मियामीमा नर्वेका खेलाडीले मनाए पार्टी

शुक्रबार, २६ असार, २०८३
डिजिटल संस्करण
  • इंग्ल्यान्डविरुद्धको प्रतिस्पर्धाअघि नर्वेका खेलाडीले मियामीमा रहेको पाँचतारे होटेलमा एक रातको २५० अमेरिकन डलर खर्चेर मनाए पार्टी

नर्वेले फिफा विश्वकपअन्तर्गत क्वार्टरफाइनलमा इंग्ल्यान्डको सामना गर्दै छ । विश्वकपमा एकपछि अर्को इतिहास बनाइरहेको नर्वेले इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नुअघि खेलाडीलाई रिफ्रेसमेन्ट गराएको हो । मियामी सहरमा रहेको पाँचतारे होटेलमा खेलाडीले मनोरञ्जन गरेको इंग्लिस मिडियाहरूले जनाएका छन् ।

खेलाडीले एक रातका लागि २५० अमेरिकन डलर खर्चेका छन् । ‘पूरै खेलाडीले मियामीको होटेलमा मनोरञ्जन गरेका थिए । उनीहरू बसेको होटेल रुमको भाडा २५० अमेरिकन डलर थियो,’ डेली मेलले उल्लेख गरेको छ ।

धेरैले नर्वेका खेलाडीले पाँचपटकको विजेता ब्राजिललाई हराएकामा खुसियाली मनाएको मानेका छन् । नर्वेको क्वार्टरफाइनल यात्रामा स्ट्राइकर अर्लिङ हाल्यान्डको योगदान मुख्य थियो । उनले ब्राजिलविरुद्ध अन्तिम समयमा दुई गोल गर्दै नर्वेलाई २–१ को जित दिलाएका थिए । जितपछि हाल्यान्डले पार्टी गर्न दबाब दिएका थिए ।

यसअघि टिम म्यानेजर स्टेले सोल्बाकेनले फ्लोरिडाकै होटेलमा जित मनाउने योजना बनाइसकेका थिए । हाल्यान्डले फ्लोरिडाका होटेल स्तरीय र सेवा–सुविधा राम्रो नभएको म्यानेजर स्टेलेलाई बताए । हाल्यान्डकै आग्रहमा टिम म्यानेजरले मियामीको पाँचतारे होटेलमा व्यवस्था गरेका हुन् ।

यसपटक नर्वेको पार्टी खर्चिलो भएको जनाइएको छ । मियामी होटेलमा हाल्यान्डले भनेजस्तै सुविधा पाए । द डाल्मार होटेल समुद्रीको किनारमै थियो । जहाँबाट सहरका सबै दृश्य अवलोकन गर्न सकिन्थ्यो । साथसाथै स्विमिङ पुलदेखि जिमखान पनि उच्चस्तरको थियो । यस होटेलको विशेषता धनाढ्यलाई खुसी पार्ने हो । व्यापारीहरूको मुख्य रोजाइ रहेको यस होटेलमा नर्वेका खेलाडीले फरक अनुभव गरेको डेली मेलले जनाएको छ ।

‘हाम्रोभन्दा हाल्यान्डको योजना थियो । उनकै कारण पाँचतारे होटेलमा मनोरञ्जन मात्र लिएनौँ, फ्रेस पनि भयौँ,’ नर्वेका कप्तान मार्टिनले भने, ‘फ्लोरिडा जहाँ हामी बसेका थियौँ, त्यहाँको सुविधा चित्तबुझ्दो थिएन ।’ कप्तान मार्टिनले मियामीको होटेलमा मिटिङ रुममा इंग्ल्यान्डविरुद्ध योजना बनाएको बताए । ‘आरामदायी होटेलको मिटिङ हलमा नयाँ खाका बनाएका छौँ । अब यो मैदानमा देखिनेछ,’ उनले भने, ‘खेलाडीहरू यहाँ खुसी भए ।’ 

सुझावित समाचार