सन् १९९१ : सोभियत नेता मिखाइल गोर्बाचेभले लागू गरेको ‘पेरेस्ट्रोइका’ नीतिअनुरूप भएको चुनावमा पहिलोपटक गैरकम्युनिस्ट नेता बोरिस यल्तसिन रुसी महासंघको राष्ट्रपति बने ।
सन् १८०६ : इस्ट इन्डिया कम्पनीको शासनविरुद्ध उठेको ‘सिपाही विद्रोह’को पहिलो उभार ‘भेलोर विद्रोह’का रूपमा सुरु भयो ।
सन् १९१३ : औपचारिक तथ्यांकअनुरूप सबैभन्दा उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस यसै दिन क्यालिफोर्निया राज्यको डेथ भ्यालीस्थित ‘ग्रिनल्यान्ड र्यान्च’मा मापन भयो ।
सन् १९१८ : सोभियत संघको सबैभन्दा ठुलो एकाइ रुसी सोभियत संघीय समाजवादी गणतन्त्र गठन भयो ।
सन् १९१९ : अमेरिकी राष्ट्रपति विड्रो विल्सनले पहिलो विश्वयुद्ध अन्त्य गर्नेसम्बन्धी सम्झौता ‘भर्साय सन्धि’ आफ्नो देशको सिनेटमा पेस गरे ।
सन् १९२३ : इटलीमा सरकार गठन गरेको फासीवादी दलले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगायो ।
सन् १९२५ : सोभियत संघमा सरकारी समाचार एजेन्सी ‘तास’ गठन भयो, जुन संघ विघटन भएपछि पनि अझै क्रियाशील छ ।
सन् १९३४ : फ्य्रांकलिन डी. रुजबेल्ट सत्तारुढ अमेरिकी राष्ट्रपतिको पहिलो दक्षिण अमेरिका महादेश भ्रमणका क्रममा कोलम्बिया पुगे ।
सन् १९४७ : बेलायतका तत्कालीन प्रधानमन्त्री क्लिमेन्ट एट्लीले मोहम्मद अलि जिन्नालाई भावी पाकिस्तानको पहिलो गभर्नर–जनरल सिफारिस गरे ।
सन् २०११ : ब्रिटिस ट्याबलोइड पत्रिका ‘न्युज अफ द वर्ल्ड’ प्रकाशित हुन थालेको १६८ वर्षपछि आजकै दिन अन्तिम संस्करण छापिएर बन्द भयो । ‘फोन ह्याकिङ प्रकरण’पछि पत्रिका बन्द भएको थियो ।