- विश्वस्तरीय विश्वविद्यालय निर्माणमा प्रतिबद्ध अनुसन्धान, प्रतिस्पर्धी संकाय सदस्य, कडा सुशासन, प्रशस्त लगानी र उत्तम शिक्षण आवश्यक हुन्छ
विश्वस्तरीय विश्वविद्यालय : शिक्षा मानवको आधारभूत अधिकार हो । यसले व्यक्तिको क्षमता अभिवृद्धि गर्छ, समुदायको मार्गबोधमा सघाउँछ र समावेशी समाज निर्माणमा प्रोत्साहन गर्छ । शिक्षा जीवनपर्यन्तको द्वन्द्वात्मक प्रक्रिया हो । यसले व्यक्तिलाई ज्ञान, क्षमता र मूल्यबारे प्रशिक्षित गराउँदै असल भविष्य निर्माणमा उत्प्रेरित गर्छ । शिक्षाले व्यक्तिलाई नकारात्मक जीवनमार्गबाट अलग गराउँदै सकारात्मक सोचका साथ सबल र समर्थ बनाएर समाजमा विशिष्ट योगदान दिन उत्प्रेरित गर्छ । समयमै आनन्दको अनुभूति र दुःखबोध गराउने क्षमता शिक्षामा निहित हुन्छ भन्ने प्लेटो र स्वस्थ शरीरको स्वस्थ विचार नै शिक्षा हो भन्ने अरिस्टोटलको मान्यता यस सन्दर्भमा स्मरणीय छन् । यी मान्यताबाट समयबोध गर्दै शिक्षामा प्रतिबद्ध हने समाज नै मानव सभ्यताका आधार हुन् ।
विश्वविद्यालय मानव सभ्यतामा विकसित र सफल समाजको उत्पादन या प्रतिफल हो । विश्वका उच्चस्तरका विश्वविद्यालय राष्ट्रिय सम्पत्तिको उच्च गौरव तथा प्रतिष्ठासँग सम्बद्ध देखिन्छन् । उच्च शिक्षा मानव विकाससँगै वैश्विक र राष्ट्रिय उद्योग तथा सेवाका लागि महत्वपूर्ण आधार हो । राष्ट्रिय आम्दानीको विकासमा यसले मुख्य भूमिका खेलेको हुन्छ । उच्च शिक्षाको आकर्षण अभिवृद्धिमा संस्थागत प्रशिक्षण, गरिमा तथा अत्याधुनिक समृद्ध प्रविधि नै मुख्य रहेका छन् । यसर्थ, उच्च शिक्षा आममानिसको अवसर तथा चाहनाको विषय भएको तथ्य बिर्सन मिल्दैन । यो तथ्य उच्च शिक्षाको नवप्रवर्तनअनुसारका विविध ढाँचाबाट स्पष्ट हुन्छ ।
उच्च शिक्षामा निजीकरण गरिएपछि विश्वव्यापी रूपमै विद्यार्थी आकर्षणका लागि विश्वविद्यालयबिच प्रतिस्पर्धात्मक प्रशिक्षण, तालिम र अवसरको बजार देखापरेको हो । विश्वविद्यालयहरू बौद्धिक सम्प्राप्ति र अनुसन्धानबिच प्रतिस्पर्धी रहेका छन् । आज समृद्ध ज्ञान निर्माणमा विश्वविद्यालयको भूमिका उच्च र नेतृत्वदायी रहेको छ । अठारौँ शताब्दीका अन्त्यसम्ममा युरोपमा १४३ विश्वविद्यालय रहेको देखिन्छ । सन् १९४५ सम्म विश्वभरि नै करिब ५०० विश्वविद्यालयको अवस्थिति देखिन्छ । अहिले भारतमा मात्रै एक हजार १५० विश्वविद्यालय रहेका छन् । हाम्रो देशमा प्रतिष्ठानसहित २२ विश्वविद्यालय छन् । यसरी विश्वव्यापी रूपमा विश्वविद्यालयको सङ्ख्या बढ्दै गरे पनि सबै विश्वविद्यालयको गुणस्तर एउटै छैन । गुणात्मक शिक्षाका सन्दर्भमा हार्वर्ड, याले, प्रिन्स्टन, स्ट्यानफोर्ड, एमआइटी, कोलोम्बिया, अक्सफोर्ड, क्याम्ब्रिज आदि औँलामा गन्न सकिने विश्वविद्यालय मात्र उल्लेख्य छन् । उच्चस्तर तथा गुणत्मक शिक्षाका सन्दर्भमा यी विश्वविद्यालयको संसारभर उच्च प्रतिष्ठा र मूल्यवान् स्थान निर्माणमा नेतृत्वदायी निरन्तरता रहेको छ ।
