विश्वकपका एकदेखि हजार खेल

शनिबार, १३ असार, २०८३
डिजिटल संस्करण

चालू विश्वकप फुटबल प्रतियोगितामा जापान र ट्युनिसियाबिचको प्रतिस्पर्धा ऐतिहासिक थियो । यो विश्वकपकै एक हजार खेलका रूपमा रह्यो । सन् १९३० मा उरुग्वेले आयोजना गरेको पहिलो संस्करणको विश्वकपपछि एक हजार खेल पूरा हुन ९६ वर्ष लाग्यो । चालू विश्वकपको समूह ‘एफ’मा ट्युनिसिया र जापानबिचको प्रतिस्पर्धा मोन्टेरेयमा भएको थियो । फिफा विश्वकपको इतिहासमा दुई संस्करणका फाइनल कोसेढुंगाका रूपमा रहे । सन् १९९६ र १९९८ को फाइनलमा आयोजक राष्ट्र नै विजेता बनेका थिए । 

१ खेल : (उरुग्वे) १९३०, १३ जुलाई (अमेरिका ३–० बेल्जियम, फ्रान्स ४– मेक्सिको १)
उरुग्वे विश्वकपको पहिलो आयोजक हो । १३ जुलाईमा एकै दिन दुई खेल भए । फ्रान्स र मेक्सिकोसँगै अमेरिकाले बेल्जियमको सामना गरेको थियो । तर, आधिकारिक रूपमा अमेरिका र बेल्जियमबिचको प्रतिस्पर्धालाई फिफा विश्वकपकै पहिलो खेल भनी दर्ता भएको छ । यस खेलमा अमेरिकाले बेल्जियमलाई ३–० ले हराएको थियो । ऐतिहासिक प्रदर्शन गरेको अमेरिका सेमिफाइनलमा पुगेको थियो । तर, फाइनल प्रवेश खेलमा अर्जेन्टिनासँग अमेरिका पराजित भयो । विश्वकपमा पहिलो गोल मेक्सिकोले गरेको थियो । 

१००  खेल : (स्विट्जरल्यान्ड) १९५४, ३ जुलाई अस्ट्रिया ३–उरुग्वे १
सन् १९५४ मा विश्वकपको एक सय खेलका रूपमा अस्ट्रिया र उरुग्वेबिच रह्यो । ३ जुलाईमा स्विट्जरल्यान्डले आयोजना गरेको विश्वकप फुटबल प्रतियोगिताको रेकर्डका रूपमा एक सय खेलमा अस्ट्रेलियाले पूर्वविजेता उरुग्वेलाई ३–१ ले हरायो । यस विश्वकपमा पश्चिम जर्मनीले फाइनलमा हंगेरीमाथि जित निकालेको थियो । विश्वकपमा हंगेरीविरुद्ध पश्चिम जर्मनी अगाडि रह्यो ।

२०० खेल : (इंग्ल्यान्ड) सन् १९६६, ३० जुलाई इंग्ल्यान्ड ४–२ पश्चिम जर्मनी
सन् १९६६ मा इंग्ल्यान्डले पहिलोपटक विश्वकप आयोजना गर्यो । आयोजक राष्ट्र इंग्ल्यान्डले उपाधि घरमै राख्यो । यस विश्वकपको ३० जुलाईमा इंग्ल्यान्ड र पश्चिम जर्मनीबिचको खेल रेकर्ड थियो । यो खेल विश्वकपकै दुई सय खेलका रूपमा थियो । विम्बली रंगशालामा भएको दुई खेल संयोगले फाइनल थियो । इंग्ल्यान्डले पश्चिम जर्मनीलाई एकपक्षीय खेलमा ४–२ ले निराश बनायो । विश्वकपमा जर्ज हर्ट फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । त्यसपछि २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा फ्रान्सका केलियन एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेका थिए । 

३०० खेल :  (अर्जेन्टिना) सन् १९७८, १८ जुन इटाली १–० अस्ट्रिया, प. जर्मनी २–२ नेदरल्यान्ड्स
विश्वकपको समूह ‘ए’को अन्तिम खेल एकै समयमा भएको थियो । इटालीले अस्ट्रियाको सामना गरेको थियो । पश्चिम जर्मनीले नेदरल्यान्ड्सविरुद्ध खेल्यो । यी दुवै खेल विश्वकपकै तीन सय संख्या थियो । प्रतिस्पर्धामा इटालीले अस्ट्रियालाई १–० को झिनोअन्तरले हरायो । पश्चिम जर्मनी र नेदरल्यान्ड्सले २–२ को बराबरी खेलेका थिए । पश्चिम जर्मनीविरुद्ध नेदरल्यान्ड्सले बल पोसेसन उत्कृष्ट बनाउँदा पनि जित निकाल्न सकेन ।

४०० खेल : (मेक्सिको) सन् १९८६, १६ जुन अर्जेन्टिना १–० उरुग्वे
दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले दोस्रोपटक विश्वकप आयोजना गर्ने अवसर पायो । प्रतियोगिताको १६ जुनमा अर्जेन्टिना र उरुग्वेबिच प्रिक्वार्टरफाइनल खेल भएको थियो । यो खेल विश्वकपकै चार सय थियो । अर्जेन्टिनाले निकै संघर्ष गर्दै उरुग्वेलाई हरायो । डिएगो म्याराडोनाको प्रेरणादायी खेलमा अर्जेन्टिनाले फाइनलमा पश्चिम जर्मनीलाई हराउँदै दोस्रोपटक उपाधि जित्यो । यसअघि अर्जेन्टिनाले उरुग्वेलाई पाखा लगाउन मध्यान्तरअघि पेड्रो पास्कुलीले एक मात्र गोल गरेका थिए ।

