हरेक ग्रीष्ममा जब बेलायतलाई तापलहरले लपेट्छ, तब धेरैले एउटा प्रश्न दोहोर्याउने गर्छन्– आखिर बेलायतमा किन यति घातक गर्मी र पीडा महसुस हुन्छ ? त्योभन्दा बढी तापक्रम हुने ठाउँ स्पेन, ग्रिस र भारतका मानिसले कसरी गर्मी सहन्छन् होला ? बेलायतको गर्मी असहज हुनुको प्रमुख कारण त्यहाँको उच्च सापेक्षिक आद्र्रता (हावामा पाइने पानीका कणको मात्रा) हो । त्यसबाहेक चिसो मौसमलाई ध्यानमा राखेर निर्माण गरिएका भवन, ग्रीष्म ऋतुका लामा दिनले थप
पीडादायी बनाउँछ ।
समुद्रले घेरिएको र उत्तरी आन्ध्रमहासागरको किनारमा रहेको बेलायतको मौसम यसको भूगोलका कारण पनि बढी तापमानयुक्त छ । यसले गर्दा बेलायतको मौसम अरू कैयौँ युरोपेली देशकोभन्दा बढी आद्र्र हुन्छ । उदाहरणका लागि, स्पेनको म्याड्रिडमा ३५ डिग्री सेल्सियस तापक्रम रहेको दिनमा सापेक्षिक आद्र्रता लगभग २० प्रतिशत हुन्छ । जबकि, त्यही तापक्रममा बेलायतको आद्र्रता सहजै ४० प्रतिशतभन्दा माथि पुगेको हुन्छ । अर्थात्, म्याड्रिडको हावामा भन्दा लन्डनको हावामा आद्र्रता लगभग दोब्बरजस्तो हुन्छ ।
सापेक्षिक आद्र्रता बढ्दै जाँदा पसिनाको वाष्पीकरण सुस्त हुने गर्छ । पसिना हाम्रो शरीरलाई शीतल पार्ने मुख्य माध्यम हो । र, पसिनाले हामीलाई भिजाएर मात्र शीतल बनाउने भने होइन । खासमा छालामा रहेको पसिना बाफ बन्दा यसले छालाको तापलाई उपयोग गरेको हुन्छ, अर्थात् पसिना बाफ बन्दा छालाको तापक्रम घटेर चिसो महसुस हुन्छ ।
पसिनाले शरीरको तापक्रमलाई सुरक्षित सीमाभित्र कायम राख्न सहयोग गर्छ । तर, उच्च आद्र्रता भएको हावामा पहिले नै पानीको मात्रा बढी भएकाले पसिना सहजै वाष्पीकरण हुँदैन । यस्तोमा हाम्रो शरीरले कम आद्र्रता भएको क्षेत्रकै स्तरमा शीतलता दिलाउन विभिन्न प्रक्रिया सक्रिय गर्न थप परिश्रम गर्नुपर्छ । यस अतिरिक्त परिश्रमले शरीरमा थकान बढाउनेदेखि हृदय र श्वासप्रश्वास रोगको जोखिम बढाउँछ । उच्च तापक्रम र उच्च आद्र्रताको संयुक्त प्रभावलाई व्यक्त गर्न वेट बल्ब टेम्प्रेचर (डब्लुबिटी) प्रयोग गरिन्छ, जुन सापेक्षिक आर्द्रताको गणनामा निकै महत्वपूर्ण हुन्छ ।
बेलायतमा विगतमा खासै गर्मी नहुने भएकाले घर बनाउँदा ठन्डामा कसरी न्यानो बनाउने भन्ने कुरामा जोड दिइन्थ्यो । घर तथा भवन निर्माणमा प्रयोग हुने कंक्रिट, इँटा र टायलले थर्मल ब्याट्रीको काम गर्छन् । तिनीहरूले दिनमा ताप सोस्नुका साथै रातको समयमा बिस्तारै ताप छोड्छन् ।
जाडोका लागि डिजाइन गरिएका भवन गर्मीमा प्रभावहीन
सम्पूर्ण कुरा आद्र्रतामा मात्र निर्भर हुँदैन । अनुकूलनको पनि कुरा आउँछ । गर्मी क्षेत्रमा रहेका देशमा, दैनिक कामकाजलाई प्रायः दिउँसोको सबैभन्दा गर्मीको प्रभाव कम हुने गरी व्यवस्थित गरिएको हुन्छ । त्यस समय घरबाहिरका गतिविधि कम हुन्छ । आवासगृह ताप सोस्ने गरी डिजाइन गरिन्छन् । त्यस्तै, भवनको डिजाईन सूर्यको ताप सीधा पर्न नसक्ने गरि बनाइन्छ । घरको पर्खाल पनि इँटा प्रयोग गरेर बाक्लो बनाइन्छ । त्यस्तै, सडकको दायाँबायाँ रुखबिरुवा बाक्लो रोपेर छायादार बनाई तापक्रम कम गर्ने प्रयास गरिन्छ । गर्मी देशका सम्पन्न सहरका एयर कन्डिस्नरलाई बिलासिताको सट्टा आवश्यकताको रूपमा अनुकुलन गरिन्छ ।
यता बेलायतमा विगतमा खासै गर्मी नहुने भएकाले अथवा चिसो देश भएकाले विगत सयौँ वर्षदेखि घर बनाउँदा ठन्डामा कसरी न्यानो बनाउने भन्ने कुरामा जोड दिइन्छ, । घर तथा भवन निर्माणमा प्रयोग हुने कंक्रिट, इँटा र टायलले थर्मल ब्याट्रीको काम गर्छन् । तिनीहरूले दिनमा ताप सोस्नुका साथै रातको समयमा बिस्तारै ताप छोड्छन् ।
