नेकपा एमालेका नेता योगेश भट्टराईले सरकारले रूपमा भन्दा सार परिवर्तनमा ध्यान दिनुपर्ने बताएका छन्। साझा बसलाई ‘ब्लु बस’मा परिवर्तन गर्ने सरकारको निर्णयबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले गुणस्तर परिवर्तनमा जोड दिएका हुन्।
‘रंग निलो होस् या रातो, सेतो होस् या कालो, खैरो होस् या हरियो। यो केवल रूपमा परिवर्तन मात्र हो। खाँचो त सार्वजनिक यातायात र सडकको सेवा, व्यवस्थापन र गुणस्तरमा परिवर्तन हो,’ फेसबुकमा उनले लेखेका छन्।
वार्षिक तीन हजारभन्दा बढी नागरिकले सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका उल्लेख गर्दै भट्टराईले सडकलाई मृत्युमार्गबाट जीवनमार्गमा बदल्नुपर्ने बताएका छन्।
उनले लेखेका छन्, ‘सडक सवारीमा लाग्ने पट्यारलाग्दो समय र अकासिँदो खर्चलाई कम गर्न सकियोस्। सडकलाई मृत्युमार्गबाट जीवनमार्गमा बदल्न सकियोस्। भरपर्दो, विश्वासिलो र उत्पादनशील कनेक्टिभिटीमा रूपान्तरण गर्न सकियोस्। रूप हाेइन सारको परिवर्तनमा ध्यान जाओस्।’