मलाई लाग्छ इजरायलसँग त्यो अधिकार छ’, बेलायतका प्रधानमन्त्री किअर स्टारमरले राजीनामा दिएपछि एउटा पुरानो भिडियो क्लिप सतहमा आयो । स्टारमरलाई सधैँका लागि पछ्याउन सक्ने यस क्लिप अक्टोबर २०२३ मा लन्डनको एक रेडियो कार्यक्रममा सहभागी भएको समयको हो । कुनै समय मानव अधिकारका वकिल रहेका स्टारमरले होस्टको प्रश्नको जवाफ दिने क्रममा इजरायलसँग गाजाका लाखौँ जनसंख्याले पाइरहेको पानी र बिजुली कटौती गर्ने अधिकार भएको बताएका थिए । यो जवाफ जिब्रो चिप्लिएर आएको थिएन । यसले खासमा एकजना व्यक्तिको भित्री प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ, जसले हाम्रो समयको सबैभन्दा ठुलो अपराधमा बेलायतलाई संलग्न गरायो ।
विपक्षमा रहँदा स्टारमरले इजरायललाई आफ्ना अपराधहरूलाई जायज ठहराउन आवश्यक विश्वास र पुँजी जम्मा गर्न सहयोग गरे । पदमा पुगेपछि उनको सरकारले इजरायललाई ती कार्य गर्न आवश्यक पर्ने सैन्य साधन हासिल गर्न सघायो । जुलाई २०२४ मा स्टारमरले प्रधानमन्त्रीका रूपमा पदभारग्रहण गरेपछि त्यही वर्ष अक्टोबरदेखि डिसेम्बरसम्म मात्र इजरायललाई १२ करोड ७६ लाख पाउन्डको हतियार निर्यातको लाइसेन्स दिइएको थियो । यो भने सन् २०२० देखि २०२३ बिचको तीन वर्षमा पूर्ववर्ती कन्जरभेटिभ सरकारले अनुमोदन गरेको भन्दा धेरै थियो ।
सेप्टेम्बर २०२४ मा, स्टारमरका विदेशमन्त्री (फरेन सेक्रेटरी) डेभिड ल्यामीले इजरायललाई गरिने हतियार निर्यातको आंशिक निलम्बनको घोषणा गरे । कुल ३५० हतियारमध्ये मात्र ३० वटा हतियारको निर्यात लाइसेन्स रोकेको स्टारमर सरकारले एउटा उल्लेखनीय छुट दिएको थियो : इजरायलको एफ–३५ स्टिल्थ लडाकु जेटका पार्टपुर्जा भने निरन्तर आपूर्ति गर्ने । इजरायललाई हतियार बिक्री गरेका कारण गाजामा भएको नरसंहारमा ब्रिटिस पनि अप्रत्यक्ष संलग्न भएको बहसलाई बल दिएको छ । यस सहयोगमा थप महत्वपूर्ण बन्न जान्छ, साइप्रसमा रहेको ब्रिटिस ‘रोयल एयर फोर्स (आरएएफ) अक्रोटिरी’ बेसको भूमिका ।
‘सम्पूर्ण विश्व र देशवासी तपाईंमाथि भर परेका छन् । तथापि यहाँ जे भइरहेको छ त्यसबारे सधैँ कुरा गर्न सकिँदैन । हामी संसारलाई तपाईं के गर्दै हुनुहुन्छ भनेर भन्न सक्दैनौँ ।’ डिसेम्बर २०२४ मा आरएएफ बेसको भ्रमणका क्रम स्टारमरले सैन्य सदस्यलाई भनेको कुरा हो यो । ठिक छ, स्टारमरले संसारलाई भन्न चाहेनन्, तर त्यहाँ के भइरहेको थियो हामी भन्नेछौँ : साइप्रसको आरएएफ बेस मुख्यतया गाजामाथि नियमित निगरानीका गर्ने विमानका लागि महत्वपूर्ण प्रस्थान विन्दु बनेको छ ।
इजरायलले यसबिच बेलायतको सैन्य समर्थन मात्र नभई आर्थिक सहयोगसमेत पायो । स्टारमरको सरकारले इजरायललाई नरसंहारबाट रोक्न बाध्य पार्न आफ्नो हातमा रहेको हरेक आर्थिक र राजनीतिक उपकरण प्रयोग गर्नुपर्थ्यो । ब्रिटिस सरकारले रूसप्रति लिएको दृष्टिकोण यही नै हो । तर, इजरायलप्रति उस्तै रणनीति अपनाउन अस्वीकार गर्नु भनेको पदीय पाखण्ड त हो नै साथै इजरायली नरसंहारमा आर्थिक, कूटनीतिक र राजनीतिक संलग्नताको प्रमाण हो ।