अचानक आउने गर्मी
बेलायतको मौसमी गति पनि अन्य क्षेत्रको भन्दा फरक देखिन्छ । उदाहरणका लागि, भारतको अधिकांश भागमा जाडो र गर्मीको बिचमा आउने वसन्त ऋतुको अवधिमा तापक्रम बिस्तारै चिसोबाट न्यानो बन्दै जान्छ । यसले मानिसलाई आफ्ना पूर्वाधार र संस्थाहरूलाई ४० डिग्री सेल्सियसभन्दा माथिको उच्च तापक्रमका लागि तयार गर्न आवश्यक समय दिन्छ । तर, बेलायतमा भने अत्यधिक चिसो मौसमपछि अचानक गर्मी आउँछ । यो वर्ष मे महिनामा केही हप्ताकै अन्तरमा तुसारोयुक्त दिन र चिसो साँझहरू एक्कासि रेकर्ड तोड्ने गर्मी दिनमा बदलिएको थियो । मौसममा आउने यस्तो द्रुत परिवर्तनले मानिसलाई जलवायु अनुकूलनका लागि धेरै कम समय प्रदान गर्ने भएकाले पीडा बढी महसुस हुन्छ ।
बेलायतको मौसमी गति युरोप र विश्वका अन्य क्षेत्रको भन्दा फरक छ । उदाहरणका लागि, भारतको अधिकांश भागमा तापक्रम बिस्तारै चिसोबाट न्यानो हुन्छ । यसले मानिसलाई ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका लागि तयार हुन आवश्यक समय दिन्छ । तर, बेलायतमा भने अत्यधिक चिसो मौसमपछि अचानक गर्मी आउँछ ।
गर्मीका लामा दिन, छोटा रात
बेलायतका गर्मीका लामा दिनले पनि पीडाको अनुभूतिलाई थप बढाउँछ । जुन र जुलाई महिनामा साँझ पर्दासम्म चर्को घाम लागिरहेको हुन्छ । वास्तविक अन्धकारयुक्त रातको समय थोरै हुन्छ । यसले गर्दा भवन, सडक र सहरी क्षेत्रका भूइँ सतहले दिनको सबैभन्दा उच्च तापक्रमयुक्त अवधि पारगरिसकेपछि पनि लामो समयसम्म गर्मी सोसिरहन्छ । उसो त उष्ण क्षेत्रमा पनि दिन न्यानो रहन्छ, तर त्यहाँ दिन र रातको अवधि आधा–आधा रहने भएकाले अन्धकारको समयमा केही राहत महसुस हुन्छ ।
तापलहरको समयमा उत्पन्न हुने जोखिमलाई रातको लम्बाईले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । रातको समयको तापक्रम २० डिग्रीभन्दा माथि रहने अवस्थामा सबैभन्दा ठुलो खतरा आउन सक्छ । त्यस्तो रातलाई ‘ट्रपिकल नाइट’ भनिन्छ । दिनको समयको उच्च तापक्रमबाट राहतका लागि शरीरले चिसो अवस्था खोजिरहेको हुन्छ । तर ‘ट्रपिकल नाइट’ चलिरहेको अवधिमा शरीरले रातिको समय पनि पर्याप्त ठन्डा पाउन सक्दैन । ‘हिट आइल्यान्ड’ प्रभाव बढी हुने सहरी क्षेत्रमा यसको सम्भावना बढी हुन्छन् । ‘हिट आइल्यान्ड’ प्रभाव चल्दा सहरी भवन र सडकले दिनको समयमा सोसेर राखेको तापलाई रातिको समयमा बाहिर फाल्ने गर्छ ।
रातभर आद्र्रता उच्च रहने भएकाले ‘ट्रपिकल टाइट’को समयमा शरीरको चिसो हुने क्षमता थप कमजोर हुने गर्छ । यही अवस्थाले हालको तापलहरको समयमा बेलायतका केही भागलाई असर गरिरहेका छन् । ४० डिग्री सेल्सियसभन्दा उच्च तापक्रम र उच्च आद्र्रतायुक्त ‘ट्रपिकल नाइट्स’ कुनै समय बेलायतमा लगभग अकल्पनीय मानिन्थ्यो । तर, अहिले यो वास्तविकतामा परिणत भएको छ । तर, उच्च गर्मी र आद्र्रता आफैँमा समस्या होइन । बेलायतले अझै पनि आफ्नो दिनचर्या, पूर्वाधार, भवनलाई उच्च तापका लागि अनुकूलित गराउनुपर्छ । अन्यथा, भविष्यमा तापलहर थप चरम र सामान्य हुँदै जाँदा उच्च आद्र्रताले गर्मी थप पीडादायी हुनेछ ।
(देवरस रिडिङ विश्वविद्यालयका वरिष्ठ अनुसन्धान वैज्ञानिक हुन् भने क्लोक पनि रिडिङ विश्वविद्यालयकी मौसम विज्ञान र जलवायु विज्ञानकी प्राध्यापक हुन् ।) द कन्भर्सेसनबाट