९६ वर्षको फिफा विश्वकप इतिहासमा दुई राष्ट्रले मात्र उपाधि रक्षा गरेका छन् । इटाली र ब्राजिलले मात्र यस्तो उपलब्ध हात पारेका हुन् । चारपटकको विजेता इटालीले सन् १९३४ र १९३८ को संस्करणको विजेता हुँदा उपाधि रक्षा गरेको थियो । त्यसपछि ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार उपाधि हात पारेको थियो । इटाली र ब्राजिलबाहेक अन्य राष्ट्रले यस्तो सफलता पाउन सकेका छैनन् ।
अहिले इटाली र ब्राजिलको रेकर्ड बराबरी सँघारमा अर्जेन्टिना उभिएको छ । सन् २०२२ को कतार विश्वकप विजेता अर्जेन्टिना उत्कृष्ट फर्ममा छ । चालू २३औँ संस्करणको विश्वकपअन्तर्गत मंगलबार राति अर्जेन्टिनाले प्रिक्वार्टरफाइनलमा अफ्रिकन राष्ट्र इजिप्टको सामना गर्दै छ । क्वार्टरफाइनल प्रवेश खेलमा अर्जेन्टिनालाई त्यति सहज छैन । राउन्ड अफ ३२ को प्रतिस्पर्धामा उसले मुस्किलले डेब्यु टोली केप भार्डेमाथि बल्लतल्ल जित निकालेको थियो ।
इजिप्ट पनि विश्वकपमा उत्कृष्ट फर्ममा छ । यद्यपि, उनीहरू दोस्रोपटक क्वार्टरफाइनल प्रवेश गर्ने योजना बनाउँदा अप्रत्याशित नतिजा निकाल्न सक्षम छन् । मर्सिडिज बेन्ज मैदान एटलान्टामा अर्जेन्टिना र इजिप्टबिचको प्रतिस्पर्धामा दुई खेलाडी केन्द्रमा हुनेछन् । अर्जेन्टिनी कप्तान लियोनल मेसी र इजिप्टका मोहम्मद सलाह प्रमुख खेलाडीका रूपमा रहेका छन् । प्रशिक्षक लियोनल स्कोलानीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई हराउँदै विजेता बनेको थियो ।
इंग्लिस प्रिमियर लिगका अनुभवी खेलाडीहरूको साथ रहेको इजिप्टले समूह ‘जी’मा बेल्जियम र इरानसँग १–१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा न्युजिल्यान्डलाई ३–१ ले हराउँदै उसले राउन्ड अफ ३२ को स्थान पक्का गर्यो । नकआउटको पहिलो खेलमा एसियाली राष्ट्र अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा इजिप्टले हराएको थियो । यी दुई टोलीबिच १२० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।
अर्जेन्टिनाको बलियो पक्ष अनुभवी प्रशिक्षक स्कोलानी हुन् । उनले सन् २०१८ देखि अर्जेन्टिनालाई प्रशिक्षण दिइरहेका छन् । कुन स्थानमा खेलाडीलाई कसरी खेलाउने भन्ने उनलाई राम्रोसँग हेक्का छ । अझ विपक्षीको क्षमताअनुसार मार्किङमा राख्न प्रशिक्षक स्कोलारीको खुबी हो । यस्तोमा इजिप्टजस्तो बलियो प्रतिद्वन्द्वीविरुद्ध उनले फरक रणनीतिका साथ प्रतिस्पर्धा गराउने योजना बनाएका छन् । लगातार तीन विश्वकपमा प्रशिक्षण दिएका स्कोलानीले योपटकको टोली सबैभन्दा परिपक्व भएको मान्छन् । उनी पनि लगागार दोस्रोपटक विश्वकप जित्ने प्रशिक्षक बन्ने अभियानमा छन् । फिफा वरीयामा अर्जेन्टिना दोस्रो र इजिप्ट २४औँ स्थानमा रहेका छन् ।
इजिप्टको डिफेन्स र मिडफिल्ड बलियो
अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गरिरहँदा इजिप्टको बलियो पक्ष डिफेन्स र मिडफिल्ड हो । यी दुवै पक्षमा इजिप्टलाई अनुभवी खेलाडीको साथ रहेको छ । इजिप्टका अधिकांश डिफेन्स र मिडफिल्ड खेलाडीहरू साउदी प्रो–लिगमा आबद्ध छन् । साउदी प्रो–लिग एसियाको भए पनि यसको स्तर युरोपियन लेभलको हाराहारीमै छ । इजिप्टका लागि राष्ट्रिय टोलीबाट सर्वाधिक ६९ गोल गरेका होसाम हसनले प्रशिक्षण दिइरहेका छन् । उनले पछिल्लो समयमा इजिप्टलाई संगठित टोलीका रूपमा विकास गरेका छन् । विपक्षीको सुरुवाती खेलअनुसार उनी रणनीति परिवर्तन गर्छन् । उनलाई सलाहबाट ठुलो आशा छ ।
