- मानिसहरू अन्ततः प्रतीकात्मक राजनीतिक लडाइँभन्दा रोजगारी, औद्योगिक लगानी र युवा बसाइँसराइको बारेमा बढी चिन्तित भए । जब युवा अवसर खोज्न अन्यत्र जान बाध्यता महसुस गर्छन्, क्षेत्रीय गौरवको बारेमा गरिएका भावनात्मक अपिल खासै प्रेरणादायी हुँदैनन् ।
मे महिनाको चुनावी उथलपुथलपछि पश्चिम बंगालको राजनीति दिनहुँ स्तब्ध र आश्चर्यचकित बनिरहेको छ । निर्वाचनमा भाजपाले २०८ सिटसहित ऐतिहासिक विजय हासिल गर्यो र तृणमूल कंग्रेसको १५ वर्षे लामो शासनको अन्त्य भयो । त्यसपछि तृणमूल कंग्रेस टुक्रिएको छ । जुन १४ मा काकोली घोष दस्तीदारको नेतृत्वमा पार्टीका २८ लोकसभा सांसदमध्ये २० जनाले विद्रोह गरे र एनडिएलाई समर्थन गर्न एनसिपिआई (भारतीय राष्ट्रवादी नागरिक पार्टी)मा विलय गर्न खोजे । धेरै राज्यसभा सदस्यहरूले पनि तृणमूलबाट राजीनामा दिएका छन् । यसअघि विधान सभा निर्वाचनको नतिजा सार्वजनिक भएपछि पार्टीका ८० विधायकहरूमध्ये लगभग ५८ देखि ६० जनाले निष्कासित नेता ऋतव्रत बनर्जीलाई समर्थन गर्दै विधानसभा अध्यक्षलाई पत्र बुझाएका थिए । विवरणले सुझाव दिन्छ कि १०० भन्दा बढी तृणमूल काउन्सिलरहरूले राज्यभरका नगरपालिका निकाय छोडेका छन् । त्यसैले, तृणमूलको विघटन सबै तहमा छ ।
चुनावी पराजयपछि पश्चिम बंगालमा तृणमूलको नाटकीय पलायनले पुनः एउटा बहस सुरु गरेको छ– के पार्टीको पतन अपरिहार्य थियो (किनकि यसको आफ्नै सुसंगत वैचारिक आधार कहिल्यै थिएन ) ? जवाफ आंशिक रूपमा हो, तर पूर्ण रूपमा होइन । तृणमूलको वर्तमान संकट टिकाउ वैचारिक ढाँचामा भन्दा पार्टी नेतृत्वको लोकप्रियता र वामपन्थीविरोधी भावनामा आधारित राजनीतिक मोडेलको परिणामजस्तो देखिन्छ । यस्तो मोडेलले वर्षौंसम्म चुनावी विजय त प्रदान गर्न सक्ला, तर सत्ता गुमाएपछि यो कमजोर हुन्छ । अन्य क्षेत्रीय दलहरूका लागि पनि यो पाठ हो ।
नाराको कमजोरी
‘माँ, माँटी, मानुष’ (आमा, मातृभूमि र मानिस) नारा आधुनिक भारतीय राजनीतिमा सबैभन्दा शक्तिशाली राजनीतिक नारामध्ये एक हो । यो नाराले जग्गा अधिग्रहण र वाममोर्चाको राजनीतिक अहंकारविरुद्ध जनआक्रोशलाई परिचालन गर्न तृणमूललाई मद्दत गर्यो । यो नारा तल्लो तहको सशक्तीकरणको पर्यायवाची बन्यो र अन्ततः २०११ मा तृणमूललाई सत्तामा पुर्याउन मद्दत गर्यो । निष्पक्ष हुनका लागि तृणमूलले बंगाली क्षेत्रीय गौरव, कल्याणकारी शासन र नयाँदिल्लीबाट अत्यधिक केन्द्रीकरणको रूपमा चित्रण गरिएको विषयको विरोधमा आधारित एक विशिष्ट राजनीतिक पहिचान सिर्जना गर्यो । अफसोच तृणमूलका स्थानीय शक्तिशाली व्यक्ति र गुन्डाले जबर्जस्ती रकम असुलीको समूहमार्फत स्थानीय अर्थतन्त्रलाई नियन्त्रण गरेर पश्चिम बंगालमा समानान्तर शासन संरचना स्थापना गरे ।
उनीहरूले एउटा यस्तो प्रणाली लागू गरे जहाँ नागरिक र व्यवसायहरूलाई अनौपचारिक ‘कर’ तिर्न बाध्य पारियो । सार्वजनिक कोष र स्रोत लुटियो । १५ वर्ष सत्तामा रहेपछि तृणमूलले लामो समयदेखि सत्तामा रहेको हरेक दलले सामना गर्ने चुनौतीको सामना गर्यो– अहंकार, गुटबन्दी र साधारण नागरिकको सामीप्यबाट बिस्तारै दूरी । संस्थापनविरोधी आन्दोलन बिस्तारै फैलियो । यसबाहेक, तृणमूलका अधिकांश कार्यकर्ता सिपिएम (कम्युनिस्ट पार्टी अफ इन्डिया, माक्सिस्ट) र अन्य राजनीतिक दलतर्फ पलायन हुँदा पार्टीभित्र वफादारी र इमान्दारिता हराइरहेको थियो । जब मानिसले पार्टी मिसनको प्रतिनिधित्व गर्छ तब नारा सफल हुन्छ । जब मानिसहरूले वाचा र वास्तविकताबिच खाडल देख्न थाल्छन् तब नारा असफल हुन्छ ।