केही मुट्ठीभर इजरायली सेट्लर (पश्चिम किनाराका प्यालेस्टिनीहरूको जमिन बलपूर्वक खोस्ने यहुदी) र कट्टर मन्त्रीविरुद्ध लगाइएका प्रतिबन्धले यो यथार्थलाई काट्न सक्दैन । व्यापक प्रतिबन्धविना, इजरायलले कहिल्यै अन्तर्राष्ट्रिय कानुनको पालना गर्नेछैन : न त गाजामा, न वेस्ट बैंकमा, न त लेबनानमा नै । जुन २०२५ मा ब्रिटिस सांसदका हिसाबमा मैले बेलायती संसद्मा व्यक्तिगत सांसदले प्रस्तुत गर्न सक्ने ‘प्राइभेट मेम्बर्स’ विधेयक प्रस्तुत गरेको थिएँ । त्यस विधेयकले गाजामा इजरायलको सैन्य कारबाहीमा बेलायती सरकारको संलग्नताको स्वतन्त्र, सार्वजनिक अनुसन्धानका लागि आह्वान गरिएको थियो ।
तर, सरकारले उक्त विधेयकलाई अगाडि बढ्न दिएन । सरकारले अनुसन्धानको ‘आवश्यकता नै नभएको’ तर्क गर्यो । प्रतिक्रियामा, हामीले आफ्नै न्यायाधीकरण सुरु गर्यौँ । दुई दिनको अवधिमा, धेरै साक्षीहरूले ब्रिटिस सरकार युद्ध अपराध, मानवताविरुद्धको अपराध र नरसंहारमा संलग्न रहेको शंकालाई प्रमाणित गर्ने तथ्य प्रदान गरे । न्यायाधीकरण गठन भएको केही समयपछि, मैले अन्तर्राष्ट्रिय फौजदारी अदालत अर्थात् इन्टरनेसनल क्रिमिनल कोर्ट (आइसिसी)लाई हाम्रो समयको सबैभन्दा ठुलो अपराधमध्ये एक अपराधमा स्टारमरलगायत सरकारी मन्त्रीको भूमिकाबारे उनीहरूसँग सोधपुछ गर्न आमन्त्रित गर्न पत्र लेखेँ । आइसिसीको अनुसन्धानले विगतमा इराक युद्धमा ब्रिटिस संलग्नताबारे भएको अनुसन्धानले गर्न नसकेको काम गर्न सक्छ भन्ने हाम्रो बुझाइ थियो, त्यो हो : वास्तविक जवाफदेहिता र वास्तविक न्याय प्रदान ।
स्टारमरको सम्भावित उत्तराधिकारी म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नह्याम हुने देखिएका छन् । यदि उनी स्टारमरका सरकारभन्दा फरक रहेको सन्देश दिन चाहन्छन् भने उनले केही सरल कामबाट सुरु गर्नुपर्छ : गाजा नरसंहारमा ब्रिटिस संलग्नता अन्त्य गर्ने । यसको लागि इजरायललाई सबै प्रकारको हतियार बिक्री समाप्त गर्नुपर्छ । यसको अर्थ व्यापक प्रतिबन्ध लगाउनु हो । यसको अर्थ सरकारी कदमको विरोध गर्ने अधिकारमाथिको हालको कठोर कारबाही उल्टाउनु हो ।
बर्नह्यामले गाजा नरसंहारमा बेलायतको संलग्नता मात्र समाप्त गर्ने मात्र नभई बेलायतको युद्धतर्फको अथक मार्चपास अन्त्य गर्नुपर्छ । स्टारमरले पद छाड्दै गर्दा सैन्य खर्चमा ठुलो वृद्धि गरेको घमन्ड गरेका थिए । उनले पद छाड्दा समाजमा कायम गरिबी र घरबारविहीनता विकराल अवस्था कम गर्न उनको सरकारको असफलताको उल्लेख गरेनन् । न त युद्धकार्यमा राज्य कोष रकमान्तर गर्न कल्याणकारी कोषमा कटौती गर्नेजस्तो लज्जास्पद काम गरेकोबारे नै केही प्रतिक्रिया दिए । बम र गोलीहरूमा पैसा खर्च गर्नुको सट्टा, बर्नह्यामले यसलाई विद्यालय र बेलायतको नेसनल हेल्थ सर्भिसमा लगाउनुपर्छ । मुख्यतः हामीले धनको सम्पत्ति, स्वामित्व र शक्तिको बृहस्तर पुनर्वितरणविना वास्तविक परिवर्तन ल्याउन सक्ने छैनौँ । यसका लागि सम्पत्ति करको अवलम्बन, भाडा वृद्धिमाथि नियन्त्रण र ऊर्जा, रेल, मेल, पानी तथा स्वास्थ्य सेवामा निजीकरणको अन्त्य गर्नुपर्छ ।
स्टारमरले राजीनामा दिएको दिनमै मैले स्वतन्त्र अनुसन्धानसम्बन्धी मैले पेस गरेको विधेयकको प्रतिनिधित्व गर्नु उपयुक्त लाग्यो । यदि बर्नह्याम परिवर्तन ल्याउन गम्भीर थिए भने उनले मेरो विधेयकलाई समर्थन गर्ने थिए र यो अनुसन्धानलाई वास्तविकता बनाउने पहलमा समावेश हुने थिए । यस्तोमा स्टारमर त गए, तर हुन सक्छ देश भने कतै जानेछैन । तथापि, प्यालेस्टिनी जनताले न्याय नपाएसम्म हामी भने रोकिनेछैनौँ ।
अलजजिराबाट
(बेलायती संसद् सदस्य रहेको कोर्बिन लेबर पार्टीका पूर्वप्रमुख पनि हुन्)