- संसारलाई थाहा छ, अमेरिका–इरान शान्तिको सम्भावनाबाट इजरायल खुसी छैन र भइरहेका प्रयास विफल पार्न सम्भव भएसम्म गर्नेछ
के अमेरिका र इरानबिचको नाजुक युद्धविराम र यसको आधारमा बनेको समझदारी पत्र भत्किँदै छ ? यदि द्वन्द्व न्यूनीकरणका उपाय कार्यान्वयनमा नआए र दुवै पक्षले संयमता नअपनाए, व्यापक शत्रुतापूर्ण अवस्थामा फर्किने सम्भावना प्रबल देखिन्छ । हालैको हिंसात्मक घटनाक्रम हर्मुज जलमार्गमा पानीजहाजमाथि भएका भनिएका इरानी आक्रमणका कारण सुरु भएको हो । तोकिएको मार्ग नअपनाएका कारण नै ती जहाजलाई तेहरानले निसानामा पारेको भनिन्छ ।
अमेरिकाले बुधबार बिहानै इरानी आधारमा आक्रमण गरेर बदला लियो, जसले गर्दा तेहरानले कुवेत र बहराइनमा रहेका अमेरिकी अड्डामा आक्रमण गर्यो । आफ्नो प्रत्याक्रमणको निसाना अमेरिकी आधार भएको इरानले दाबी गरेको थियो । यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँगको सम्झौता समाप्त भएको र इस्लामिक गणतन्त्रसँगको वार्ता ‘समयको बर्बादी’ भएको टिप्पणीले विश्वभरका सबैको ध्यान तानेको छ । यो तथ्य सम्झनुपर्छ कि ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतिको कार्यकालमा इरानको आणविक सम्झौतालाई पहिले नै खारेज गरिसकेका थिए । तसर्थ, उनको धम्कीलाई हल्का रूपमा लिन सकिँदैन । तर, इरानीको अमर्यादित भाषाका बाबजुद अमेरिकी नेताले विरोधाभासी रूपमा वार्ताका लागि ढोका पनि खुला छाडेका छन् ।
सधैँ युद्ध चाहने इजरायलका नेतन्याहुजस्ता नेतालाई बाहेक शत्रुतापूर्ण गतिविधि पुनः सुरु हुनु कसैको पनि हितमा छैन । तसर्थ, दुवै पक्ष (इरान र अमेरिका)ले आफ्नो अडानबाट पछि हट्नुपर्छ र हिंसाको चक्र बढ्नबाट तत्काल रोक्नुपर्छ । नत्र भने यसले दुवै पक्षलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ । निश्चय पनि समझदारी पत्र (एमओयु) र युद्धविराम कायम रहन्छ वा रहँदैन भन्ने विषय हेर्नका लागि आगामी केही दिन निर्णायक हुनेछन् ।
इरानले हर्मुज जलमार्ग हुँदै हुने आवागमन निर्बाध रहने सुनिश्चित गर्नुपर्छ, किनकि यस जलमार्गमा अवरोध पुर्याउँदा विश्व अर्थतन्त्र नै ठप्प हुनेछ । आफ्ना तर्फबाट अमेरिकाले पनि आफ्नो बयानबाजी कम गर्नुपर्छ र कूटनीतिलाई निरन्तरता दिनुपर्छ । बम बर्साउने ट्रम्पको धम्कीले शान्ति प्रक्रियालाई थोरै मात्र मद्दत गर्छ र वास्तवमा इरानी शासक समूहभित्रका कट्टरपन्थीहरूको अडानलाई प्रमाणित गर्छ, जसले लामो समयदेखि अमेरिकालाई विश्वास गर्न सकिँदैन भनिरहेका छन् ।
यसबाहेक, संसारलाई थाहा छ कि अमेरिका–इरान शान्तिको सम्भावनासँग इजरायल खुसी छैन र यस दिशामा भइरहेका प्रयासलाई विफल पार्न सम्भव भएसम्म गर्नेछ र यो प्रयास पहिलेदेखि नै गरिरहेको पनि छ । दुवै पक्ष तेल अभिभको विनाशकारी क्षमताबाट सावधान हुनुपर्छ । अमेरिकाले इरानलाई आफ्नो तेल बिक्री गर्न अनुमति दिने गरी समझदारी पत्र (एमओयू) मार्फत प्रदान गरिएको छुट पुनः दिने विषयमा विचार गर्नुपर्छ । पछिल्लो चरणको द्वन्द्व पुनः सुरु भएपछि सो छुट खारेज गरिएको थियो । यसका साथै, लेबनानमाथि इजरायलले गरिरहेको निरन्तर आक्रमण रोकिनुपर्छ । इरानी पक्षले उक्त अरब मुलुकमा भइरहेको हिंसालाई शान्ति प्रक्रियाका लागि खतराका रूपमा औँल्याएको छ ।
पाकिस्तान र कतारजस्ता मध्यस्थकर्ताले युद्धविराम जोगाउन आफ्ना प्रयास अझ तीव्र पार्नुपर्छ । युद्धविरामलाई सफल बनाउनु कहिल्यै पनि सहज काम थिएन, र शान्ति प्रयासलाई ओझेलमा पर्न नदिनु अत्यन्त महŒवपूर्ण छ । यसको विकल्प भनेको पुनः युद्धतर्फ धकेलिनु हो, जसले यस क्षेत्रका जनता र विश्व अर्थतन्त्रमा विनाशकारी परिणाम निम्त्याउनेछ । त्यसैले, खाडी क्षेत्रमा शान्ति स्थापनाको प्रयासलाई निरन्तरता दिन समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने पक्षहरू तथा यस क्षेत्रका राष्ट्रका लागि यो अपरिहार्य भएको छ ।
(पाकिस्तानी समाचार संस्था डनमा प्रकाशित बिहीबारको सम्पादकीय)