विश्वकपको नकआउट चरणमा उपाधि दाबेदार राष्ट्र पेनाल्टी सुटआउटमार्फत बाहिरिएका छन् । विश्वकपमा मात्र नभएर युरो, एसिया तथा अफ्रिका कपजस्तो प्रतियोगितामा उपाधि दाबेदार राष्ट्रका चर्चित खेलाडीले असफल पेनाल्टी प्रहार गरेका उदाहरण छन् । विश्वकपका ठुला निर्णय पेनाल्टी सुटआउटमै सकिएको देखिन्छ । पेनाल्टी सुटआउटमा खेलाडीदेखि दर्शकसम्म अनावश्यक रूपमा मानसिक तनाव लिन्छन् । यही पेनाल्टी सुटआउटमा खुसी र दुःखको सामना एकैपटक दर्शकले अनुभूति गर्छन् । चालू विश्वकपमा नेदरल्यान्ड्स र जर्मनी पेनाल्टी सुटको सिकार हुँदै बाहिरिएका छन् । विश्वकपका केही चर्चित असफल पेनाल्टी प्रहार यस्ता छन् ।
रोबर्टो बाजियो (१९९४ फाइनल)
विश्वकपमा मात्र नभएर समग्र फुटबल इतिहासकै सबैभन्दा पीडादायी पेनाल्टी सुट इटालीका रोबर्टो बाजियोको पेनाल्टीलाई लिने गरिन्छ । सन् १९९४ को उपाधि भिडन्तमा इटालीले ब्राजिलको सामना गरेको थियो । इटालीलाई फाइनलसम्म पुर्याउने मुख्य भूमिका निर्वाह गरेका बाजियोले ब्राजिलविरुद्धको फाइनलमा निर्णायक पेनाल्टी प्रहार गरेका थिए । उनको प्रहार यति माथि गयो कि बल दर्शकदिर्घासम्म पुगेको थियो । बाजियोकै असफल पेनाल्टी प्रहारमा ब्राजिलले चौथोपटक विश्वकप जित्यो । बाजियो निराश भएर मैदानमा एक्लै उभिएको दृश्य विश्व फुटबलकै सबैभन्दा भावुक मानिन्छ ।
चार संस्करणमा स्पेन निराश
सन् २००८ देखि २०१२ सम्म स्पेनले विश्व फुटबलमा राज गरेको थियो । यो अवधिमा स्पेनले एकपटक विश्वकप तथा दुईपटक युरोकप उपाधि जितेको थियो । यही चार वर्षमै स्पेनले अभागी ट्याग हटाएको थियो । यसअघि स्पेनलाई विश्व फुटबलकै अभागी टोली भनिन्थ्यो । विश्वकपमा स्पेनले पेनाल्टीमा खराब रेकर्ड राखेको छ । विश्वकपमा स्पेनले प्रायः निराशाजनक नतिजा निकालेको छ । फिफा विश्वकपमा चारपटक पेनाल्टी सुटआउट हार्ने टोली स्पेन नै हो । २००२ देखि २०२२ सम्म स्पेनले यस्तै नतिजा भोगेको थियो ।
विश्वकपको पहिलो पेनाल्टी सुट
सन् १९८२ को विश्वकपमा पेनाल्टी सुटआउट भएको थियो । विश्वकप इतिहासमा पश्चिम जर्मनी र फ्रान्सबिच सेमिफाइनल खेलको नतिजा पेनाल्टी सुटआउटबाट भयो । अत्यन्त रोमाञ्चक सेमिफाइनल अन्ततः पेनाल्टीमा पुगेको थियो । यसमा पश्चिम जर्मनीले फ्रान्सलाई हराएको थियो ।
नेदरल्यान्ड्सको पीडा
नेदरल्यान्ड्स विश्वकपमा पुनः एकपटक पेनाल्टीमै बाहिरियो । चालू विश्वकपमा मोरोक्कोसँगको पेनाल्टी सुटआउटमा पराजित हुँदै नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरियो । नेदरल्यान्ड्स विश्वकपमा चौथोपटक पेनाल्टीमार्फत विश्वकपबाट बाहिरिएको हो । यसअघि उसले सन् १९९८ मा ब्राजिलसँग, सन् २०१४ र २०२२ मा अर्जेन्टिनासँग पेनाल्टीमा हारको सामना गरेको हो ।