथापि, आमनागरिकको नजर बाहिर सञ्चालन भइरहेकाले धेरै चर्चा हुँदैन ।

यस गठजोडको प्रमुख पदाधिकारी सीधै सर्वोच्च नेताद्वारा नियुक्त गरिन्छ भने ‘अभिभावक परिषद्’ले समूहको एकाधिकारलाई जोगाउन कानुन बनाउनेदेखि अन्य प्रतिरक्षाको काम गर्छ । तथापि, गठजोड एक ढिक्का भने छैन । पछिल्लो युद्धका क्रममा छोपिएको यसको विभाजन सम्झौतापत्रमा सहमति भएपछि भने स्पष्ट बनेको छ । यसअनुसार एकातिर प्राविधिक आर्थिक शाखा रहेको छ, जसको नेतृत्व गालिबाफले गरिरहेका छन् । विगतमा आइआरजिसीको ‘खातम अल–अन्बिया निर्माण समूह’को प्रमुख, तेहरानका मेयर, संसद्का सभामुख र चीनका लागि विशेष प्रतिनिधिको रूपमा करियर बनाएका गालिबाफ एक बृहत्तर संस्थागत प्रतिनिधिजस्ता लाग्छन् ।

इरानका वास्तविक शासनको अर्कोतर्फ छ, ‘पेदारी मोर्चा’ वरिपरि संगठित वैचारिक–अधिकतमवादी शाखा । यसले अमेरिकासँगको कुनै पनि संलग्नतालाई विश्वासघात मान्छ भने इरानभित्र हुने पश्चिमी लगानीलाई शासनका लागि अस्तित्वगत खतराको रूपमा हेर्छ । सम्झौतापत्रमा हस्ताक्षरपछि देखिएको स्पष्ट विभाजन रेखाको कारण खासमा त्यसमा प्रस्तावित तीन सय अर्ब डलरको निजी पुनर्निर्माण र विकास कोष हुन सक्छ ।

गालिबाफ समूहले उक्त कोषलाई आवश्यक मानेको छ । तिनका अनुसार स्थिरताका लागि आर्थिक पुनरोत्थान आवश्यक छ । साथमा विश्वजगत्बाट एक्लिएर बस्नुको सट्टा यो समूह होसपूर्वक विश्वव्यापी पुँजीसँग समायोजित हुने पक्षमा छ । पेदारी समूहले भने सम्झौतापत्रमा उल्लेख विदेशी लगानी आर्थिक पुनरोत्थानको माध्यम नभई देशभित्र हस्तक्षेपको माध्यम मानेको छ । समूहभित्रका शीर्षस्थ नेताले उक्त कोष कहाँ खर्च गर्ने भन्ने कुरामा वासिंटन र यसका क्षेत्रीय साझेदारको निर्णायक भूमिका रहने भएकाले यसले देशको सार्वभौमिकता नै खतरामा पर्ने चेतावनी दिइरहेका छन् ।

यस सम्बन्धमा गालिबाफ समूहले आन्तरिक बहस जित्यो र सम्झौता गर्ने पक्षमा अघि बढ्यो । त्यस प्रावधानका लागि देशभित्र वाहवाही पनि पायो । तर, अहिले युद्धविराम र एमओयू कमजोर हुँदै गएको सन्दर्भमा यसको असफलताका लागि यसलाई भने अर्कै ‘बलिको बकरा’ खोजिँदै छ । गालिबाफ लामो समयदेखि खामेनीको घेरामा छन् । उनीसँग पेजेस्कियानसँग नरहेको आइआरजिसीसँगको विगतको सम्बन्धन र संस्थागत समर्थन छ ।

