कोलिनाले गरे विश्वकपका रेफ्रीहरूको बचाउ

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण
  • रेफ्री प्यानलका प्रमुख पियरलुइजी कोलिनाले विश्वकपका अफिसियलले कसैमाथि पूर्वाग्रह नराखी इमानदारपूर्वक भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन्

फिफाका प्रमुख रेफ्री पियरलुइजी कोलिनाले इजिप्ट र अर्जेन्टिनाबिचको प्रिक्वार्टरफाइनल खेलमा रेफ्रीमाथि उठाइएका आरोप आधारहीन भएको बताएका छन् । कोलिनाले २३औँ विश्वकप सञ्चालन गरिरहेका रेफ्रीहरूको इमानदारितामाथि कसैले प्रश्न उठाउन नसक्ने दाबी गरेका छन् । ‘खेलमा भएका निर्णयबारे बहस हुन सक्छ, तर आधारहीन आरोपको कुनै स्थान छैन,’ उनले भने, ‘फिफा रेफ्रीहरूको इमानदारितामाथि कसैले प्रश्न उठाउन सक्दैन ।’

फिफाको वेबसाइटमा बिहीबार प्रकाशित अन्तर्वार्तामा कोलिनाले रेफ्रीहरूको आलोचना गर्नु एक प्रक्रिया भएको बताए । इजिप्ट फुटबल संघ (इएफए)ले अर्जेन्टिनासँग ३–२ ले पराजित भएपछि खेलका सबै अफिसियललाई विश्वकपबाट हटाउन माग गर्दै फिफासमक्ष निवेदन दिएको थियो । रेफ्री प्यानलले इजिप्टको दाबीमा कुनै प्रमाण नभएको भन्दै खारेज गरेको छ । इजिप्टले अर्जेन्टिनासँगको दोस्रो हाफमा आफूहरूको विपक्षमा भएका दुई निर्णयमा दोहोरो चरित्र देखिएको भन्दै छानबिन गर्न माग गरेको थियो । रेफ्री प्यानलका प्रमुख कोलिनाले आधारहीन निवेदनले कुनै स्थान नपाउने जनाए ।

‘तपाईं कसैमाथि आरोप लगाउँदै हुनुहुन्छ भने त्यसमा शतप्रतिशत प्रमाण हुनुपर्छ । इजिप्टको आरोपहरूलाई सत्य साबित गर्ने कुनै आधार छैन,’ उनले भने । विश्व फुटबलमा कोलिना आफ्नो समयका सबैभन्दा अनुशासित र कडा रेफ्रीका रूपमा चिनिन्थे । सन् २००२ को विश्वकप फाइनल खेलाएका कोलिना आफ्नो निर्णयमा अडिक हुन्थे । विश्वकपदेखि युरोकपसम्मका कठिन खेल खेलाइसकेका कोलिनाले उत्तरी अमेरिकामा चलिरहेको विश्वकपमा रेफ्रीहरूले इमानदारपूर्वक भूमिका निर्वाह गरिरहेको बताए ।

इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि बारम्बार  अन्याय भएको आरोप लगाएका छन् । ‘रेफ्री नै विश्वविजेता टोलीलाई प्रतियोगितामै राख्न चाहन्थे । मेसीलाई पनि प्रतियोगितामा निरन्तर देख्न चाहन्थे,’ हसनको दाबी थियो । इजिप्टका प्रशिक्षकको आरोपविरुद्ध कोलिनाले फिफाको रेफ्री प्रणाली कसैको प्रभावमा नपर्ने स्पष्ट पारेका छन् । ‘विश्वकप खेल सञ्चालन गर्न आएका सबै रेफ्रीलाई कुनै पनि प्रणालीले प्रभावित गर्न सक्दैन,’ उनले भने, ‘हाम्रो इमानदारितामाथि प्रश्न उठाउनुअघि सबै पक्ष विश्लेषण गर्नुपर्छ । अहिलेको प्रविधिमा सबै कुरा प्रस्ट छन् ।’

