- स्वास्थ्य खर्चको लगभग तीनचौथाइ हिस्सा आफ्नो खल्तीबाट भुक्तानी गरिने देशमा क्यान्सर गहिरो सामाजिक र आर्थिक संकट पनि हो
विगत केही दशकमा बंगलादेशले बाल तथा मातृ मृत्युदर र सरुवा रोग न्यूनीकरणका सन्दर्भमा उल्लेखनीय प्रगति गरेको छ । तर, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरजस्ता नसर्ने रोग भने अझै पनि तीव्र गतिमा बढिरहेका छन् । यस देशमा हरेक वर्ष करिब १३ हजारदेखि १५ हजार महिलामा स्तन क्यान्सर र आठ हजारदेखि नौ हजार महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको अनुमान छ । वास्तवमा महिलामा सबैभन्दा बढी पहिचान हुने क्यान्सर स्तन क्यान्सर (करिब ३६ प्रतिशत) हो भने त्यसपछि पाठेघरको मुखको क्यान्सर (११ प्रतिशतभन्दा बढी) आउँछ । अनि, गरिब, सीमान्तकृत र आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायका महिलाले नै यी रोगको सबैभन्दा ठुलो बोझ बोक्नुपरिरहेको छ ।
अधिकांश बिरामी रोग अन्तिम चरणमा पुगेर उपचार प्रक्रिया जटिल र महँगो भइसकेपछि मात्र उपचार खोज्छन् । यसको परिणामस्वरूप निको हुने सम्भावना निकै कम हुन्छ, परिवारले ठुलो आर्थिक कठिनाइको सामना गर्नुपर्छ र प्रायः अकाल मृत्यु अपरिहार्य बन्न पुग्छ । स्वास्थ्य खर्चको लगभग तीनचौथाइ हिस्सा अझै पनि आफ्नो खल्तीबाट भुक्तानी गरिने देशमा क्यान्सर केवल स्वास्थ्य समस्या मात्र होइन, गहिरो सामाजिक र आर्थिक संकट पनि हो, जसमा धेरै जैविक, सामाजिक, वातावरणीय र स्वास्थ्य–प्रणाली सम्बद्ध कारकले जोखिम बढाउँछन् ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) को संक्रमण हो । बंगलादेशमा बालविवाह, बारम्बार गर्भावस्था, महिनावारी स्वच्छताबारे चेतनाको कमी तथा नियमित स्वास्थ्य जाँच र स्क्रिनिङमा सीमित पहुँचका कारण यौन गतिविधिको प्रारम्भिक सुरुवातजस्ता कारकले जोखिम बढाउँछन् । धेरै ग्रामीण र कम आय भएका घरपरिवारमा सुरक्षित र स्वच्छ महिनावारी व्यवस्थापन पहुँचबाहिर छ । धेरै किशोरी र महिलालाई सरसफाइ, सुरक्षित पानी, गोपनीयताबारे पर्याप्त जानकारी हुँदैन । महिनावारीलाई सामाजिक कलंक मान्ने प्रवृत्ति र सांस्कृतिक निषेधले महिलालाई उपयुक्त स्वास्थ्य सेवा खोज्नबाट निरुत्साहित गर्छ । लामो समयदेखि उपचार नगरिएका संक्रमण र दीर्घकालीन सुजन (इनफ्लामेसन)ले पाठेघरका कोषमा हानिकारक परिवर्तन गराउन सक्छ र एचपिभी संक्रमणलाई बिगार्न सक्छ ।