राष्ट्रपतीय ‘सर्किट ब्रेकर’
विगतमा पेजेस्कियानलाई सत्तारुढ समूहले राष्ट्रपतिको भूमिकाका लागि उपयुक्त ठानेको थियो । विशेषतः उनमा रहेका केही कमीले आफूहरूको फाइदा गर्ने तिनको बुझाइ थियो । विगतका राष्ट्रपतिले कार्यकाल सम्हालेपछि पदमा अर्कै वजन ल्याउने गर्थे । अकबर हासेमी रफसन्जानी गहिरो राजनीतिक र सुरक्षा सञ्जाल भएका क्रान्तिबाट उदाएका नेता थिए । मोहम्मद खतामीसँग आवश्यक पर्दा सामाजिक क्षेत्रलाई आफ्नो पक्षमा सञ्चालन गर्ने क्षमता थियो । हसन रुहानीसँग गुटगत लाभ र राष्ट्रिय सुरक्षा विरासत थियो ।

तर, पेजेस्कियानसँग तीनमध्ये कुनै पनि सामर्थ देखिँदैन । सन् २०२४ मा पेजेस्कियान राष्ट्रपतिमा चुनिँदा संस्थापनले उनीजस्तो मध्यम धारका व्यक्तिलाई देखाएर देशभित्र पटक–पटक उठिरहेको आमविद्रोहलाई थामथुम पार्न सकिने साचेको हुन सक्छ । अहिले आएर उनलाई राज्यका अन्य असफलताको पनि दोष दिन सकिने व्यक्ति मानिन थालेको छ । छोटकरीमा भन्नुपर्दा इरानी राष्ट्रपति पदलाई सम्झौता असफल भएमा उब्जिन सक्ने तनावलाई अवशोषित गर्ने संस्थाका रूपमा तयार पारिँदै छ । तर, फेरि सम्झौता सफल हुँदा भने जस पाउने अरू नै छन् । चाखलाग्दो कुरा के छ भने आइआरजिसी नजिकका र गालिबाफ पक्षधर मिडियाले हालै पेदारी समूहको सबैभन्दा कठोर आक्रमणप्रति पेजेस्कियानको प्रतिरक्षा गरिरहेको देखिएको छ । तथापि, यो सहानुभूति होइन, मर्मतसम्भार मात्र हो ।

अहिलेको सर्वोच्च नेता खामेनीले आफ्नै पिताको शैली अपनाएकोजस्तो देखिएको छ । अली खामेनीले आफ्नो पालामा एकातर्फ आणविक कूटनीतिक वार्तालाई अनुमोदन गर्थे भने सार्वजनिक रूपमा भने ‘अमेरिकालाई कहिल्यै विश्वास गर्न सकिँदैन’ भनिरहे । परिणाम जे भए पनि वैचारिक आधारमाझ आफ्नो छवि कायम गर्न उनी सफल भए । अहिले छोराले उही रणनीति केही परिष्कारसहित अपनाएका छन् ।

अहिलेका लागि बलिको बोका बनाइन लागिएका पेजेस्कियानले आफ्नो काम गरिरहेका छन् । कमजोर हुँदै गएको सम्झौतापत्रमाथि उब्जिएको आमआक्रोशलाई राष्ट्रपति पदतर्फ सोझ्याउन सफल भएमा सैन्य–धार्मिक गठबन्धनले आफूहरूभित्रका दुई समूहबिचको खुला टकराव रोक्न सक्छ । तर, यो समाधान होइन, खालि अल्पकालीन स्थगतन मात्र हो । किनकि, आर्थिक पुनरोत्थान र निरन्तर टकरावका विषयमा विभाजित दुई गुटको विभाजन संरचनात्मकजस्ता देखिन्छ । यस्तो विवादलाई कुनै एउटा बलिको बोकाले सधैँलाई अवशोषित गर्न सक्दैन । यस्तोमा इस्लामिक गणतन्त्रको भावी दिशाको विषयमा संस्थागत दुई गुटबिच जुनसुकै वेला ठुलो भिडन्त हुन सक्छ ।

(भलादबेगी एम्स्टर्डमस्थित ‘इन्टनेसनल इन्स्टिच्युट अफ सोसल हिस्ट्री’का अनुसन्धान फेलो तथा मध्यपूर्व जोखिम र सुधार सल्लाहकारका सिइओ हुन्) अलजजिराबाट

सुझावित समाचार