- विश्वकपमा एम्बाप्पे र डेम्बेलेले समग्रमा १३ गोल गरेका छन् । यही उपलब्धि सन् २००२ मा ब्राजिलका रोनाल्डो र रिभाल्डोले हात पारेका थिए ।
२३औँ संस्करणको फिफा विश्वकपमा साबिक उपविजेता फ्रान्सका कप्तान केलियन एम्बाप्पे र ओस्मान डेम्बेलेले २४ वर्षअघिको रेकर्ड बराबरी गरेका छन् । दुवैले अहिलेसम्म चालू विश्वकपमा समग्रमा १३ गोल गरेका छन् । यसअघि सन् २००२ मा ब्राजिलका रोनाल्डो र रिभाल्डोले १३ गोल गरेका थिए । विश्वकपमा शुक्रबार बिहान क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदा एम्बाप्पे र डेम्बेलेले समान एक गोल गरेका थिए । जितसँगै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकपमा यी दुईले फाइनल थर्डमा ऐतिहासिक प्रदर्शन गरिरहेका छन् ।
विश्वकपमा एम्बाप्पेले आठौँ गोल संख्या पुर्याएका छन् । उनले समग्रमा विश्वकपका कुल २० खेलमा २०औँ गोल गरे । डेम्बेलेले विश्वकपमा आफ्नो व्यक्तिगत पाँचौँ गोल पूरा गरेका छन् ।
सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा ब्राजिलका रोनाल्डो (८ गोल) र रिभाल्डो (५ गोल)ले गरेका थिए । एउटै देशका दुई खेलाडीले एकै विश्वकपमा पाँच वा सोभन्दा बढी गोल गरेको यो पहिलोपटक हो । एम्बाप्पे र डेम्बेलेसमक्ष ब्राजिलियन खेलाडीको रेकर्ड तोड्ने अवसर छ । यी दुवै खेलाडी कुनै समयमा फ्रेन्च लिग वानको पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट सँगै खेल्थे । पछिल्लो समयमा एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध हुँदा डेम्बेले पिएसजीमै छन् । लामो समय एकै क्लबबाट प्रतिस्पर्धा गरेका कारण मैदानमा सहज भएको डेम्बेलेले बताए । ‘फ्रान्स र पिएसजीबाट खेल्दा हामीलाई सहज लाग्छ,’ उनले भने, ‘यो प्रतियोगितामा हामी दुवै एक–आपसकै प्रतिस्पर्धी भएका छौँ । यो भनेको टोलीलाई उपाधि दिलाउने अभियानका लागि हो । कुनै व्यक्तिगत प्रतिस्पर्धा होइन ।’
फ्रान्सले कम्तीमा दुई खेल (सेमिफाइनल र फाइनल वा तेस्रो स्थान खेल) खेल्न बाँकी छ । जसले डेम्बेले र एम्बाप्पेबिचको सहकार्यले विश्वकपमा नयाँ इतिहास रच्नेछ । सन् १९३० मा विश्वकप सुरु भएदेखि अहिलेसम्म कुनै पनि टोलीका दुई खेलाडीले एकै संस्करणमा ६–६ गोल गर्न सकेका छैनन् । यो रेकर्ड बनाउन डेम्बेलेलाई एक गोल आवश्यक छ । सन् १९३८ मा हंगेरीका ग्योर्गी सारोसी र ग्युला जेन्गेलरले विश्वकपमा गोलको रेकर्ड बनाएका छन् । सन् १९५४ मा हंगेरीका स्यान्डर कोक्सिस (११ गोल) र फेरेन्क पुस्कास (४ गोल) ले गरे । सन् १९५० मा ब्राजिलका एडेमिर र चेकोको जोडीले पनि १३ गोलको योगदान दिएका थिए ।