हारले पनि केप भर्डेको सर्वत्र चर्चा

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकपको अन्तिम ३२ बाट बाहिरिए पनि केप भर्डेको अहिले सर्वत्र चर्चा भइरहेको छ । प्रतियोगिताबाट बाहिरिएपछि उसले गरेको प्रदर्शनको कारण सर्वत्र चर्चा भएको हो । पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्डेले साबिक विजेता अर्जेन्टिनाविरुद्ध शनिबार बिहान ३–२ ले हार बेहोर्यो । धेरैले यो खेललाई अविश्वसनीय भनेका छन् ।

निर्धारित ९० मिनेटको खेलमा उसले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । कप्तान लियोनल मेसीको गोलमार्फत अर्जेन्टिनाले अग्रता बनाएको थियो । तर, डेरो डुआर्टेको गोलबाट उसले खेल बराबरी गर्यो । अर्जेन्टिनाका खेलाडीको प्रहार लगातार विफल तुल्याएपछि केप भर्डेले खेल अतिरिक्त समयमा धकेलेको थियो । अतिरिक्त समयमा पनि केप भर्डेले २–२ को बराबरी गर्यो । तर, अन्तिम सयमा आत्मघाती गोलको सिकार बन्दा प्रतियोगिताबाट बाहिरियो ।

यही खेलमा पनि केप भर्डेका गोलकिपर भोजिन्हा चम्किएका थिए । उनले अर्जेन्टिनाका उत्कृष्ट १० प्रहार बचाउ गरे । जसमा उनले मेसीको वान भर्सेस वानसहित पाँच प्रहार विफल तुल्याएका थिए । ४० वर्षको उमेरमा पनि युवा खेलाडीले झैँ प्रदर्शन गरेपछि उनको सर्वत्र चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा सर्वाधिक खोजिएको खेलाडीमा परेका छन् ।

अर्जेन्टिनासँग पराजित भएर बाहिरिएपछि भोजिन्हाले भने, ‘हामीले केप भर्डेलाई विश्वकपबाटै चिनाएका छौँ । प्रतिष्ठित देशका रूपमा उभ्यायौँ । विश्व विजेतासँग यो स्तरको प्रदर्शन गर्दा सबै खुसी छन् ।’ केप भर्डेका प्रशिक्षक बुबिस्टाले निकै गर्व गर्ने खेल खेलेको प्रतिक्रिया दिए । ‘हामीले देशका लागि इतिहास रच्यौँ । पूरा देशले गौरवाञ्वित महसुस गरेको छ,’ उनले भने, ‘विश्व विजेता तीन टिमसँग यो स्तरको प्रदर्शन अविश्वसनीय हो ।’

समूह चरणमा पनि अविश्वसनीय प्रदर्शन
यसअघि केप भर्डेले समूह ‘एच’मा सन् २०१० को च्याम्पियन स्पेनसँग गोलरहित बराबरी खेल्न सफल भएको थियो । पूर्वच्याम्पियनविरुद्ध अविश्वसनीय प्रदर्शन गरेपछि गोलकिपर भोजिन्हासहित टिमको चर्चा सुरु भएको थियो । भोजिन्हाले एक दर्जनभन्दा बढी प्रहार रोकेका थिए । जसका कारण व्यावसायिक फुटबलमा निकै चर्चित रहेका लामिन यमल, रोड्री, पेड्रीजस्ता खेलाडी भोजिन्हाविरुद्ध गोल गर्न सफल भएका थिए । यस्तै, अर्को खेलमा दुईपटकको च्याम्पियन उरुग्वेविरुद्ध साहसिक प्रदर्शन गर्दै २–२ को बराबरी खेल्यो । यस्तै, समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध गोलरहित बराबरी खेलेको थियो । 

सुझावित समाचार