मानिसहरू अन्ततः प्रतीकात्मक राजनीतिक लडाइँभन्दा रोजगारी, औद्योगिक लगानी र युवा बसाइँसराइको बारेमा बढी चिन्तित भए । जब युवा अवसर खोज्न अन्यत्र जान बाध्यता महसुस गर्छन्, क्षेत्रीय गौरवका बारेमा गरिएका भावनात्मक अपिल खासै प्रेरणादायी हुँदैनन् ।
मुख्य वैचारिक स्तम्भ
विचारधाराद्वारा एकताबद्ध पार्टी चुनावी हारबाट बच्न सक्छ किनभने सदस्यहरू ठुलो उद्देश्यप्रति प्रतिबद्ध रहन्छन् । भाजपा सत्तामा आउनुअघि राष्ट्रियस्तरमा यसको अस्तित्व दसकौँसम्म किनारामा थियो । बंगालमा वामपन्थीहरूले धेरै चुनावी झट्काहरू भोग्नुपरेको थियो, किनभने कार्यकर्ताहरू वैचारिक रूपमा प्रेरित थिए । भारतमा धेरै क्षेत्रीय दलहरू आकर्षक नेताहरूको वरपर छन् । तृणमूलको अनुभव तेलंगनामा बिआरएस (भारत राष्ट्र समिति)सँग मिल्दोजुल्दो छ । बिआरएसले लगभग एक दशकसम्म तेलंगना राजनीतिमा प्रभुत्व जमायो । यसको क्षेत्रीय गौरव थियो । एकपटक त्यो अभियान पूरा भएपछि र शासनका मुद्दा प्रबल भएपछि पार्टीको प्राण धेरै कमजोर भयो । आन्दोलनले सत्ता जित्न सक्छ । त्यही भएर आन्दोलनपछि गठन भएको सरकारले (राज्य वा केन्द्र दुवै)ले डेलिभर दिन सक्नुपर्छ । तृणमूल कंग्रेसमा निरन्तर जनाधार घट्नुको एउटा कारण यो पनि हो ।
यसको विपरीत, डिएमकेले एक रोचक भिन्नता प्रस्तुत गर्यो । कोही यसको विचारधारासँग सहमत होस् वा नहोस्, यसमा द्रविड आन्दोलन, सामाजिक न्याय र तमिल पहिचानमा आधारित स्पष्ट वैचारिक ढाँचा छ ।
पार्टी प्रायः असफलताबाट बच्न सक्छ किनभने समर्थकहरूले यसलाई चुनावी मेसिनभन्दा बढी हेर्छन् । यही कारणले पार्टीको विचारधारा महत्वपूर्ण छ । विचारधाराले हरेक चुनाव जित्छ भनेर होइन, तर यसले दलहरूलाई हारबाट बच्न मद्दत गर्छ । महाराष्ट्रमा, शिव सेना युबिटीमा निरन्तर घर्षण वैचारिक परिवर्तन र विवादास्पद नेतृत्वको एक उत्कृष्ट उदाहरण हो । भाजपामा विलय भएका आम आदमी पार्टीका १० मध्ये ७ राज्यसभा सांसदहरूको हालैको सामूहिक दलत्यागको घोषणा विचारधारा हराउँदै गएको अर्को उदाहरण हो । विद्रोही नेताहरूले खुला रूपमा विषाक्त कार्यशैली, कडा दमन र पार्टीको मूल संस्थापक सिद्धान्तबाट विचलनलाई आफ्नो बहिर्गमनको प्राथमिक कारणको रूपमा उल्लेख गरे ।
उत्तर भारतका क्षेत्रीय दलहरू जस्तै– जनता दल युनाइटेड र बिहारमा राष्ट्रिय जनता दल र उत्तर प्रदेशमा समाजवादी पार्टी समाजवाद, धर्मनिरपेक्षता र सामाजिक न्यायमा आधारित आफ्नो मूल विचारधाराका कारणले बाँचिरहेका छन् । वर्षौँको दौरान विभिन्न सामाजिक गठबन्धनमार्फत क्षेत्रीय दलले आफ्नो परम्परागत भोटबैंकहरू सुरक्षित राख्न सफल भएका छन् । २०२६ को राजनीतिक घटनाहरूलाई अन्ततः भारतभरका क्षेत्रीय दलहरूका लागि पाठको रूपमा सम्झन सकिन्छ । आकर्षक नेतृत्वले आन्दोलन निर्माण गर्न सक्छ । कल्याणकारी योजनाहरूले मतदाता आधार सिर्जना गर्न सक्छ । चुनावी विजयले एकतालाई कायम राख्न सक्छ । तर, जब हार आउँछ, केवल बलियो संस्था र साझा वैचारिक प्रतिबद्धताले मात्र पार्टीलाई एकतामा राख्न सक्छ । भारतीय मतदाताहरू संसारमा सबैभन्दा राजनीतिक रूपमा सचेत छन् र कुनै पनि पार्टी अजेय छैन ।
तृणमूलको विस्फोटले संगठनभित्र धेरैका लागि शक्ति नै मुख्य आधार थियो भन्ने संकेत गर्छ । पछि विद्रोह गर्नेहरूमध्ये धेरैले पहिले तृणमूलको व्यापक गठबन्धन निर्माण रणनीतिबाट लाभ उठाएका थिए । पार्टीले सत्ता गुमाएपछि विभिन्न गुटहरूलाई एकताबद्ध गर्ने प्रोत्साहन नाटकीय रूपमा कमजोर भए । ‘शक्ति’ भनिने त्यो बल विघटन भएपछि, संरचना तासको महलजस्तै ढल्यो ।
(एनडिटिभीमा प्रकाशित भारतकी वरिष्ठ पत्रकार भारतीय मिश्र नाथको आलेखलाई सुभाष शर्माले अनुवाद गरेका हुन् ।)