मेसी भन्छन्– पेनाल्टी मिस गर्दा रिस उठ्यो

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

चालू विश्वकपमा अर्जेन्टिनाले इजिप्टमाथि ३–२ को पुनरागमन जित निकाल्यो । यस खेलमा धेरै उतारचढाव देखियो । इजिप्टले २–० को अग्रता लिँदा खेलाडीदेखि समर्थक खुसीले झुमेका थिए । रेफ्रीले इजिप्टको एक गोललाई भिडियो असिस्टको सहयोग नलिँदासम्म अर्जेन्टिनाका खेलाडी निराश देखिएका थिए । खेलको ७८औँ मिनेटसम्म खेल इजिप्टको पक्षमा थियो । अन्तिम १२ मिनेटमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरी तीन गोल ठोक्दा खेलको कथा नै फरक भयो । यति मात्र नभएर रेफ्रीको निर्णयका कारण पनि अर्जेन्टिना र इजिप्टबिचको खेलले विश्वभर चर्चा पाएको छ ।अर्जेन्टिनाले खेलको २१औँ मिनेटमा पेनाल्टी पाएको थियो । उसलाई खेलमा अग्रता लिँदै इजिप्टमाथि दबाब बढाउने अवसर थियो । अर्जेन्टिनी कप्तान लियोनल मेसीले पेनाल्टी प्रहार गर्न आए । समग्र विश्वकपमै सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा रहेका मेसीले गोल गर्न चुके । यसअघि उनले अल्जेरियाविरुद्धको खेलमा पनि पेनाल्टी मिस गरेका थिए । तर, त्यस खेलमा उनले ह्याट्रिक लगाए ।

चालू विश्वकपमा दोस्रोपटक पेनाल्टी प्रहार गर्न आएका मेसीमाथि दबाब थिएन । उनले बायाँ साइडमा प्रहार गरेका थिए । इजिप्टका गोलरक्षक मोस्ताफा सोबेरले उत्कृष्ट डाइभ गरी मेसीको प्रहार छेके । यससँगै मेसी एकै विश्वकपमा दुई पेनाल्टी मिस गर्ने पहिलो खेलाडी बने । समग्रमा उनी विश्वकप इतिहासमै तीन पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन् । समग्रमा मेसीले ६ पटकको विश्वकप यात्रामा कुल आठ पेनाल्टी प्रहार गरेका छन् । चालू विश्वकपको क्वार्टरफाइनलमा पुगेपछि मेसीसँग अन्तर्राष्ट्रिय मिडियाले संक्षिप्त अन्तर्वार्ता लिए ।

पत्रकारहरूले मेसीलाई सोधे, ‘तपाईंलाई पेनाल्टी मिस गरेको क्षण कस्तो लागेको थियो ?’ प्रत्युत्तरमा मेसीले भने, ‘वास्तवमा पेनाल्टी मिस गर्दाको क्षण मलाई आफैँसँग धेरै रिस उठेको थियो । हामी कठिन प्रतिद्वन्द्वीविरुद्ध खेलिरहेका थियौँ । यस्तोमा असफल पेनाल्टी प्रहार गर्दा सबै स्तब्ध भए । म पनि निकै झोक्किएको थिएँ ।’ उनले महŒवपूर्ण क्षणमा सबैलाई निराश बनाएको बताए । इजिप्टले अस्वाभाविक रूपमा कल्पनाबाहिरको प्रदर्शन गरेको भन्दै मेसीले प्रशंसा गरेका छन् । ‘इजिप्टले जे गर्यो, त्यो हाम्रो कल्पनाभन्दा बाहिर थियो । उसले साबिक विजेताविरुद्ध अद्भुत तरिकाले २–० को अग्रता लियो,’ उनले भने, ‘यस्तो अवस्थामा पुनरागमन गर्नु पनि अर्को बहादुरी प्रदर्शन थियो ।’ मेसीले इजिप्टविरुद्धको खेलमा भावनात्मक उतारचढाव भएको जनाए ।

फिफामा इजिप्टको उजुरी
इजिप्टियन फुटबल फेडेरेसनले अर्जेन्टिनाविरुद्धको खेल सञ्चालन गर्ने रेफ्रीहरूलाई विश्वकपबाटै हटाउन फिफालाई अनुरोध गरेको छ । फेडेरेसनले फुटबलको सर्वोच्च निकाय फिफामा उजुरी दिँदै यस्तो माग गरेको हो । फेडेरेसनले प्रतिस्पर्धामा रेफ्रीको ‘दोहोरो मापदण्ड’बारे छानबिन गर्न माग गरेको छ । खेलको दोस्रो हाफमा इजिप्ट १–० ले अघि रहेका वेला मोस्टाफा जिकोले गरेको दोस्रो गोललाई भिडिओ असिस्टेन्ट रेफ्री (भार)ले रद्द गरेको थियो । मुभको सुरुमा मिडफिल्डर मारवान अतियाले लिसान्ड्रो मार्टिनेजको खुट्टा कुल्चिएको भन्दै फल दिने रेफ्रीको निर्णय विवादित बनिरहेको छ । खेल सकिनु केही सेकेन्डअघि इजिप्टका मोहम्मद सलाहलाई अर्जेन्टिनाको पेनाल्टी क्षेत्रमा फल गरे पनि रेफ्रीले अस्वीकार गरेका थिए । ‘इजिप्टियन फुटबल फेडेरेसनका अध्यक्ष हानी अबु रिदाले फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरविरुद्ध फिफामा उजुरी दर्ता गरेका छन् ।

प्रशिक्षक हसानको आक्रोश
इजिप्टका प्रशिक्षक होसाम हसानले फिफा र रेफ्रीमाथि कडा टिप्पणी गरेका छन् । ‘हामीमाथि अन्याय भएको छ । सायद उनीहरू विश्व च्याम्पियन अर्जेन्टिनालाई नै प्रतियोगितामा टिकाइराख्न चाहन्थे,’ हसानले भने, ‘रेफ्रीहरू नै मेसीलाई अझै अगाडि बढाउन चाहन्थे ।

अर्जेन्टिनालाई हरेक तहमा समर्थन मिलिरहेको छ ।’ उनले अफिसियलको गलत निर्णयको विरोधस्वरूप आफ्नो दुवै हात क्रस गरेर रेफ्रीलाई देखाएका थिए । फिफाको नियमअनुसार यसलाई ‘रंगभेद’विरुद्धको संकेत मानिन्छ । यसकारण उनलाई पहेँलो कार्ड र टोलीका एक कर्मचारीलाई रातो कार्ड दिएको थियो । 

फुटबल विशेषज्ञ डेल जोन्सनले इजिप्टको गोल खारेज गर्ने निर्णय र सलाहलाई पेनाल्टी नदिने निर्णयमा एकरूपता नभएको बताए । सलाहको फाउल र अतियाको फाउल उस्तै प्रकृतिका थिए । तर, रेफ्रीले एउटामा भिडियो असिस्ट प्रयोग र अर्कोमा नगर्नु शंकास्पद भूमिका भएको उनले बताए । ‘प्रतिस्पर्धामा अफिसियलहरूको निर्णय हेर्दा मेसी र अर्जेन्टिनालाई जोगाउन खोजिएजस्तो देखिन्थ्यो,’ जोन्सनले भने । 

See More On

सुझावित समाचार