विश्वस्तरीय विश्वविद्यालय निर्माणमा प्रतिबद्ध अनुसन्धान, प्रतिस्पर्धी संकाय सदस्य, कडा सुशासन, प्रशस्त लगानी र उत्तम शिक्षणको प्रतिबद्धता आवश्यक हुन्छ । यसमा पनि नयाँ कार्य, उद्योगमा सहभागिता र विश्वव्यापी विद्यार्थी वितरणलाई आधार बनाएर उच्चस्तरीय शैक्षिक मापदण्ड र विश्वव्यापी पहिचान या स्तरीकरणको आवश्यकता पूर्तिमा विशेष जोड रहेको हुन्छ । दक्ष प्रविधि प्रयोगका साथै नवीन पद्धतिको उल्लेख्य आधारबाट बौद्धिक मानक खडा गर्न सकिन्छ । विश्वस्तरीय विश्वविद्यालय राष्ट्रको तहमा मात्र नभई विश्वस्तरमा बौद्धिक सम्पत्तिका रूपमा प्रतिस्पर्धी रहेका हुन्छन् । यी विश्वविद्यालयको ज्ञान उत्पादन र सहकार्यमा उच्च दक्ष जनशक्ति निर्माण अर्थात् समाजको आवश्यकताअनुसार नेतृत्व र बौद्धिक योगदानमा विशेष भूमिका रहेको हुन्छ ।
विश्वस्तरीय विश्वविद्यालयका विकासमा केही रणनीतिमूलक कार्य आवश्यक देखिन्छ । संकायका सदस्यको क्षमता अभिवृद्धि, अनुसन्धान विज्ञको सुविधा, अन्तर्राष्ट्रिय सहकार्यमूलक सहभागिता, मानवीय दक्षता, व्यापक अन्तर्राष्ट्रिय आयाम र स्रोतको उपयोगितामा जोड दिई विश्वविद्यालयको स्तरीकरणमा भूमिका खेल्नुपर्ने हुन्छ । यसका लागि बौद्धिक सम्पत्ति नै राष्ट्रको ऊर्जा हुने र सभ्यतामा केन्द्रीय भूमिका खेल्ने यथार्थ बोध हुन जरुरी छ । अनुसन्धानको अभिवृद्धि, नवप्रर्वतन, वैश्विक सहकार्य, विशिष्टीकरण र केन्द्रीय पक्षमा जोड दिनुपर्ने हुन्छ । यसरी नै अस्तित्वमूलक विश्वविद्यालय, संस्थागत पहिचानजस्ता पक्षमा संश्लेषण गर्दै रणनीति तयार पार्नुपर्ने हुन्छ । उत्तम कार्यको प्रतिबद्धतासहितको दूरदर्शी नेतृत्व, सहकार्यको प्रोत्साहन, समस्याको सम्बोधन, मानवीय जनशक्तिलाई प्राथमिकता दिने देशले विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्न सक्छ । यसबाट विश्वस्तरीय स्तरण र ज्ञान निर्माणमा योगदान पुग्न सक्छ । यसका अतिरिक्त अन्य पक्षमा भौतिक तथा डिजिटल संरचना, नवप्रवर्तनात्मक ज्ञान, प्रशिक्षित संरचना, बौद्धिक सम्पत्तिको संरचना र भावनात्मक संरचना नै विश्वसनीयताको आधार हो । यसलाई सम्बोधन गर्दा नै विश्वविद्यालय विश्वस्तरको भूमिकामा आउन सक्छ ।
हाम्रो चासो : विश्वविद्यालय कसरी चलेको छ ? हामी कसरी अघि बढ्दै छौँ ? वर्तमानमा हामी कसरी सफल हुन सक्छौँ ? हामी कसरी खुसी हुन्छौँ र हामीले कस्तो किसिमको जीवनशैली चाहेका छौँ ? भन्ने पक्ष वर्तमानमा अनिर्धारित नै छ । औपचारिक शिक्षाका कारण उपयुक्त योग्यता र उच्चस्तरको आम्दानीको स्रोतमा पहुँच भई जीवन सुखी हुन्छ भन्ने सामाजिक भाष्य रहेको छ । यसमा वास्तविकता भने अर्कै छ । विश्वविद्यालयमा हाम्रो जीवन जेनतेनको यात्रा मात्र बनेको छ । यो क्याम्पस संस्कृतिका