सलाह इजिप्सियन फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । खेलमा स्पेनसँग गोलरहित बराबरी खेल्दा प्रशिक्षक तथा स्ट्राइकरले ठुलो आलोचना सामना गरेका थिए । मांसपेशीको सामान्य चोटका कारण सलाहले प्रतिस्पर्धा गरेका थिएनन् । अहिले सलाह अर्जेन्टिनाविरुद्ध खेल्न तयार छन् ।
अर्कोतिर, मेसीलाई अग्रपंक्तिमा लौटारो मार्टिनेज, जुलिएन अल्भारेज, रोड्रिगो डी पाउल, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, थिएगो अल्माडाजस्ता खेलाडीको साथ रहनेछ ।
चार वर्षअघि विश्वकप फाइनल खेल्दाको टोलीकै नौजना खेलाडी अहिले पनि अर्जेन्टिनाको टिममा छन् सलाहलाई म्यानचेस्टर सिटीका स्ट्राइकर ओमार मार्मोउससहितमोस्तफा जिको, इमाम असोर, मर्वान अटिआजस्ता खेलाडीले साथ दिनेछन् ।
इजिप्टविरुद्ध अर्जेन्टिना अपराजित
इजिप्ट र अर्जेन्टिनाबिच अहिलेसम्म दुईपटक प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले दुवै भेटमा इजिप्टलाई हराएको थियो । सन् १९२८ मा भएको खेलमा अर्जेन्टिना ६–० ले विजयी भएको थियो । सन् २००८ मा भएको मैत्रीपूर्ण खेल पनि अर्जेन्टिना नै २–० ले जित निकाल्न सफल भएको हो ।
प्लेयर्स टु वाच
लियोनल मेसी (अर्जेन्टिना)
चालू विश्वकपमा गोल्डेन बुटको प्रमुख दाबेदारका रूपमा अर्जेन्टिनी ३९ वर्षीय कप्तान लियोनल मेसी अगाडि छन् । उनले चालू विश्वकपमा सात गोल गरेका छन् । यद्यपि, उनलाई नर्वेका हल्यान्ड र फ्रान्सका केलियन एम्बाप्पेले पनि सात गोल गर्दै दबाब दिइरहेका छन् । विश्वकपमा उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । अर्जेन्टिनाले प्रिक्वार्टरफाइनल यात्रा तय गर्दा मेसीकै योगदान प्रमुख छ । उनले प्रत्येक खेलमा अर्जेन्टिनालाई जित दिलाउन गोल गरेका छन् ।
सन् २०२२ कतार विश्वकपछि लगातार आठ खेलमा गोल गर्ने उनी एक्ला खेलाडी हुन् । मेसीले अब अफ्रिकी प्रतिद्वन्द्वी इजिप्टको सामना गर्दै छन् । अफ्रिकन टोलीमा इजिप्ट बलियामा पर्छ । उनीहरूको डिफेन्स लाइन बलियो मानिन्छ । मेसीले अनुभवी इजिप्टका डिफेन्स लाइन तोड्न अन्य खेलमा भन्दा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । मेसी लगातार उपाधि जित्ने अभियानमा रहँदा यो खेलमा पनि उत्तिकै प्रदर्शन गर्नुपर्ने दबाब पनि छ ।
मोहम्मद सलाह (इजिप्ट)
इजिप्टका सर्वकालीन महान् खेलाडीका रूपमा मोहम्मद सलाह हुन् । पछिल्लो दशकमा सल्लाह इंग्लिस प्रिमियर लिग लिभरपुलमा खुबै चम्केका थिए । दुई दशकपछि लिभरपुलले युरोपियन च्याम्पियन्स लिग तथा इंग्लिस प्रिमियर लिग जित्दा उनी प्रमुख खेलाडी बनेका छन् । यसै सिजनमा उनले लिभरपुल छाडे ।
चालू विश्वकपमा उनको प्रदर्शन औसत देखिन्छ । उनले न्युजिल्यान्डविरुद्धको जितमा एक गोल गरे । बेल्जियमविरुद्ध उनले एक गोलका लागि अवसर सिर्जना गरे । ‘फ्री एजेन्ट’ रहेका ३४ वर्षीय अट्याकर सलाहले आगामी यात्रा घोषणा गरेका छैनन् । सिजनअघि उनी विश्वकपमा केन्द्रित छन् । साबिक विजेता अर्जेन्टिनाविरुद्ध उनको नजरमा विशेष हुन सक्छ । पछिल्लो चार खेलमा एक गोल गरेका उनले अर्जेन्टिनामाथि दबाब बढाउन सक्छन् । सलाहको प्ले मेकिङ प्रदर्शनमा इजिप्ट रहेको छ ।