५०० खेल : (अमेरिका) सन् १९९४, ३० जुन नाइजेरिया २–० ग्रिस, अर्जेन्टिना ०–२ बुल्गेरिया
अमेरिकाले पहिलोपटक विश्वकप आयोजना गर्ने अवसर पायो । प्रतियोगिताको ३० जुनमा समूह ‘डी’को अन्तिम खेल भएको थियो । जसमा ग्रिसले नाइजेरियासँग खेलेको थियो । एकै समयमा अर्जेन्टिनाले बुल्गेरियाको सामना गर्यो । यो दुवै खेल विश्वकप इतिहासकै पाँच सय संख्याका रूपमा दर्ता भयो । अफ्रिकन राष्ट्र नाइजेरियाले ग्रिसमाथि २–० को जित निकाल्यो । साबिक उपविजेता अर्जेन्टिनामाथि बुल्गेरियाले सनसनी रूपमा २–० को जित निकाल्यो । बुल्गेरियाविरुद्धको प्रतिस्पर्धामा अर्जेन्टिनाका कप्तान म्याराडोना डोपिङ टेस्टमा असफल भएपछि प्रतिबन्धमा परे ।

६०० खेल : (जापान र दक्षिण कोरिया) सन् २००२, ६ जुन फ्रान्स ०–० उरुग्वे
सन् २००२ मा फिफाले पहिलोपटक एसियाली राष्ट्रहरू जापान र दक्षिण कोरियालाई संयुक्त रूपमा विश्वकप आयोजना गर्न दिएको थियो । विश्वकप इतिहासमा यसअघि एक राष्ट्र मात्र आयोजक हुन्थ्यो । एसियाली भूमिमा आएको विश्वकपमा ब्राजिलले कीर्तिमानी रूपमा पाँचौँपटक विश्वकप उचालेको थियो । यसै विश्वकपको ६ जुनमा फ्रान्स र उरुग्वेबिचको खेल ६ सय खेल संख्या थियो । सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

७०० खेल : (जर्मनी) सन् २००६, २७ जुन फ्रान्स ३–१ स्पेन
जर्मनीले सन् २००६ मा विश्वकप आयोजना गरेको थियो । यस प्रतियोगितामा स्पेन र फ्रान्सबिचको प्रतिस्पर्धा विश्वकपकै सात सय खेल संख्या थियो । प्रतिस्पर्धामा फ्रान्सले स्पेनमाथि ३–१ को सानदार जित निकालेको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनविरुद्ध सानदार जितका साथ फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनायो । यस खेलमा फ्र्याँक रिवेरी, प्याट्रिक भिएरा तथा जिनेदिन जिदानले समान एक गोल गरेका थिए ।

८०० खेल : (ब्राजिल) सन् २०१४, २१ जुन जर्मनी २–२ घाना
ब्राजिलले आयोजना गरेको विश्वकपमा जर्मनी विश्वकप विजेता हो । तर, यसै प्रतियोगिताको समूह चरणमा जर्मनी घानासँग बराबरीमा रोकिएको थियो । २१ जुनमा इस्टाडियो रंगशालामा जर्मनीले अफ्रिकन टोली घानासँग प्रतिस्पर्धा गर्यो । संयोगले समूह ‘जी’को यो खेल विश्वकपकै आठ सय खेलका रूपमा दर्ता भयो । समर्थकहरूले यस खेलमा निकै मनोरञ्जन प्राप्त गरेका थिए । लगभग जितको नजिक पुगेको घानाविरुद्ध जर्मनीले खेल सकिन २० सेकेन्डअगाडि बराबरी गोल फर्काएको थियो । यसमा मिरोस्लाभ क्लोजले जर्मनीका लागि गोल फर्काएका थिए ।

९०० खेल :  (रुस) सन् २०१८, १५ जुलाई फ्रान्स ४–२ क्रोएसिया
सन् २०१८ मा रसियाले विश्वकप आयोजना गरेको थियो । फ्रान्सले उपाधि भिडन्तमा क्रोएसियालाई प्रतिद्वन्द्वी पाएको थियो । फ्रान्स २० वर्षपछि विश्वकपको फाइनलमा पुगेको थियो । संयोगले फ्रान्स र क्रोएसियाबिचको फाइनल खेल विश्वकपकै नौ सय खेल संख्याका रूपमा रह्यो । प्रतियोगिताभरि नै उत्कृष्ट प्रदर्शन गरिरहेको क्रोएसियाले फाइनलमा समेत फ्रान्सविरुद्ध यस्तै प्रदर्शन दोहोर्यायो । तर, अनुभवी फ्रान्सले क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रोपटक ट्रफी उचाल्यो । यस खेलमा पाउल पोग्बा, केलियन एम्बाप्पे, एन्टोनिय ग्रिजम्यानले गोल गरेका थिए ।

१००० खेल : (अमेरिका, क्यानडा, मेक्सिको) सन् २०२६, २० जुन जापान ४–० ट्युनिसिया
फिफाले पहिलोपटक तीन राष्ट्रलाई विश्वकप आयोजक राष्ट्र बनाएको यही नै हो । अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गरिरहेको २३औँ संस्करणको विश्वकपअन्तर्गत २० जुनमा जापान र ट्युनिसियाबिच खेल भएको थियो । विश्वकप इतिहासमा यो खेल एक कोसेढुंगाका रूपमा रहेको छ । यो खेल विश्वकपकै एक हजार खेल संख्या हो । प्रतिस्पर्धामा एसियन राष्ट्र जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्यो । हारसँग ट्युनिसिया समूह ‘एफ’बाट बाहिरियो ।  

(एजेन्सीको सहयोग)

सुझावित समाचार