रूपमा परिचित रहेको छ र यो संस्कृति हाम्रा सन्दर्भमा धेरै वर्षको परिणतिबाट बनेको हो । विश्वविद्यालयमा क्याम्पस नेतृत्वले कसरी आफ्ना संकाय सदस्यलाई हौसला दिएको छ या शिक्षणको नवीन पद्धतिमा सघाएको छ ? भन्ने पक्ष विशेष स्मरणीय छ । यसले सिर्जना गरेको पक्षधरता पनि बिर्सन मिल्दैन । यसबाट पाठ सिकेर क्याम्पस कल्चरको निर्माण गर्नैपर्ने हुन्छ र प्रत्येकले नवप्रवर्तनको संस्कृति निर्माणमा योगदान दिनुपर्नेमा अनुभूति सँगालेर मात्र पुग्दैन । यसका लागि प्रतिबद्ध अनुसन्धान मार्ग र संश्लेषणात्मक ज्ञान निर्माणको सहज वातावरण आवश्यक छ । यसमा जनता, राष्ट्रपतिदेखि डिन, प्रोफेसर अनि विद्यार्थीसम्मको प्रतिबद्ध उत्तरदायित्व जोडिएको छ । विश्वविद्यालय निर्माणमा प्रत्येकसँग केही न केही योगदानको स्थिति रहेको छ । यसलाई राज्यले उपयोग गर्ने वातावरण भने सहज देखिँदैन ।
वर्तमानमा त्रिभुवन विश्वविद्यालयले विभागीय सदस्यको परिपूर्तिमा फास्टट्र्याकबाट लिने नीति या विषय स्वागतयोग्य छ । यसका साथै विश्वविद्यालयमा परिभाषित हुनुपर्ने विषय विश्वस्तरका सदस्यसँग सहसम्बन्ध, एकेडेमिक कार्यक्रमको परिशुद्धि, उच्च प्रभावकारी अनुसन्धान र विद्यार्थी पक्षलाई सशक्तीकरण गर्नुपर्ने देखिन्छ । सबल चरित्रको विकास सद्भाव, उच्च संस्कार, नवप्रवर्तन, आलोचनात्मक चेत र बौद्धिक स्वतन्त्रताबाट हुने गर्छ । अनुसन्धान प्रकाशनको संख्यात्मक आधार होइन, यो त तथ्यपरक अनुसन्धानबाट खोजिएको नयाँ मान्यतासँगै जोडिएको परम्परा बोध हो । विश्वविद्यालय र समाजबिच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । जस्तो विश्वविद्यालय हुन्छ, त्यस्तै जनशक्ति उत्पादन गर्छ र त्यहीअनुरूपको समाज बन्छ ।
अभिभावक र विद्यार्थीको विश्वविद्यालयप्रतिको दृष्टिकोण भविष्यको मार्ग र जागिरसँग जोडिएको पहिलो विषय हो । यसलाई प्राध्यापकको विश्वविद्यालयसँग जोडिएको अनुभवका साथै बौद्धिक हस्तान्तरणको अवसरबाट हेर्न सकिन्छ । यसका साथै जीवनपर्यन्त शिक्षाको समय र स्थानका विषयमा पनि स्पष्ट हुन आवश्यक छ । विद्यार्थी र व्यक्ति मात्र होइन, उच्च शिक्षाबाट समाजको प्रगतिसँगै राष्ट्र पनि लाभान्वित हुन्छ । विश्वविद्यालयका स्टेकहोल्डर विद्यार्थी, प्राध्यापक र प्रशासनबिचको बौद्धिक सम्पत्ति नै संस्थागत विकासको आधार हो । पेसामा इमानदार हुँदा समाजमा देखिएका अन्य विकृतिको पर्दाफास र उन्मूलन गर्दै उच्च गुणात्मक सेवा दिन सकिने तथ्य पनि स्मरणीय छ । विश्वविद्यालयको नेतृत्वले तिनीहरूसँग प्रश्न गर्न पछि पर्नुहुँदैन । यो विश्वविद्यालयको लक्ष्य के हो ? हाम्रा विद्यार्थीको लक्ष्य के हो ? विभागीय सदस्यका तर्फबाट यी लक्ष्य बोध भएका छन् या छैनन् ? यी मार्गाधारको हामीले कसरी सम्बोधन गर्न सक्छौँ ? विश्वविद्यालयप्रति अनेक प्रकारका आक्रमण भएका