फिफा अध्यक्षलाई पनि हस्तक्षेप गर्ने अधिकार छैन 
कोलिनाले रेफ्री प्यानलमा फिफा अध्यक्ष जियानी इन्फान्टिनले समेत हस्तक्षेप गर्न नसक्ने दाबी गरेका छन् । ‘हामी स्वतन्त्र छौँ । यहाँसम्म फिफाका अध्यक्षलाई पनि हस्तक्षेप गर्ने अधिकार छैन,’ फिफाको रेफ्री प्यानल सबैभन्दा शक्तिशाली रहेको बताउँदै कोलिनाले भने, ‘जियानीले हामीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएका छन् । खेलाडी र प्रशिक्षकजस्तै रेफ्रीहरूले पनि इमानदारीपूर्वक उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गर्छन् ।’

कोलिनाले फिफा अध्यक्षको बचाउ गर्दा अमेरिकी फोलारी बालोगुनलाई बोस्निया हर्जगोभिनाविरुद्ध रातो कार्ड पाएको बारेमा केही प्रतिक्रिया दिएनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा फिफाले नै फोलारीको प्रतिबन्ध फुकुवा गरेको थियो । जसकारण फिफाको यस निर्णयको व्यापक आलोचना भइरहेको छ । युरोपेली फुटबल महासंघ (युइएफए)ले सो निर्णयलाई बुझ्न नसकिने र औचित्यहीन भएको मानेका छन् ।

 रेफ्रीका निर्णय सही

अर्जेन्टिना र इजिप्टबिचमा प्रयोग गरिएको भिडियो असिस्ट प्रणालीको प्रयोग सही समयमा लिएको कोलिनाको भनाइ छ । ‘हामी हरेक गोलपछि भिएआरको सहयोगमा एट्याकिङ पोसेसन फेजको समीक्षा गर्छौँ । गोल हुनुअघि भएको फाउलले गोलमा प्रभाव पारेको देखियो भने भिएआरले रेफ्रीलाई मैदानमै गएर भिडियो समीक्षा गर्न सिफारिस गर्ने नियम छ,’ उनले भने । फाउल र गोलबिच कति समय बित्यो वा घटना गोलपोस्टबाट कति टाढा भयो भन्ने कुनै निश्चित सीमा नहुने उनको भनाइ छ ।

‘अर्जेन्टिना र इजिप्टबिचको खेलमा इजिप्टका मरवानले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको खुट्टामा स्पष्ट रूपमा कुल्चेका थिए । हाम्रो बुझाइमा फाउल भनेको फाउल नै हो । रेफ्रीले मैदानमा नदेखेको अवस्थामा पनि भिएआरले हस्तक्षेप गर्न सक्छ,’ उनले भने, ‘कतिपय निर्णयमा व्यक्तिपरक व्याख्या रहने गर्छ । यस विश्वकपभरि यो सिद्धान्तलाई जसरी लागू गरिएको छ, त्यसबाट हामी सन्तुष्ट छौँ ।’

विश्वकपमा सबै खेल निष्पक्ष रूपमा सञ्चालन गर्न रेफ्रीमाथि दबाब भएको कोलिनाले जनाए । ‘थोरै समयभित्र धेरै संख्यामा खेल खेलाइँदा केही कुराहरू सोचेजस्तो नहुनु सामान्य हो,’ उनले भने ‘जब त्यसो हुन्छ । रेफ्रीहरू अर्को खेलका लागि पूर्ण रूपमा तयार हुन अझ बढी मिहिनेत गर्न तयार रहन्छन् ।’ उनले वर्तमान समयमा उठिरहेका प्रश्नहरू आधारहीन भन्दै त्यस्ता आरोपले रेफ्रीहरूको प्रतिष्ठामाथि गम्भीर असर पर्ने बताए । ‘फाउल भनेको फाउल नै हो । त्यो स्पष्ट देखियो वा देखिएन भन्ने कुरा महत्वपूर्ण हुँदैन । यदि रेफ्रीले मैदानमा नदेखेको फाउल भिएआरले देख्यो भने हस्तक्षेप भएको भन्न मिल्दैन ।’

See More On

सुझावित समाचार