स्तन क्यान्सरका लागि बढ्दो उमेर, पारिवारिक इतिहास, मोटोपना, शारीरिक निष्क्रियता, अस्वस्थ आहार, वातावरणीय प्रदूषण र रसायन तथा धातुसँगको सम्पर्क महत्वपूर्ण जोखिम कारक हुन् । भारी धातु प्रदूषण (विशेषगरी लिड प्रदूषण) हालका वर्षमा बंगलादेशमा बढ्दो सार्वजनिक स्वास्थ्य चिन्ताका रूपमा देखा परेको छ । ब्याट्रीको ठुलो अनुपात असुरक्षित र अनियमित विधिमार्फत पुनः प्रयोग गरिन्छ, जसले गर्दा विषाक्त लिड वातावरणमा फैलिन्छ, जहाँबाट यो मानव शरीरमा प्रवेश गर्न सक्छ र क्यान्सरको जोखिम बढाउन सक्छ ।
देशमा सामुदायिक क्लिनिक, युनियन स्वास्थ्य तथा परिवार कल्याण केन्द्र र उपजिल्ला स्वास्थ्य केन्द्रहरूको व्यापक सञ्जाल भए पनि धेरैजसो केन्द्रमा जनशक्तिको अभाव, सीमित सेवा क्षमता, अपर्याप्त सुपरीवेक्षण, उपकरणको कमी र औषधिको अभावजस्ता समस्या छन् । सहरी क्षेत्रमा त यो अवस्था अझ बढी चुनौतीपूर्ण छ, जहाँ प्रभावकारी प्राथमिक स्वास्थ्य सेवाको प्रायः अभाव नै देखिन्छ । फलस्वरूप अधिकांश मानिस (विशेषगरी महिला) नियमित स्वास्थ्य परामर्श, रोग रोकथामसम्बन्धी जाँच (स्क्रिनिङ) र रोगको प्रारम्भिक पहिचानसम्बन्धी सेवाबाट वञ्चित छन् ।
फलस्वरूप, स्तन तथा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचान गर्ने अवसर प्रायः गुम्छ । धेरैजसो युनियन र सहरी वडामा महिलाको नियमित स्तन जाँच, एसिटिक एसिड प्रयोगमार्फत गरिने दृश्य निरीक्षण (भिआइए) बाट पाठेघरको मुखको क्यान्सरको जाँच, स्वास्थ्य शिक्षा वा जोखिम पहिचानसम्बन्धी सेवामा पहुँच अत्यन्त न्यून वा शून्य छ । तालिम प्राप्त सामुदायिक स्वास्थ्यकर्मीको अभाव, कमजोर प्रणाली र एकीकृत विद्युतीय स्वास्थ्य सूचना प्रणालीको अनुपस्थितिले यस स्थितिलाई अझ जटिल बनाएको छ ।
यद्यपि, पाठेघरको मुखको क्यान्सर विश्वमै सबैभन्दा बढी रोकथाम गर्न सकिने क्यान्सरमध्ये एक हो भने स्तन क्यान्सरको पनि सुरुवाती चरणमै पत्ता लागेमा अधिकांश अवस्थामा सफलतापूर्वक उपचार गर्न सकिन्छ । आगामी दशकमा बंगलादेशले सामना गर्नुपर्ने जनस्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीमध्ये यी क्यान्सर पर्न सक्छन् । तसर्थ, यो संकट समाधानका लागि अहिले नै समन्वयात्मक राष्ट्रिय प्रयास आवश्यक छ । क्यान्सरबाट जोगिन वातावरणीय प्रदूषणलाई जनस्वास्थ्यको समस्याका रूपमा हेरिनुपर्छ । विद्यालय, कलेज र समुदायमा महिनावारीसम्बन्धी सरसफाइ, महिला स्वास्थ्य र क्यान्सर रोकथामबारे सचेतना कार्यक्रमलाई सुदृढ बनाइनुपर्छ । सुरक्षित तथा गुणस्तरीय सरसफाइ सामग्री र स्वच्छतासम्बन्धी सुविधामा पहुँच सुनिश्चित गरिनुपर्छ ।
(बंगलादेशी प्रधानमन्त्रीका स्वास्थ्य मामिला विशेष सल्लाहकार हैदर विश्व बैंकका पूर्ववरिष्ठ स्वास्थ्य तथा पोषणविज्ञ हुन्)
बंगलादेशको डेली स्टारबाट