मनसुनमा भइरहेको ढिलाइले यस वर्षको धान उत्पादनमा कस्तो प्रभाव पार्ला ?
यस्तो अवस्था विगतमा पनि देखिएको थियो । त्यसैले, अहिले नै ‘एल निनो’ वर्षा भएकै कारण आत्तिइहाल्नुपर्ने अवस्था आइसकेको छैन । तर, यही अवस्था थप एक साता लम्बियो भने चाहिँ त्यसको असर गम्भीर हुन सक्छ । यसले हाम्रो मुख्य बाली धानको उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छ । रोप्न ठिक्क पारिएको बिउ छिप्पिन्छ । यसबाट उत्पादन घट्छ ।
हाम्रो धान उत्पादनमा नकारात्मक असर पार्ने पक्ष के–के हुन् ?
हरेक वर्षको सरकारी तथ्यांक हेर्दा धानखेती हुने जमिनको क्षेत्रफल घटिरहेको देखिन्छ भने उत्पादनमा चाहिँ केही न केही वृद्धि भएकै देखिन्छ । २५ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा हुने खेती पछिल्लो समय २२ लाख हेक्टरभन्दा कममा खुम्चिएको बताइन्छ । धानखेती हुने उर्वर जमिन घडेरीकरणको मारमा परेको छ । राज्यका तीनै तहले पनि यसैलाई प्राथमिकता दिइरहेका छन् । किनकि, राजस्व आयको मुख्य स्रोत जग्गाको कारोबार बन्ने गरेको छ । कृषिकर्ममा पसिना बगाउन सक्ने अधिकांश युवा जनशक्ति बिदेसिएका छन् भने बाँकी जनशक्ति सहरकेन्द्रित भएका छन् । यसले पनि समग्र कृषि उत्पादनमै असर पारिरहेको छ । वन्यजन्तुले पनि कृषिक्षेत्रमा ठुलो असर पुर्याइरहेका छन् । कृषि कल्चर घट्दो छ । त्यसैले, पनि हाम्रो धान उत्पादनमा ठुलो असर परिरहेको छ ।
हाम्रो धानखेतीमा सुधार ल्याउन राज्यले चाहिँ के गरेको छ ?
सरकारी अनुसन्धान निकायले सुक्खा सहने जातका धानको बिउ विकास गरेका छन् । तर, त्यस्ता बिउबारे किसानसम्म प्रचार पुग्नै सकेको छैन । रैथाने बिउ मासिँदै गएका छन् बढी उत्पादन हुने लोभमा किसानहरू पनि आयातित हाइब्रिड बिउमा बढी विश्वास गर्छन् । रासायनिक मलको विकल्प खोज्न पनि कोही तयार देखिँदैनन् ।