छन् । विविध राजनीतिक क्षेत्रबाट भएका यस्ता आक्रमण सोचनीय छन् । विश्वविद्यालयको प्राथमिक पक्ष विविधता, समानता र समावेशिता हो । उच्च शिक्षाले जीवनका विविध क्षेत्रमा स्नातक हुनुको जीवनशैलीको विकास भने गर्नैपर्छ । अहिले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तहको परिणाम ५० प्रतिशतभन्दा तलैदेखिबाट विश्वविद्यालयको ५० प्रतिशत लगानी खेर गएको प्रस्ट हुन्छ । यी संघटकका आधारमा हेर्दा विद्यार्थीको उत्तीर्ण प्रतिशतमा विश्वविद्यालयको प्रशासन, विभागीय सदस्य, विद्यार्थी सम्बद्ध देखिए पनि भाष्य भने विद्यार्थीले राम्रो पढ्दैनन् भन्ने बनेको छ । क्याम्पस तथा विभागमा पठनपाठनको स्थिति कस्तो छ ? शिक्षण प्रभावकारी बन्यो कि बनेन ? शिक्षण राम्रोसँग पूरा भयो या भएन भन्ने विषयमा अनुगमन भएको देखिँदैन । विद्यार्थी असफल हुनुको मुख्य कारण नै यो हो । सबैजसो विकसित देशमा सफल प्रतिशत ९० भन्दा बढी हुन्छ । यसलाई कायम गर्न सबै पक्षको योगदान र भूमिका मुख्य हुन्छ । यसमा विश्वविद्यालयमा देखिएको अर्को संस्कृति आंशिक समय शिक्षण र कन्ट्याक्ट फ्याकल्टी उल्लेख्य हुनु पनि हो । आंशिक शिक्षण या कन्ट्याक्ट संस्कृति कुनै मेरिटोक्रेसीको मापन होइन, वर्ण र राजनीतिको मापन भने हो ।
विश्वविद्यालयबाट अवकाश भएका जनशक्तिलाई विभागबाट विविध तहका क्षेत्रमा समावेश गर्न सकिन्छ । यसमा उसको जीवनपर्यन्तको पेसाप्रतिको निष्ठा, प्राप्ति र अब्बल कार्यको अभिलेख पनि उल्लेख्य रहन्छ । विश्वका अब्बल विश्वविद्यालयमा सेवानिवृत्तका लागि प्राध्यापक ‘एमिरिट्स’को विशिष्ट व्यवस्था हुन्छ । हाम्रो विश्वविद्यालयले भने यसलाई महत्व दिएको छैन । यसबाट उच्च दक्ष सेवानिवृत्त प्राध्यापकले विश्वविद्यालयको ‘प्लाटफर्म’ उपयोग गर्न सक्छ र विश्वविद्यालयलाई कुनै आर्थिक भार नपर्ने गरी अनुसन्धानलाई निरन्तरता दिन सक्छ ।
विश्वविद्यालयका संरचनामा अर्को रोग भनेको विकसित भ्रष्टाचारको संयन्त्र तथा सञ्जाल हो । उदाहरणका लागि त्रिभुवन विश्वविद्यालयमा शिक्षाशास्त्र ब्लक, ल्याबरोटरी स्कुल, युएसएबाट निर्माण भएका हुन् । होस्टेल, प्रोफेसर आवास, गान्धी भवन, केमेस्ट्री विभाग, आदि भारतीय सहयोगबाट बनेका हुन् । २०७२ को भूकम्पमा विदेशीले बनाएका यी संरचना भत्किएनन् । तर, नेपालीले बनाएको केन्द्रीय प्रशासनिक भवन भने ध्वस्त भयो । यसको कारणबारे अनुसन्धान जरुरी छ । यसमा के कमजोरी थियो, जसले गर्दा यो भवन ध्वस्त भयो र विदेशीले बनाएका भवन ध्वस्त भएनन् । यस किसिमका कारण खोज्ने हो भने भविष्यका निर्माणमा आर्थिक बचतका साथै कमजोरीबाट मुक्त हुन सहज देखिन्छ । यसर्थ विश्वस्तरीय विश्वविद्यालय निर्माणमा संरचनात्मक पुनर्निर्माणको आवश्यकता पनि महत्वपूर्ण पक्ष हो ।
(प्राडा यादव त्रिभुवन विश्वविद्यालय, रसायन विज्ञान विभागमा कार्यरत छन्)