रास्वपाको ऐतिहासिक पहिलो महाधिवेशन कसरी अघि बढ्दै छ ?
रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्र निकै राम्रो भयो । प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको उपस्थिति सम्पूर्ण नेता, कार्यकर्ताका लागि उत्साहजनक रह्यो । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेताको सम्बोधनले महाधिवेशनमा उपस्थित नेता, कार्यकर्तामा उत्साहको सञ्चार गरायो । उद्घाटन सत्रपछि बन्द सत्र सुरु भयो । बन्द सत्रमा पार्टीका महत्वपूर्ण दस्ताबेजहरू पारित गरियो । बन्दसत्रपछि सभापतिमा वर्तमान सभापति रवि लामिछानेको मात्र उम्मेदवारी परेकाले थप एक कार्यकालका लागि उहाँ निर्विरोध निर्वाचित हुनुभयो । अहिले (बुधबार साँझ) केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता भएको छ । राति (बुधबार राति) देखि मतदान हुनेछ ।
पहिलोपटक भएर हो कि महाधिवेशन अलि अव्यवस्थित देखियो नि ?
हो, नयाँ भएकाले व्यवस्थापकीय पक्षमा केही कमजोरी देखियो । यसमा हाम्रो अनुभवको पनि कमी रह्यो । यसलाई नजिरका रूपमा लिएर आगामी दिनमा सुधार गर्दै जान्छौँ । आखिर यस्तै कमी, कमजोरी, अव्यवस्थाबाट शिक्षा लिएर आफूलाई निखार्दै लाने त हो । प्रतिनिधिको नामावली टुंग्याउनेलगायत कार्यमा केही ढिलाइ भयो । यसबाट पाठ सिकेर आगामी दिनमा अघि बढ्न सजिलो हुनेछ ।
महाधिवेशनले रास्वपामाथि उठेका वैचारिकलगायत प्रश्नको प्रस्ट जवाफ देला त ?
अवश्य दिन्छ र दिइसकेको पनि छ । पार्टी सभापतिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ । सामाजिक न्यायसहितको उदार लोकतान्त्रिक समृद्धि, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशितालगायत विषयमा हामीले महाधिवेशनको हलबाट आफूलाई प्रस्ट पारेका छौँ ।