गत ७ असारमा सिराहा नगरपालिका– २१, लगडीगोठमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, इलाका प्रहरी कार्यालय महेशपुरपतार र लागुऔषध नियन्त्रण ब्युरो कार्यालय गोलबजारको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो । प्रहरी टोलीले आत्मसमर्पण गर्न मौखिक चेतावनी दियो । कारोबारमा संलग्नहरू प्रहरीमाथि ढुंगामुढा प्रहार गर्दै भारततर्फ भाग्ने प्रयास गरे । त्यसक्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरी चेतावनी दिए पनि आक्रमण नरोकिएपछि थप एक राउन्ड गोली प्रहार गरेको थियो ।
प्रहरीको गोलीबाट भारतको बिहार राज्य मधुबनी जिल्ला पदमाहा ग्राम पञ्चायत– २, जोगिया टोलका २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवान घाइते भए । पासवानको दाहिने खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक वासुदेव पाठकले बताए । इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी जवान हृदयनारायण ठाकुर पनि सामान्य घाइते भए । प्रहरीले एकजना नाबालकलाई पनि नियन्त्रणमा लियो । उनीहरूको साथबाट प्लास्टिकसहित १०१.६० ग्राम तथा प्लास्टिकबाहेक ९२.३० ग्राम ब्राउन सुगर (खैरो हिरोइन) बरामद भएको प्रहरी उपरीक्षक पाठकले बताए ।
१९ असारमा नवराजपुर गाउँपालिका– ५, झाँझपट्टीस्थित नेपाल–भारत सीमामा भारतबाट ब्राउन सुगर ल्याउँदै गरेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार र इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा संयुक्त टोली परिचालन गरियो । टोलीले चेकजाँचका क्रममा बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकल तथा नम्बर नखुलेको अर्को मोटरसाइकलमा सवार गरी चारजनामध्ये बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्यो ।
त्यसक्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूले प्रहरीमाथि कटुवा पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरे । प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड गोली प्रहार गर्दा भारत बिहारका ३५ वर्षीय अब्दुल कलामको बायाँ खुट्टामा गोली लाग्यो । गोली लागेर घाइते भएका कलामको साथबाट एक थान कटुवा पेस्तोल र प्लास्टिकसहित १२२.८० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी उपरीक्षक पाठकले बताए ।
लागुऔषध कारोबारविरुद्ध सिराहा प्रहरीले एक्सन सुरु गरेको छ । डेढ सातामै सिराहा प्रहरीले सीमावर्ती क्षेत्रमा गोली प्रहार गरी दुई भारतीय कारोबारीलाई पक्राउ गरेको छ । गोली प्रहारबाट घाइते भएकाहरू लागुऔषध कारोबारी भएको जिल्ला प्रहरी कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक पाठकले पक्राउ गरिएकाहरू सीमापार गरी नेपालमा लागुऔषधको कारोबार फैलाउँदै आएको र मोटो रकम नेपालबाट भारत लैजानै गरेको बताए । ‘उनीहरूले सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारको जालो नै फैलाएजस्तो देखिएको छ,’ प्रहरी उपरीक्षक पाठकले भने, ‘सुरुमा बालबालिकाको प्रयोग गरी लागुऔषध खरिदकर्तासम्म पुग्ने गर्छ । पछि मुख्य कारोबारी नै नेपाली सिमानाभित्र आएर पैसा लिन आउने गरेको गर्छ ।’
प्रहरी अनुसन्धानले पासवान कुख्यात लागुऔषध कारोबारी रहेको खुलेको छ । उनको नाम सिराहामा रहेका ६ वटा मुद्दामा जोडिएको छ । पासवानले सिराहामा करिब १० देखि १२ केजीसम्म ब्राउन सुगर बिक्री गरेको र त्यसको नेपाली बजार मूल्य करिब तीन करोड रुपैयाँबराबर संकलन गरेको प्रहरीको अनुमान छ । प्रहरीले लागुऔषध कारोबारीलाई समात्न विशेष अभियान नै सञ्चालन गरेको प्रहरी उपरीक्षक पाठकले बताए ।
सिराहा प्रहरीले तीन वर्षमा अढाई किलोभन्दा बढी ब्राउन सुगर बरामद गरेको छ । आर्थिक वर्ष ०८०/८१ मा २१३ ग्राम ८३४ मिलिग्राम, ०८१÷८२ मा एक किलो ५३५ ग्राम १३४ मिलिग्राम र चालू आवको असार दोस्रो सातासम्म ७३२ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाको तथ्यांक छ । तीन वर्षमा सिराहा प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्र र सिराहाको लहान, गोलबजार, मिर्चैया बजारबाट दुई किलो ४८१ ग्राम ६३८ मिलिग्राम ब्राउन बरामद गरेको प्रहरी उपरीक्षक पाठकले बताए ।
भारतबाट औषधिजन्य लागुऔषध पनि ठुलो मात्रामा बरामद भएको छ । लुपिजेसिक, प्रोमेथाजिन, ब्युप्रोनोरफिन, फेनारगन, डाइजेपाम, नुफिन, नाइट्राजेपाम, नाइट्राभेट, कोडिन, कोडिवेललगायत औषधिजन्य लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिराहाको तथ्यांक छ ।
यस्तै, तीन वर्षमा नेपालबाट भारततर्फ तस्करी गर्न लागेको चार हजार २५८ केजी तयारी गाँजा सिराहा प्रहरीले बरामद गरेको छ । प्रहरीले तीन वर्षमा सिराहा जिल्लामा ५१४ जनालाई पक्राउ गरेको छ । आव ०८०/८१ मा १६४, ०८१/८२ मा १८० र चालू आवको असारको दोस्रो सातासम्म १७० जना पक्राउ परेका छन् । प्रहरीले लागुऔषधसम्बन्धी ३४३ मुद्दा पनि दर्ता गरेको छ । ०८०/८१ मा १२३, ०८१/८२ मा १०९ र चालू आवको असारको दोस्रो सातासम्म १११ वटा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक पाठकले बताए ।
सिराहा सीमावर्ती जिल्ला भएकाले लागुऔषधका कारोबारीले कारोबार गर्न विभिन्न नेटवर्क प्रयोग गर्ने गरेको चिकित्सक डा. नरेश मण्डलले बताए । लागुऔषधको दुव्र्यसनमा युवालाई फस्न नदिन सीमामा थप कडाइसँगै प्रहरी र समुदाय मिलेर अघि बढ्न जरुरी भएको उनको भनाइ छ ।